गण्डकीमा नयाँ सरकार गठन आह्वान : प्रदेशसभाबाट विश्वासको मत नपाएका मुख्यमन्त्रीले पनि गरे बहुमतको दाबी 

गण्डकीमा नयाँ सरकार गठन आह्वान : प्रदेशसभाबाट विश्वासको मत नपाएका मुख्यमन्त्रीले पनि गरे बहुमतको दाबी 

काठमाडौं : प्रदेशसभाबाट विश्वासको मत लिन असफल गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष बहुमत दाबी पेस गरेका छन्। 

प्रदेश प्रमुख पौडेलले नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश सांसदलाई आह्वान गरेपछि मुख्यमन्त्री गुरुङले पनि आफ्नाे बहुमत रहेकाे दाबी पेस गरेका हुन्। 

मुख्यमन्त्री स्रोतका अनुसार मुख्यमन्त्री गुरुङले जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य शंकर गौतम र तत्कालीन राजपा गण्डकी संयोजक अनिल परियारको पत्र र राष्ट्रिय जनमोर्चाको प्रदेश संसदीय दलका नेता कृष्ण थापाको पार्टीको समर्थन रहेको पत्रसहित मुख्यमन्त्रीमा दाबी गरेका छन्। 

यसअघि गत शुक्रबार विपक्षी गठबन्धनले सशरीर ३१ सांसद (बहुमत) पुर्याएर नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण नेपालीले मुख्यमन्त्रीमा दावी पेश गरेका थिए। 

गुरुङले मुख्यमन्त्रीको दाबी पेस गर्ने अन्तिम समयमा बहुमत दाबी गर्नु प्रदेशसभा विघटन गर्ने षड्यन्त्र भएको विपक्षी गठबन्धनको आरोप छ। 

प्रदेश प्रमुख पौडेलले हिजो २४ घण्टाभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश सांसदलाई आह्वान गरेकी थिइन्।

२९ जेठ, २०७८, १६:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।