डा. प्रकाशबहादुरको कोरोनाकाल अनुभूति– बिरामीको फोन आउँदा कति रात सुत्नै पाइएन

डा. प्रकाशबहादुरको कोरोनाकाल अनुभूति– बिरामीको फोन आउँदा कति रात सुत्नै पाइएन

काठमाडौं : बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. प्रकाशबहादुर थापाको पछिल्लो अढाइ महिनाको दिनचर्या अस्तव्यस्त थियो।

न उनी समयमा खान पाउँथे न त सुत्न नै। कारण– अस्पतालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमित उपचारका लागि खटिनुपर्ने अवस्था थियाे। 

कोरोनाको दोस्रो लहरमा नेपालगन्ज क्षेत्र महामारीको हटस्पट बनेको थियो नेपालगन्ज क्षेत्र। अस्पतालमा क्षमताभन्दा बढी बिरामीको चाप थियो। 

त्यही कारण उनले सामान्य अवस्थाभन्दा निकै खटिनुपर्थ्याे। 

‘त्यो बेला रातभर फोनको घण्टी बज्थ्यो। कहिले बिरामीको फोन आउँथ्यो त कहिले अस्पतालबाट। त्यसैले कति रात त सुत्नै पाइएन,’ उनले भने। 

कामको प्रेसरले भोक–निद्रासमेत बिर्सिएको उनले सुनाए। ‘पर्सनल लाइफ, फ्यामेली लाइफ भन्ने त हुँदै भएन,’ डा. थापाले भने।  

तर, केही दिनयता उनलाई अलि सहज भएको छ। कारण– अस्पतालमा उपचारका लागि आउने संक्रमितको चाप घट्नु। 

डा. प्रकाशबहादुरले भने, ‘अहिले ५० प्रतिशत स्ट्रेस कम भएको छ। अलि निदाउन पाएको छु। त्यत्रो संक्रमणको सामना गरियो। अहिले त शान्त फिल भएको छ।’

कहालीलाग्दो शवको लाइन

उनी दैनिक बिहान ७ बजे अस्पतालको कोभिड वार्डमा जान्थे। अहिले पनि जान्छन्। कोभिड वार्डको छेउमा शव राख्ने हलमा शव देख्दा उनी विछिप्त बन्थे। 

डा. प्रकाशबहादुरले सुनाए, ‘त्यहाँ १२ घण्टामा मृत्यु भएको मान्छेको शव राखिन्थ्यो। हरेक दिन १०÷१२ वटा लास लहरै राखेको देखिन्थे।’

संक्रमितको उपचारमा हर प्रयास गर्दा पनि त्यसलाई गुमाउँदाको पीडा महसुस गरेका छन् उनले। त्यो क्षण कहालीलाग्दो लाग्छ उनका लागि। 

जनशक्ति अभावले संक्रमित डाक्टर–नर्सबाटै उपचार 

कोरोना संक्रमित भएर उपचार गर्नुपर्ने अवस्था नभएका डाक्टर–नर्सलाई समेत बिरामीको उपचारमा खटाउनुपरेको उनले सुनाए। उनले यसो गर्नुको कारण खुलाए– जनशक्ति अभाव। 

अस्पतालको क्षमताभन्दा बढी बिरामी आएपछि यस्तो गर्नुपरेको उनले सुनाए। 

संक्रमित गर्भवतीको मृत्यु

दोस्रो लहर सुरु भएयता अस्पतालमा पाँच जना कोरोना संक्रमित महिलाको मृत्यु भएको उनले सुनाए। तीमध्ये एक उनको साथीकी श्रीमती हुन्। 

डा. प्रकाशले साथीको श्रीमतीको मृत्यु भएको घटना सुनाए, ‘साथीको वाइफ, घरमा गाह्रो भएपछि अस्पताल ल्याइयो। अक्सिजन कम थियो। २४ घण्टामा नै कन्डिसन बिग्रिएर मृत्यु भयो।’ 

