राष्ट्रपति-प्रधानमन्त्रीको पुतला जलाउने र निभाउने होडबाजी

राष्ट्रपति-प्रधानमन्त्रीको पुतला जलाउने र निभाउने होडबाजी

काठमाडौँ  : संसद् विघटन विरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घले प्रधानमन्त्री र राष्ट्रपतिको पुतला जलाएर विरोध प्रदर्शन गर्ने तयारी गरिरहेको थियो। विध्यार्थीहरु शङ्कर देव क्याम्पसभित्र थिए।

उनीहरूले विरोध प्रदर्शन गर्ने सूचना पाएर प्रहरी र सशस्त्र प्रहरी पहिल्यै सडकमा खटिइसकेका थिए। प्रहरी जर्किनमा पानी समेत बोकेर आएका थिए।

क्याम्पसको ढोका बन्द थियो। प्रहरी कसरी बसेका छन् भनेर हेर्न बेलाबखत क्याम्पसभित्रबाट विध्यार्थीहरु बाहिर आउँथे र भित्र जान्थे।

केही बेरमा एक जना विद्यार्थी हातमा पाइप बोकेर निस्किए। त्यो मोटरसाइकलबाट पेट्रोल निकाल्न थियो।

पेट्रोल भएको प्लास्टिकको बोतल लिएर आए अर्का विद्यार्थी। उनीहरूले क्याम्पसभित्रै पुतला बनाइसकेका थिए।

केही विध्यार्थीहरु सडकमा सुतेर विरोध प्रदर्शन गरिरहेका थिए।

एकै छिनमा विध्यार्थीहरु दुई वटा पुतला लिएर सडकमा निस्किए। पेट्रोल छर्किए र आगो लगाए। केही समय प्रहरी र विध्यार्थीविच पुतला जलाउने र निभाउने प्रतिस्पर्धा चल्यो।

जर्किनमा पानी बोकेर आएका प्रहरीले अन्तमा पुतला निभाए र प्रदर्शनमा उत्रिएका विध्यार्थीहरुलाई नियन्त्रणमा लिएर भ्यान हालेर प्रहरी कार्यालयतिर लगे।

 

२६ जेठ, २०७८, १७:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।