ट्रमा–वीर अनियमितता प्रकरण : छानबिनको दायरामा रहेकी खरिद प्रमुख नै समिति सदस्य

ट्रमा–वीर अनियमितता प्रकरण : छानबिनको दायरामा रहेकी खरिद प्रमुख नै समिति सदस्य

काठमाडौँ :  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा भएका बदमासीबारे जो छानबिनको दायरामा तानिएका छन् उसैलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छानबिनको जिम्मा दिएको छ।

सामान्य मर्मत गर्दा चल्ने मेसिन थन्काएर कमिसनको चक्करमा नयाँ मेसिन किनेर बदमासी भइरहेकोबारे मन्त्रालयले छानबिन गर्न समिति गठन गरेको थियो। तर त्यसको जिम्मा दियो स्वास्थ्य उपकरण खरिदको जिम्मेवारी पाएको खरिद इकाई प्रमुखलाई।

उकेरामा प्रकाशित समाचार र कर्मचारीबाट आएको उजुरीको आधारमा मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल र ट्रमा सेन्टरमा भएको अनियमितता छानबिन गर्न मन्त्रालयले फागुन १३ गते समिति गठन गरेको थियो।

तर समितिमा रहेको चार सदस्यमध्ये ट्रमा सेन्टरकी खरिद इकाई प्रमुख समेत रहेकी शाखा अधिकृत जुना खड्का खत्री समेत सदस्य छिन्।

छानबिन समितिको संयोजक मन्त्रालयकी प्रमुख जनस्वास्थ्य प्रशासक रिता भण्डारी जोशी छिन्। अन्य सदस्यमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका उपसचिव दीपक घिमिरे, मन्त्रालयकै शाखा अधिकृत दीपक रिजाल हुन्।

अस्पताल स्रोतका अनुसार डा. सन्तोष पौडेल ट्रमाको निमित्त निर्देशक (सुपरिटेन्डेन्ट) भएपछि उनैले खड्कालाई खरिद प्रमुख बनाएका हुन्। 

स्वास्थ्य उपकरण खरिद लगायतका निर्णय खरिदमा इकाईको स्वीकृति नभई सम्भव हुन्न। अनियमितताको छानबिनमा खड्का समेत स्वतः तानिने नै भइन्। तर उनी आफैँ छानबिन समितिको सदस्य भएपछि समितिले गर्ने छानबिन निष्पक्ष हुनेमा शङ्का बढाएको छ।

नयाँ सामान खरिद, मर्मत, कोटेसन लगायत आर्थिक कारोबार खरिद इकाई बाटै हुने हो। जो आर्थिक कारोबारको फाइल सदर गर्ने भूमिकामा छ उसैले गर्ने छानबिन शङ्कामा पर्नु स्वाभाविकै हो।

ट्रमाको खरिद एकाइ प्रमुखलाई नै छानिबिन समितिमा भएकोबारे जिज्ञासा राख्दा छानबिन समितिकी संयोजक भण्डारीले ‘आफूलाई यो  विषय थाहा नभएको’ प्रतिक्रिया दिए।  

उनले भनिन्,‘मलाई थाहा थिएन। म त उहाँहरूलाई राम्रोसँग चिन्दा पनि चिन्दिन। मिटिङमा यो कुरा राख्छु।’

स्रोतको दाबी अनुसार छानिबिन समितिमा रहेका मन्त्रालयका शाखा अधिकृत रिजाल पनि ट्रमाका निमित्त निर्देशक डा. पौडेलकै निकट हुन्। पार्टीगत रूपमा पनि उनी पौडेलसँग नजिक छन्।

उपसचिव घिमिरेले मन्त्रालयले दिएको जिम्मेवारी निष्पक्षताका साथ पुरा गर्ने दाबी गरे। उनले भने,‘मेरो तर्फबाट त्यस्तो केही हुँदैन। कसैप्रति आग्रह पूर्वाग्रह राख्नुपर्ने छैन।’

छानबिन कहाँ पुग्यो त?

मन्त्रालयले १३ गते गठन गरेको समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न भनेको छ। तर, अहिलेसम्म छानबिनको प्रक्रिया नै सुरु भएको छैन।

छानबिन समिति गठन भएको १२ दिन बितिसक्दा समेत समितिको औपचारिक बैठकसमेत बसेको छैन। समिति संयोजक भण्डारीले समितिको बैठक नबसेको स्विकारिन्।

उनले भनिन्,‘समितिको फर्मल बैठक बसेर मिनिटिङ गरेको  छैन। डकुमेन्ट कलेक्सन गरेपछि मात्रै फर्मल बैठक बस्ने हो।’ 

उनले अनियमितताबारे तथ्याङ्क सङ्कलनको काम भने सुरु भइसकेको दाबी गरिन्।

संयोजक भण्डारीले उकेरासँग भनिन्,‘प्रशासनको टिमले प्रारम्भिक चरणका कागजपत्र सङ्कलनको काम गरिरहेको छ।’

उनले केही डकुमेन्ट अस्पतालले स्वास्थ्य सचिव र छानबिन समितिको नाममा पठाइसकेको दाबी गरिन्। उनले भनिन्,‘४÷५ दिन भयो एक राउन्ड डकुमेन्ट पठाइसक्नु भएको छ।’

मन्त्रालयको टिमले डकुमेन्ट सङ्कलन गरिसकेपछि समितिले त्यसको अध्ययन गर्ने उनले बताइन्। डकुमेन्ट हेर्दा कुनै विषय पुन भेरिफाई गरेर हेर्नु पर्ने र कुनै सामान्य किसिमका भएको संयोजक भण्डारीले जानकारी दिइन्।

उनले भनिन्,‘स्पेशिफिक डकुमेन्ट लिष्टआउट गरेका छौँ। हेर्छौँ। डाटा केलाउने काम भइरहेको छ।’ उनले १५ दिनमा छानिबिन सम्भव नभएकाले म्याद थपिने बताइन्। 

छानबिन समितिको सदस्य समेत रहेका वीर अस्पतालका उपसचिव घिमिरेले पनि छानबिन भइरहेको दाबी गरे। उनले विषयवस्तुको गहनता अनुसार समय लम्बिन सक्ने बताए। बुधवार पनि समिति संयोजकसँग मन्त्रालयमा छलफल भएको उपसचिव घिमिरेको दाबी छ।

वीर अस्पताल तथा राष्ट्रिय ट्रमा सेन्टरका कर्मचारीले यी दुई अस्पतालमा अनियमितता भएको भन्दै छानबिनका लागि फागुन २ गते निवेदन दिएका थिए।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, र स्वास्थ्य मन्त्रालयमा छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै कर्मचारीहरूले निवेदन दिएका थिए।

२६ फागुन, २०७७, १७:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।