मेसुको जिम्मेवारीसँगै कोरोना

डा. प्रकाशबहादुरले भेरी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टको रूपमा अस्पताल प्रमुखको जिम्मेवारी सम्हालेको १५ महिना भयो। उनले अस्पताल प्रमुखकको भूमिका सम्हालेकै बखत चीनको उहानबाट फैलिएको कोरोना भाइरस संक्रमण नेपालमा पनि प्रवेश गर्याे। 

नेपालमा कोरोना देखिन थालेपछि त्यसको उपचार व्यवस्थापनको पूर्व तयारीमा उनको टिम जुट्यो। तत्कालीन प्रदेश ५ (अहिले : लुम्बिनी प्रदेश)ले चार वटा अस्पताललाई कोभिड विशेष अस्पताल बनाउने निर्णय गर्याे। उनी भेरी अस्पतालको व्यवस्थापनमा बाँकेकै खजुरामा भएको सुशील कोइराला क्यान्सर अस्पताललाई कोरोना अस्पतालका रूपमा व्यवस्थापन गर्न जुटे। 

भेरी अस्पतालले हेर्ने गरी सुशिल कोइराला क्यान्सर अस्पतालमा ४० बेड जनरल र ८ बेड आइसियु तयारी अवस्थामा राखियो। जुन अस्पताल भेरी अस्पतालभन्दा करिव १० किलोमिटर टाढा पर्छ। 

भेरी अस्पतालबाट नै जनशक्ति तथा उपकरणको व्यवस्थापन गरेको उनले सुनाए। 

डा. प्रकाशले भने, ‘रातदिन खटेर बाँकेमा कोरोना देखिनुभन्दा दुई महिनाअघि (भदौअघि) नै अस्पताललाई पूर्व तयारीको अवस्थामा राखेका थियौं।’

कोरोनाको उपचारका लागि जनशक्ति थपियो। स्वास्थ्यकर्मीलाई तालिम दिइयो। पहिलो लहरमा अधिकांश लक्षणविहीन संक्रमित देखिएको उनले सुनाए। कमै संक्रमितमा स्वास्थ्य जटिलता निम्तियो। जसले गर्दा व्यवस्थापनमा केही सहज भएको डा. प्रकाशले सुनाए। 

पूर्वानुमानले धानेन

पहिलो लहरपछि विस्तारै मानिसले कोरोना बिर्सिँदै गएका थिए। तर, केही महिना कम जस्तो देखिए पनि फेरी फागुनतिरबाट दोस्रो लहरको रूपमा कोरोना देखिन थाल्यो। भौतिक संरचना पनि जीर्ण भएको भेरी अस्पतालमा दुई वटा हल तयार भए। 

कोरोना संक्रमण बढ्दै जान थालेपछि भेरी अस्पतालमा दुई वटा हलमा ७२ बेडको अक्सिजन पाइपलाइन सहितको कोभिड बेड तयार गरियो। अस्पतालमा बेड बनाउँदा विभिन्न सरकारी, गैह्र सरकारी निकाय तथा संघसंस्थाले सहयोग गरेको उनले सुनाए।

भेरीमा अस्पतालमा कोरोना उपचारको लागि बेड तयार भएपछि भदौ २५ गते कोरोना संक्रमित बिरामीको उपचार थालियो। अस्पतालको एउटै जनशक्तिले दुईपट्टि कोभिडका बिरामीको व्यवस्थापनमा असहज भएपछि सुशील कोइराला अस्पतालको सट्टा भेरीमा नैै उपचार थालिएको उनले बताए।

डा. प्रकाशले भने, ‘भदौ २५ गते खजुराबाट आफ्नै अस्पताल सर्याैं। हामी यता सरेपछि उता क्यान्सरको सेवा सुरु हुन थाल्यो।’

अस्पतालका जीर्ण भौतिक संरचना मर्मत गरियो। केही निर्माण गरियो। अक्सिजन पाइप लाइन सहितको १ सय ४२ बेड तयार भयो। डा. प्रकाशले भने, ‘१५ बेडलाई पूर्ण आइसियु बनाएका थियौं। बाँकी बेड सबै एचडियु थिए।’ भेरी अस्पतालमा पिसिआर टेस्ट गर्ने व्यवस्थापन भयो। 

