डडेलधुरामा माटोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु, २ घाइते

डडेलधुरामा माटोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु, २ घाइते

धनगढी : माटो खन्ने क्रममा ढिस्कोले पुरिएर डडेलधुरामा एक महिलाको मृत्यु भएको छ। घटनामा परी दुई जना घाइते भएका छन्।

अमरगढी नगरपालिका–८, उग्रतारा मन्दिर फेदमा करिब आठ फिट लामो सुरुङभित्र माटो खन्ने क्रममा ढिस्कोले पुरिएर अमरगढी–७ कि अन्दाजी ४५ वर्षीय नारुदेवी ऐरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डडेलधुराका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) महेन्द्र नेपालले जानकारी दिए। 

उक्त ठाउँबाट लामो समयदेखि माटो खन्ने गरेकाले सुरुङ बनेको प्रहरीले जनाएको छ।

घर पोत्नका लागि माटो खन्न गएका चार जना महिला ढिस्कोमा पुरिएका थिए। तीमध्ये एक जनाको मृत्यु भएको र तीन जनाको जिवितै उद्धार गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जिवितै उद्धार गरिएकामध्ये शारदा ऐरी र कल्पना विक घाइते छन्। उनीहरूको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ। 

एक जना भने सकुशल रहेको प्रहरीले जनाएको छ। 

ऐरीको शव नेपाल प्रहरी र सशस्त्र प्रहरीले निकालेको थियो। 

उनको शव पोस्टमार्टम लागि डडेलधुरा अस्पताल पुर्याइएकाे प्रहरीले जनाएकाे छ। 
 

१८ चैत, २०७७, १७:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।