सारंगीमा जीवन सुनाउँदै 

सारंगीमा जीवन सुनाउँदै 

घरबाट निस्केपछि उनी कहिले जिल्ला बाहिरसम्म पुग्छन् त कहिले नजिकका विभिन्न टोलमा। सारंगीको तालमा देशभित्र र बाहिर घटेका घटनालाई मार्मिक तरिकाले सुनाउने उनको जीवन गाथा पनि अरू कसैका लागि भने कथा बन्न सक्छ। 

उकेरा संवाददाताको घरमै आइपुगेका यी गन्धर्व दाइ आँगनको चिसो भुइँमा बसेर सारंगी रेट्ने तयारीमा थिए। उनले सोधे, ‘हजुर मैले यसरी नै सारंगी रेटेर जीवन चलाएको छु। यहाँ पनि एकछिन बजाउन मिल्ला कि?’

उनले छोटो समयको बसाइमा सुरुमा देशभित्रका केही प्रतिनिधिमूलक घटना सुनाए। सुरुमा चितवनको घटनाको बारेमा सारंगीको तालमा सुनाए। 

आफ्नै बुबाले रक्सी खाएको झोकमा छोरीलाई चिर्पटले हानेर मारेको घटना निकै मार्मिक थियो। ‘गन्धर्वले विशेष गरी देश भित्रकै घटनालाई आफ्नै तरिकाले गीत बनाउँछन्,’ अरूका गीत गाउँदै हिँड्ने यी गन्धर्व दाइले आफ्नो कथा सुनाए, ‘हामीले जानकारी पाएका घटनालाई प्रहरीको स्वीकृतिमा घटना विवरण लिएर गीतमार्फत आफ्नो कला प्रस्तुत गर्छौँ।’

रुपन्देहीको कञ्चन गाउँपालिका– ४ गरगरेमा बस्दै आएका गन्धर्व ३५ वर्षदेखि सारंगी बजाउँदै आएका छन्। उनले सारंगी बजाएरै आफ्नो जीवन धानिरहेका छन्। 

सारंगी रेट्न थालेको ३५ वर्षमा थुप्रै तिता–पिरा कुरा सहनु परेको उनको अनुभव छ। ‘सारंगी बजाउँदै गर्दा कतिपयले ‘हातखुट्टा बलियो भएका मान्छेले त काम गरेर खाए हुने नि’ भन्दै गाली गर्छन्,’ उनी गुनासो गर्छन्, ‘मैले पेसा गरेको हुँ, संस्कृति बचाएको हुँ, कसैको केही बिगारेको त छैन नि।’ 

सारंगी रेटेर खान, र बस्न बालबच्चा पढाउन पुगेकोमा खुसी पनि देखिए गन्धर्व दाइ।

सारंगी बनाउँदै दिनमा २० देखि ३० बटा घरमा पुग्ने गरेको उनले बताए। सारंगी रेटेर दिनमा पन्ध्र सयदेखि दुई हजार रुपैयाँसम्म आर्जन गर्छन् गन्धर्व।

‘सारंगी बजाउने क्रममा देशका १५÷२० बटा जिल्लामा पुगिसकेको छु,’ उनले भने, ‘कतिपय ठाउँमा सारंगीको धुन सुन्नका लागि मान्छेको भीड नै लाग्ने गर्छ।’

‘पुस्तैनी पेसा भएर होला, यो बाहेक अरू केही गर्ने सोच कहिल्यै आएन,’ उनले भने, ‘यसरी सारंगी रेट्दै हिँड्न रमाइलो लाग्छ मलाई।’ आफ्नो समुदायका अहिलेका युवाले सारंगी बजाउन छाडेकोमा भने चिन्तित रहेछन् उनी।

‘कोही बिदेसिएका छन्, कसैले ज्याला मजदुरी गरेर जीविकोपार्जन गरेका छन्। अहिलेका मान्छेले आफ्नो पेसालाई बिर्से,’ उनले भने, ‘यही अवस्था कायम रहे अबको केही वर्षमै सारंगी बजाउने मान्छे खोजेर पनि पाइँदैन।’

९ चैत, २०७७, ०७:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।