कहालीलाग्दो दोस्रो लहर

अस्पतालमा चैतबाट दोस्रो लहरमा लक्षण सहितका र जटिल किसिमका बिरामीको चाप बढ्न थाले।

उनले भने, ‘चैत अन्तिमबाट संक्रमित बढ्न थाले। संक्रमित बढ्दै गएपछि यस्तो अवस्था आयो की दोस्रो लहरमा पहिलो वर्ष छुट्याएर राखेका बेड, अक्सिजन पाइपलाइन, भेन्टिलेटर, मोनिटर लगायतको व्यवस्थापन धेरै सजिलो भयो।’ 

संक्रमितको चाप बढेसँगै त्यो व्यवस्थापनले पनि नधानिएको उनी सुनाउँछन्। त्यसपछि सामान्य लक्षण भएका बिरामी घरमा नै बसेको र जटिल लक्षण भएका संक्रमित अस्पताल पुग्न थालेको उनले बताए। 

‘जटिल प्रकारका अक्सिजन दिनुपर्ने बिरामी अस्पताल भर्ना हुने क्रम बढ्यो। १ सय ८२ बेड पनि भरियो, भएका अन्य क्याबिन, अन्य वार्ड भरिए। इमर्जेन्सी विभागको सबै बेड भरिए,’ डा. प्रकाशले भने, ‘ग्यालरीमा बेड राखेर पनि अक्सिजन दिएर उपचार गर्याैं। त्यसले नभएर अस्पतालको प्रांगणमा ३ वटा टेण्ट हालेर बिरामीलाई उपचार गरियो।’ 

त्यसपछि कोभिडका लागि ४ वटा हल बनाइएको र जनशक्ति पनि थपिएको उनले सुनाए। महामारीमा सबै पक्षको सहयोगले व्यवस्थापन गर्न सहज भएको डा. प्रकाशले बताए। 

दोस्रो लहरको सुरुवातमा जिल्लाकै संक्रमित बढी आए पनि पछि अन्य जिल्लाका संक्रमित पनि आएको उनले सुनाए। उनले भने, ‘सुरुमा त बाँकेका संक्रमित धेरै थिए। त्यसपछि बर्दियाको थपियो। बिस्तारै बाँके र बर्दियाको घट्दै गयो। त्यसपछि दाङतिरबाट आउन थाल्यो। पहाडी जिल्लाबाट आउन थाले।’ 

अधिकांश बिरामी ढिलो पुग्दा बचाउन कठिन भएको उनले बताए। डा. प्रकाशले भने, ‘थोरै अक्सिजन लेभल घटेकै बेला आउने बिरामी सन्चो भएर जाने धेरै देखियो। अक्सिजन लेभल कम भएर जटिलता लिएर आउने बिरामीको मृत्युदर धेरै देखियो।’

संक्रमणको उत्कर्षको समयमा एक दिनमा करिव ३ सय ६० भन्दा बढी संक्रमित बिरामीको अस्पतालमा उपचार भएको उनले बताए। 
सीमित स्रोत, साधन तथा जनशक्तिको बाबजुत ठूलो संख्यामा उपचार गर्नुपरेको उनले सुनाए।

उनले भने, ‘अस्पताल आएका कोही बिरामीलाई पनि फिर्ता गरेनौं। खाली ठाउँ वा बाटोमा बेड राखेर भए पनि बिरामीलाई उपचार गरियो।’ 

महामारीको उत्कर्षका बेला अस्पतालमा अक्सिजन ट्यांक पनि जडान गरिँदा अक्सिजनको ठूलो अभाव भोग्नु नपरेको उनले बताए। उनले भने, ‘बाँकेमा नै अक्सिजन प्लान्ट भएकाले गर्दा अक्सिजन नै नपाउने समस्या थिएन।’ 

