विदेशबाट पैसा ल्याउँदा कर लाग्ने प्रावधान हटाउन माग

विदेशबाट पैसा ल्याउँदा कर लाग्ने प्रावधान हटाउन माग

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालका उद्योगी व्यवसायीले विदेशमा आर्जन गरेको रकम स्वदेशमा ल्याउँदा कर लाग्ने प्रावधान हटाउन माग गरेका छन्।

उद्योग वाणिज्य महासंघको ५५ औं वार्षिक साधारणसभामा अध्यक्ष गोल्छाले वैदेशिक लगानी र गैरआवासीय लगानीलाई आकर्षित गर्न भन्दै कर लाग्ने प्रावधान हटाउन माग गरेका हुन्। 

‘वैदेशिक लगानी र गैरआवासीय लगानीलाई आकर्षित गर्न केही प्रावधानमा सुधार आवश्यक छ, उदाहरणका लागि : गैरआवासीय नेपालीले विदेशमा आर्जन गरेको रकम नेपाल ल्याउँदा कर लाग्ने प्रावधान छ,’ उनले भने, ‘यसलाई हटाउनुपर्नेमा हाम्रो जोड छ।’

गोल्छाले मुलुकभित्र प्रशस्त लगानी र व्यवसायको थप विस्तार गर्न अहिलेको आयकर तथा मूल्य अभिवृद्धि कर (भ्याट) को दर परिमार्जन गर्नुपर्ने बताए।

‘संस्थागत आयकरको दर एउटै तोक्न सकिन्छ,’ उनले भने, ‘विशेष प्राथमिकता प्राप्त उद्योगलाई त्यसैमा छुट दिन सकिन्छ, भारतले करको दरमा गरेको कटौतीलाई समेत आधार मानी दर घटाउनु आवश्यक छ।’ 

मुलुक प्रादेशिक संरचनामा गएपछि पनि नीतिगत अस्पष्टता र शासकीय कार्य क्षेत्रमा देखिएका समस्याले अपेक्षाकृत लगानी आकर्षण हुन नसकेको उनको भनाइ छ। प्रदेश तथा स्थानीय तहबाट एकै प्रकारका करहरू लिने गरेको हुँदा व्यवसायीहरूले दोहोरो कर तिर्नुपर्ने अवस्था रहेको उनले उल्लेख गरे।

‘व्यावसायीले जग्गाको भाउ बढेको विषय पनि उठाएका छन्। जग्गाको मूल्य निकै अकासिएको छ। यस्तो अवस्थामा विशेष गरी उद्योगीको लागत निकै बढेको छ,’ गोल्छाले भने, ‘त्यसैले पहिले नै घोषणा भएका औद्योगिक क्षेत्र लगायतका संरचनालाई प्राथमिकताका साथ निर्माण गरिनुपर्छ।’ 

विदेशबाट फर्केका युवाहरूलाई स्वदेशमा नै उनीहरूको सीप र दक्षता उपयोग गरी आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न सकिने उद्योगी व्यावसायीको धारणा छ।

‘यो काम सजिलो छैन। तर, असम्भव पनि छैन,’ गोल्छाले भने, ‘यसको लागि निजी क्षेत्र नेपाल सरकारसँग सहकार्य गर्न तयार छ।’ 

२८ चैत, २०७७, २२:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।