ओलीले मागे विश्वासको मत, देउवाले भने- हिसाब-किताब संसदमै

ओलीले मागे विश्वासको मत, देउवाले भने- हिसाब-किताब संसदमै

वैशाख २७ मा विश्वासको मत लिन लागेका प्रधानमन्त्री ओलीले देउवालाई भेटेर विश्वासको मत दिन आग्रह समेत गरेका छन्। भेटका लागि प्रधानमन्त्री ओली देउवा निवास बुढानीलकण्ठमा पुगेका थिए।

कांग्रेस सह-महामन्त्री प्रकाशसरण महतका अनुसार छलफलमा प्रधानमन्त्री ओलीले संसदमा आफूलाई विश्वासको मत दिन सभापति देउवालाई आग्रह गरेका थिए। जवाफमा सभापति देउवाले प्रमुख प्रतिपक्षी दल भएकाले विश्वासको मत दिन नसक्ने जवाफ फर्काएका थिए।

‘उहाँले सहयोग गर्नुपर्यो भन्नुभएको थियो। सभापति देउवाले कांग्रेसले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा अन्य पार्टीसँग मिलेर विश्वासको मत असफल पार्ने निर्णय गरेकाले सरकारलाई विश्वासको मत दिन नसकिने जवाफ दिनुभयो,’ महतले भने।

भेटमा प्रधानमन्त्री ओलीले सहकार्यका लािग समेत प्रस्ताव राखेको र लोकतन्त्र बचाउन सँगै उभिनुपर्ने आवश्यकता रहेको बताएका थिए। जवाफमा सभापति देउवाले प्रतिपक्षीको तर्फबाट हेर्दा व्यवहारमा त्यस्तो नदेखिएको र लोकतन्त्र बलियो बनाउने पक्षमा कांग्रेस सधैं तयार रहेको जवाफ दिएको महतको भनाइ छ।

यस क्रममा कोरोना महामारीमा सरकारको भूमिका प्रभावकारी नभएको भन्दै सरकारको कार्यशैलीपति समेत असन्तुष्टि व्यक्त गरेको महतले उकेरालाई जानकारी दिए।

छलफलमा एमालेका तर्फबाट महासचिव ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल लगायतको सहभागिता रहेको थियो।

कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधी, महामन्त्रीहरु शशांक कोइराला, पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला,सहमहामन्त्री महत सहितका नेताहरु सहभागी भएका थिए।

२२ बैशाख, २०७८, २०:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।