एक दिनमा साढे ५ सयभन्दा बढी ठूलो सिलिन्टर अक्सिजन खपत भएको उनले सुनाए।

संक्रमण घट्दै

संक्रमणको उत्कर्षमा पुगेका बेला भेरी अस्पतालमा नमुना परीक्षण गरिएकामध्ये ९३ प्रतिशतसम्ममा संक्रमण पुष्टि भएको डा. प्रकाशबहादुर सम्झन्छन्। विस्तारै घट्दै गएर अहिले अस्पतालमा परीक्षण गरिएकामध्ये संक्रमणदर २० प्रतिशत हाराहारीमा झरेको उनले बताए। 

उनले भने, ‘कति सञ्चो भएर गए। कतिले ज्यान गुमाए। बाँके, बर्दिया र दाङमा बिस्तारै संक्रमित घट्दै गए।’ 

अहिले संक्रमण दर, जटिल प्रकारका बिरामीको संख्या घटिरहेको उनले बताए।  डा. प्रकाशबहादुरले भने, ‘भर्ना भएका बिरामीको संख्या घटेको छ। बेडहरु खाली हुँदै गएका छन्।’

उनले शुक्रबार ८० जना कोरोना संक्रमित बिरामी अस्पतालमा भर्ना भएर उपचार गराइरहेको बताए। सबै अक्सिजन दिएर उपचार गर्नुपर्ने बिरामी रहेको उनले बताए।

‘अहिले त कोभिडका लागि भनेर २ सय १० बेड छुट्याएका छौं। सबै बेडमा अक्सिजन पाइपलाइन भएकाले गर्दा सबै बिरामी आइसियुमा राखेर उपचार गर्नुपर्ने छन्,’ उनले भने, ‘पिक भएको समयमा ९० वटासम्म आइसियु बेड चलाइयो। अहिलेचाहिँ त्यसलाई लिमिट गरेर ३० वटा जति बेड आइसियु चलाएका छौं। सय वटा जति एचडियु बेड चलाएका छौं।’ 

बिस्तारै कोभिड बाहेकका बिरामीको उपचार सेवा बढाइरहेको उनले बताए। कोरोना संक्रमण उत्कर्षमा पुगेको अवस्थामा पनि ओपिडी र रुटिङ सेवाबाहेक अन्य उपचार सेवा बन्द नभएको उनले बताए। असार १ गतेबाट ओपिडी सेवा पनि सुरु गर्ने उनले जानकारी दिए। 

तेस्रो लहरलाई मध्येनजर गरी बालबालिकाको उपचारका लागि व्यवस्थापनको तयारी गरिरहेको उनले बताए।  

अध्ययन र जागिर यात्रा

दैलेखको नारायण नगरपालिकामा २०३५ सालमा जन्मिएका प्रकाशले २०५१ सालमा जिल्लाकै त्रिभुवन उच्चमाविबाट एसएलसी सम्मको अध्ययन गरेका हुन्। 

एसएलसीपछि काठमाडौंको त्रिचन्द्र क्याम्पसबा आइएस्सी अध्ययन गरेका उनले सुनसरीको धरानस्थित बीपी कोइराला अस्पतालबाट सन् २००० मा एमबिबिएस उत्तीर्ण गरे। 

त्यसपछि डा. प्रकाश सरकारी जागिरे भई मेडिकल अधिकृतको रूपमा डोटी जिल्ला अस्पताल पुगेर अढाइ वर्ष काम गरे। डोटीपछि उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल)मा एमएस (स्नातकोत्तर) तहको अध्ययन सुरु गरे। उनले अर्थोपेडिक सर्जरी (हाड जोर्ने रोग) विषयमा २०६८ सालमा एमएस अध्ययन पूरा गरे। 

एमएस अध्ययनपछि २०६८ सालमा नै उनी बाँकेको नेपालगञ्जस्थित भेरी अस्पताल पुगे। 
 

२९ जेठ, २०७८, २३:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।