बुटवलमा बन्ने भो जितगढी (बटौली) युद्ध संग्रहालय

बुटवलमा बन्ने भो जितगढी (बटौली) युद्ध संग्रहालय

बुटवल : बुटवल उपमहानगरपालिकामा ऐतिहासिक सम्पदास्थल जितगढी र सांस्कृति सहर पुरानो बुटवल (बटौली) लाई जोड्नेगरी संग्रहालय बन्ने भएको छ। यो ऐतिहासिक जितगढी किल्लामा भएको तत्कालीन नेपाल–अंग्रेज युद्धताकाको झल्को दिनेगरी निर्माण गर्न लागिएको महत्वपूर्ण संरचना हो।

जितगढी (बटौली) युद्ध संग्रहालयका नाममा निर्माण हुने उक्त महत्वपूर्ण संरचनाको बुधबार एक कार्यक्रमका बीच शिलान्यास भएको छ। संग्रहालयको उपमहानगरका प्रमुख शिवराज सुवेदीले शिलान्यास गरे।  

राष्ट्रिय स्वाभिमान, पहिचान र शानको रुपमा रहेको जितगढीलाई बटौली पर्यटनको केन्द्रका रुपमा लिंदै सोही अन्तर्गतको एउटा कामका रुपमा संग्रहालयलाई लिइएको प्रमुख सुवेदीले बताए।

प्रमुख सुवेदीले प्राचीन सहरले जन्माएर सबै उपसहरहरुलाई जोड्ने एउटै पर्यटन सर्किट बनाइने बताउँदै उनले बुटवल चक्रपथ, तिनाउ–दानव कोरिडोर र छिमेकका पालिकाका सडक सञ्जालमा बुटवलको पर्यटन सर्किट जोडिने उल्लेख गरे।

बुटवल उपमहानगरपालिकाले बनाएको एकीकृत सहरी विकास गुरुयोजनामा रहेको पर्यटन अन्तर्गतको एउटा कामका रुपमा संग्रहालय रहेको प्रमुख सुवेदीले बताए। बुटवलमा जनप्रतिनिधि निर्वाचित भएपछि बुटवलको आवधिक र दीर्घकालीन महत्वका योजना तय भएका छन्। अबको ५० वर्षपछिको बुटवलको जनघनत्वलाई अनुमान गरेर एकीकृत सहरी विकासको गुरुयोजना बनाइएको छ।

बुटवल वडा नं. १ को भैरव मन्दिर नजिकै रहेको उपमहानगरको करिब तीन कट्ठा जग्गामा उक्त संग्रहालय बन्नेछ। संग्रहालय चार तलाको बन्ने छ। पहिलो, दोस्रो, तेस्रो तलामा म्युजियम र चौथो तलामा परम्परागत खानाको परिकारसमेत पाइने गरि क्याफे रहने छ। यस्तै तल्लो तलामै बुटवललाई चिनाउने विभिन्न किसिमका सामान र मायाको चिनोहरु राखिएको सोभिनियर सप रहने छ।

करिब छ करोड ८२ लाख ५० हजार दुई सय ५६ रुपैयाँ बराबरको लागतमा उक्त संग्रहालय निर्माण हुन लागेको हो। निर्माण कार्यका लागि उपमहानगर र निर्माण कम्पनीका बीचमा गत माघ १० गते सम्झौता भएको थियो।

बुटवलको पहिचान झल्काउने, नयाँ पुस्तालाई जानकारी गराउने, आगन्तुक पाहुनाहरुलाई पनि झल्को देखाउने र बुद्धावलीको प्राचीन बटौलीदेखि हालको वृहत बुटवलको अवस्थाका बारेमा जानकारी गराउने खालको संग्रहालय निर्माण गर्न लागिएको उपमहानगरका उपप्रमुख गुमादेवी आचार्यले बताइन्।

४ चैत, २०७७, १८:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।