मुख्यमन्त्री पोखरेलले गरे  मन्त्रिपरिषद विस्स्तार  

मुख्यमन्त्री पोखरेलले गरे  मन्त्रिपरिषद विस्स्तार  

बुटवल : बिवादकाविच मुख्यमन्त्रीमा पुनः नियुक्त भएका शङ्कर पोखरेलले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री पोखरेलले पहिलो चरणमा ५ सदस्यीय मन्त्री मण्डल बनाएका छन्। 

मुख्यमन्त्रीको सिफारिसमा यसअघि सरकारका प्रवक्ता र आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका बैजनाथ चौधरी सोही मन्त्रालयमा र प्युठानका हरि रिजाल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा नियुक्त भएका छन्। रिजाल पहिलो पटक मन्त्री बनेका हुन्। उनीहरू दुबैजनाले प्रदेश प्रमुखबाट शपथ ग्रहण गरेका छन् ।

यस्तै यसअघि जसपाबाट मन्त्री बनेका २ जना मन्त्रीले पुनः शपथ लिएका छन्। जसपाबाट मन्त्री बनेका सन्तोष पाण्डे र विजय यादवले पूर्ववत् पदमै शपथ लिए। पाण्डे भौतिक पूर्वाधार विकास र यादवले भूमि व्यवस्था तथा कृषि मन्त्रीको शपथ लिएका हुन्।

यसअघि मन्त्री रहेका लीला गिरी र आरती पौडेलको पद भने खोसिएको छ। माओवादी मन्त्रीले राजीनामा दिएपछि केहीदिनअघिमात्रै गिरीले आन्तरिक मामिला तथा कानुन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र पौडेलले उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय सम्हालेका थिए।  

यसअघि आइतबारै लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले विपक्षी दलहरूको धर्नाका बाबजुत् निवासमै पुगेर शङ्कर पोखरेललाई मुख्यमन्त्रीको शपथ खुवाएका थिए।

आइतबार  साँझ मुख्यमन्त्रीको निवासमा पोखरेलले कडा सुरक्षा घेराबिच शपथ लिएका हुन्। प्रदेश प्रमुख यादव सेना, प्रहरीको सुरक्षा घेरामा मुख्यमन्त्री निवास पुगेका थिए ।

२० बैशाख, २०७८, ०९:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।