प्रदेश १ः कोरोना चेकजाँच हेर्न सीमा पुगिन् मन्त्री

प्रदेश १ः कोरोना चेकजाँच हेर्न सीमा पुगिन् मन्त्री

इटहरी : कोरोना नियन्त्रणमा सरकारले सिमाना गरेको हेलचेक्राई हेर्न प्रदेश मन्त्री आफैँ नाकामा पुगेकी छिन्। शुक्रवार सामाजिक विकाश मन्त्री उषाकला राई आफैँ जोगबानी नाका पुगेर भारतबाट नेपाल भित्रिनेहरूको स्वास्थ्य परीक्षणमा अपनाइएको फितलो व्यवस्थापनको अनुगमन गरिन्

सिमाना पुगेर उनले सतर्कता अपनाउन निर्देशन दिएर फर्किइन्।

‘दैनिक हजारौँको सङ्ख्यामा सङ्क्रमितहरू भारतबाट नेपाल प्रवेश गरेको पाइएको छ, यसलाई तुरुन्त नियन्त्रण गर्नुपर्ने जिम्मेवारी हामीमा छ,’ निर्देशन दिँदै उनले भनिन् , ‘मुख्य नाकाबाट भन्दा चोर बाटो प्रयोग गर्नेहरूलाई नियन्त्रण गर्नुपर्ने हुन्छ। मुख्य नाकाबाट मात्र आवाज–जावतको व्यवस्था मिलाउनुहोस्।’

उता सीमावर्ती क्षेत्रको सुरक्षामा खटिएको सशस्त्र प्रहरीले भने आफूहरू सकेसम्म नियन्त्रणको प्रयासमा रहेको बताएको छ। सशस्त्र प्रहरी वलका एसपी तीर्थ पौडेलका अनुसार सीमा नाकामा सुरक्षा जाँच कडा गरिएको र शंकास्पदहरुको चेकजाँच गरी सम्बन्धी निकायमा जानकारी गराउने गरिएको छ।

थपिँदै सङ्क्रमित

प्रदेश १ मा शुक्रवार मात्र १ सय १६ जना कोरोना सङ्क्रमित थपिएका छन्। मोरङमा ७२, झापामा १४, सुनसरीमा ९, उदयपुरमा ४, धनकुटा र भोजपुरमा ३–३, सङ्खुवासभामा २, तेह्रथुम, इलाम, ताप्लेजुङ र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ५ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। यससङै सक्रिय सङ्क्रमितको सङ्ख्या ७ सय ७६ पुगेको छ ।

कोरोना सङ्क्रमितको उपचारको लागी ५ हजार २ सय २९ बेड क्वारेन्टीन तयारी अवस्थामा राखिएको छ। मोरङमा सबैभन्दा धेरै २ हजार ५ सय ७३ बेड छन् । यस अघि कोरोनाको कारण प्रदेश १ मा ४ सय ७५ जनाको मृत्यु भइसकेको सामाजिक विकाश मन्त्रालयले जनाएको छ।  

१० बैशाख, २०७८, १९:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।