कोरोनाले रोकेन फिल्म छायाङ्कन

कोरोनाले रोकेन फिल्म छायाङ्कन

अहिले आधा दर्जनभन्दा बढी फिल्म छायाङ्कन भइरहेका छन्, जसमा ‘आँधी तुफान २’, ‘बाबरी’, ‘प्रेमगन्ज’, ‘गोर्खा वारियर २’, ‘क्रसरोड्स–कथा तिम्रो र मेरो’, ‘अनन्त’, ‘अभियान’, ‘जार’लगायत छन्। 

मौनता श्रेष्ठको लेखन तथा निर्माण रहेको फिल्म ‘आँधी तुफान २’को छायाङ्कन गत बुधवारबाट थालिएको छ। 

फिल्म निर्माता श्रेष्ठले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबिच सावधानी अपनाउँदै फिल्म छायाङ्कन थालिएको बताए। ‘सुटिङ स्थलमा स्यानिटाइजरलगायत स्वास्थ्य सुरक्षाका सामग्री प्रयोग गरी काम गरिरहेका छौँ,’ उनले भने। 

उनले कोरोना सङ्क्रमण अत्यधिक बढेको अवस्थामा भने छायाङ्कनबारे सोच्न सकिने बताए। 

कोरोना सङ्क्रमण बढिरहँदा भिडभाडले सङ्क्रमणको जोखिम बढाउने स्वास्थ्यकर्मी बताउँछन्। 

नेपाल चलचित्र कलाकार सङ्घका सदस्य शीतल केसीले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर फिल्म छायाङ्कन भइरहेको जानकारी पाएको बताए। 

उनले चलचित्र विकास बोर्डले छायाङ्कन सुरु नभएका फिल्मलाई छायाङ्कनमा जान रोकेको बताए। ‘छायाङ्कन भइरहेका फिल्मलाई भने बोर्डले रोक लगाएको छैन,’ उनले भने। 

कोरोनाले रोकिएका फिल्म 

कोरोना सङ्क्रमण बढेपछि केही फिल्मले छायाङ्कन तत्काल स्थगित गरेका छन्। यिनै मध्येको एक फिल्म हो, ‘घिन्ताङ’। 

फिल्म निर्देशक दीपक श्रेष्ठले अभिनेत्री केकी अधिकारीलाई कोरोना सङ्क्रमण भएपछि छायाङ्कन स्थगित गरिएको जानकारी दिए। 

‘फिल्म छायाङ्कनका लागि हामी सोमबार काभ्रेको पनौती पुगिसकेका थियौँ। तर, केकीलाई कोरोना पोजेटिभ भएको खबर आएपछि छायाङ्कन स्थगित गर्याैं,’ उनले भने। 

केकी निको भएपछि स्वास्थ्य सुरक्षा अपनाएर फिल्म छायाङ्कन गर्ने उनले बताए।

कोरोनाका कारण रोकिएको अर्को फिल्म हो, ‘कबड्डी ४’। उक्त फिल्मको मूर्हत गरिए पनि छायाङ्कन सुरु हुन सकेको छैन। 

फिल्म निर्देशक रामबाबु गुरुङ कोरोना सङ्क्रमणको अवस्था हेरेर छायाङ्कन थालिने बताउँछन्। 

यस्तै, फिल्म ‘तिमीसँगै हुने मन छ’ को पनि छायाङ्कन स्थगित गरिएको छ। 

०००

सरकारले कोरोना सङ्क्रमण बढे पनि फिल्म छायाङ्कनमा भने रोक लगाएको छैन। यद्यपि, सरकारले फिल्म हल भने बन्द गरेको छ। 

यसअघि कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण गरिएको लकडाउनमा सरकारले २०७६ चैत ११ गते फिल्म छायाङ्कनमा रोक लगाएको थियो। त्यसको १० महिनापछि मात्रै सरकारले फिल्म छायाङ्कनको अनुमति दिएको थियो।

१५ बैशाख, २०७८, ०६:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।