सैनिक मञ्च टुँडिखेलमा घोडेजात्रा पर्व मनाइयो

सैनिक मञ्च टुँडिखेलमा घोडेजात्रा पर्व मनाइयो

काठमाडौँ : नेपाली सेनाले घोडेजात्रा पर्वको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ। सेनाले अश्वकला, युद्धकला, शारीरिक व्यायामलगायत प्रदर्शन गरेको छ। 

नेपाली सेनाले हरेक वर्ष जस्तै यो वर्ष पनि टुँडिखेलस्थित सैनिक मञ्चमा घोडेजात्रा पर्व मनाएको हो। पर्वका अवसरमा राइड पास/डगद्वारा मार्चपास, टांगन घोडा दौड/डगद्वारा बुकी लोटस, साइकल रेस, शो–जम्प, ड्रिल राइड/गार्ड डग प्रदर्शन, हर्स बल/डग रिले रेस, हंगेरियन पोस्ट लगायतका विविध  कलाहरू प्रदर्शन भएको नेपाली सेनाले जनाएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले म्युजिकल राईडमा प्रथम र द्वितीय हुने क्रमशः घोडसवार सह सेनानी प्रवेश खड्का र उप सेनानी दिपिन थापा, शो–जम्पमा प्रथम र द्वितीय हुने क्रमशः घोडसवार सिपाही ओमप्रकाश यादव र जगदीश घिसिङ्ग तथा साइकल रेसमा प्रथम र द्वितीय हुने क्रमशः ओकेशराज बज्राचार्य र हिमाल टमाटालाई पुरस्कार प्रदान गरिन। 

समारोहको अन्त्यमा प्रधान सेनापति पूर्णचन्द्र थापाले प्रथम पटक प्रकाशित “पहिलो तथा दोस्रो विश्व युद्धमा सहभागी नेपाली सैनिकहरूको विवरण“ शीर्षकको पुस्तक विमोचन गरेका थिए। 

टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्न सक्ने भय तिनमा रहिरहेको जनविश्वास छ।

यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो।

 

२९ चैत, २०७७, १८:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।