प्रचण्डको पछुतो: आफ्नै साथीहरूलाई भरोसा गरेको भए यो दिन देख्नु पर्दैनथ्यो

प्रचण्डको पछुतो: आफ्नै साथीहरूलाई भरोसा गरेको भए यो दिन देख्नु पर्दैनथ्यो

बुटवल : सर्वोच्च अदालतबाट नेकपा एकीकरण विघटन भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुने क्रम बढाएका छन्।

उनी दैनिक जसो सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुँदै एमालेसँगको एकीकरण र अदालतबाट एकीकरण अगाडिकै अवस्थामा फर्काउने परमादेशपछिको अवस्थाबारे आफ्नो मूल्याङ्कन सुनाउँदै हिँडेका छन्।

नेकपा माओवादी केन्द्रको अध्यक्षको रूपमा पार्टीका सङ्गठनहरूले आयोजना गरेका कार्यक्रमहरूमा उनी कतै पछुताउने गरेका छन्। कतै आत्मविश्वासी देखिन्छन् त कतै आक्रोशित। कतै गणतन्त्र नै खतरामा रहेको भन्दै धम्काउन समेत पछि परेका छैनन् उनी।

सार्वजनिक कार्यक्रममा भाग लिन शुक्रवार बुटवल पुगेका प्रचण्डले सार्वजनिक कार्यक्रमको सम्बोधनलाई माओवादी केन्द्रलाई एमालेसँग एकीकरण गराएपछिका दुख, कष्ट, पछुतो र ग्लानि व्यक्त गर्नमै खर्चिए।

बुटवलमा राष्ट्रिय दलित पत्रकार सङ्घको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले प्राप्त उपलब्धि उल्ट्याउन ठुलो षडयन्त्र भइरहेको दाबी गरेका थिए।

देशमा संविधानको रक्षा गर्ने कि हत्या गर्ने भन्ने बहस चलिरहेको दाबी गर्दै उनले संविधानको हत्या गर्ने र कुल्चने काम मान्य नहुने र यस्तो षडयन्त्र विरुद्ध शान्तिपूर्ण क्रान्ति गर्ने दाबी गरेका थिए।

उनले त्यो कार्यक्रममा नेपाली काँग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालालाई सम्झिए ‘शान्ति सम्झौताका हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला जीवित हुनुहुन्न। गणतन्त्र र संविधान विरोधीहरूबाट म माथि घेराबन्दी भइरहेको महसुस गरिरहेको छु।’ 

 

त्यसपछि उनी आफ्नै पार्टीका अगुवा कार्यकर्ता भेलामा सहभागी भए। भेलामा उनी बढी नेकपा एमालेतिर फर्किएका माधव नेपाल समूह केन्द्रित हुँदै आफ्ना नेता–कार्यकर्तालाई सम्झाएका थिए।

कार्यक्रममा उनले ‘या त माधवजीहरूले छिटै एमाले क्याप्चर गरेर केपी ओलीलाई हटाउनु हुन्छ या माधवजीहरूले विद्रोह गरेर हामीसँग आउनु हुन्छ’ भने।

त्यसपछि एउटा ठुलो कम्युनिस्ट शक्ति बन्ने उनको विश्वास थियो।

उनले नेपाल समूहसँग आफू लगातार छलफल र कुराकानीमा रहेको भन्दै कार्यकर्ताहरुलाई त्यही भावना साथ साथीहरूसँग वार्ता र अन्तर्क्रिया गर्न सल्लाह दिए।

उनले एमालेसँग पार्टी एकीकरणपछिको अवस्थाको मूल्याङ्कन गर्दै भने‘ तर पनि मेरो अझै जोड के मा छ भने टेक्न चैँ आफ्नै खुट्टामा टेक्नुपर्ने रहेछ। अलिअलि मैले पनि त्रुटि गरेको छु। बिग्रेका, टुटेकाहरूलाई बनाउँछु भन्दाभन्दा मेरो हालत खराब भयो।’

उनको पछुतो थियो‘ आफ्नै साथीहरूलाई भरोसा गरेको भए यो दिन त देख्नु पर्दैनथ्यो नि।’

उनले अहिले रिल्याक्स गरेर बस्ने अवस्थामा नरहेकाले परी आए आन्दोलनका लागि पनि तयार रहन निर्देशन दिएका थिए।

२८ फागुन, २०७७, १५:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।