एक र १६ तारिख अगाडि नै इन्धन किन्नु फाइदा

एक र १६ तारिख अगाडि नै इन्धन किन्नु फाइदा

काठमाडौँ : नेपाल आयल निगमले फागुनको अघिल्ला दुईसाता भित्र पेट्रोल, डिजेल, मट्टितेल लगायत इन्धनको २ पटक मूल्य बढायो। मूल्य बढाउनुको कारण रेडिमेड हुन्छ‘ अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएको।’ 

चालु आर्थिक वर्ष सुरु भएदेखि हालसम्मको आठ महिनाको अवधिमा निगमले आठ पटक इन्धनको मूल्य बढाइसकेको छ। साउन १७ देखि फागुन १७ सम्म आठ पटक मूल्य बढाउँदा एक सय २ रुपैंयाको पेट्रोल प्रतिलिटर एक सय १६ पुगिसक्यो।

साउन १७ मा उसले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २/२ रुपैयाँ बढाएको थियो।

पेट्रोल प्रतिलिटर १ सय ४ रुपैयाँ, डिजेल ९० रुपैयाँ र मट्टितेल ९० रुपैयाँ पुग्यो। त्यसको पन्ध्र दिनमै साउन ३२ मा मूल्य बढाउँदै पेट्रोल, डिजेल र मट्टितेल थप एक रुपैंया महँगो बनायो।

भदौ १६ मा निगमले मट्टितेल र डिजेलको मूल्य यथावत् राख्दै पेट्रोलको मूल्य २ रुपैयाँले बढायो। भदौ ३१ मा पेट्रोलको मूल्य यथावत् राख्दै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १/१ रुपैयाँ बढ्यो।

असोज १५ मा पुन मूल्य समायोजन गर्दै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १/१ रुपैयाँका दरले घटायो। कात्तिकमा स्थिर रहेको पेट्रोलियम पदार्थको मूल्य मङ्सिरमा फेरि बढ्यो। 

मङ्सिर २७ मा मूल्य समायोजन गर्दै निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ वृद्धि गर्यो। डिजेल र मट्टितेलमा प्रतिलिटर २/२ रुपैयाँका दरले वृद्धि गर्यो। माघ ५ मा निगमले पेट्रोल, मट्टितेल र डिजेलमा प्रतिलिटर २/२ रुपैयाँ बढायो।

माघ २८ मा पुनः पेट्रोल, मट्टितेल र डिजेलमा प्रतिलिटर २/२ रुपैयाँ बढ्यो।

ग्याँस प्रतिसिलिन्डर २५ रुपैयाँले बढ्दै प्रतिसिलिन्डर १ हजार ४ सय रुपैयाँ पुर्याइयो।  फागुन ४ र १७ गते २ पटक मूल्य समायोजन गर्यो निगमले।

पेट्रोल १४ रुपैयाँ र डिजेल ११ रुपैयाँले महँगियो 

आर्थिक वर्ष २०७७ असार २६ गतेसम्म प्रतिलिटर १ सय २ रुपैयाँ रहेको पेट्रोलको मूल्य हाल १४ रुपैयाँले बढेर प्रतिलिटर १ सय १६ रुपैयाँ कायम भएको छ। 

८ महिनाको अवधिमा पेट्रोलको मूल्य प्रतिलिटर १४ रुपैयाँले महँगियो। यो अवधिमा डिजेलको मूल्य ११ रुपैयाँले महँगिएको छ। 

गत आर्थिक वर्षको असारमा प्रतिलिटर ८८ रुपैयाँ रहेको पेट्रोलको मूल्य ११ रुपैयाँले बढेर ९९ रुपैयाँ पुग्यो। नयाँ मूल्य समायोजनपछि मट्टितेलको मूल्य पनि ११ रुपैयाँले बढेर प्रतिलिटर ९९ रुपैयाँ पुगेको छ। 

ग्याँसको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले बढेर १ हजार ४ सय पुगेको छ। आन्तरिकतर्फ हवाई इन्धन प्रतिलिटर ७२ रुपैयाँ पुगेको छ। 

मूल्य किन बढिरहन्छ? 

नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) मार्फत इन्धन आयात गर्छ। आइओसीले अन्तर्राष्ट्रिय मूल्य घटबढका आधारमा नेपाल आयल निगमलाई महिनाको १ तारिख र १६ तारिखमा नयाँ मूल्य सूची पठाउँछ। सोही आधारमा निगमले मूल्य निर्धारण गर्ने गरेको छ। 

अन्तर्राष्ट्रिय बजारबाट ल्याइएको औसत खरिद मूल्यमा राज्यको कर, निगमको सञ्चालन खर्च, ढुवानी खर्च, काम गर्ने डिलरहरूको खर्च लगायतका सबै खर्च जोडेर निगमले नयाँ मूल्य निर्धारण गर्ने गरेको छ।

खरिद मूल्यको अनुपात कर तथा बाँकी खर्चका आधारमा बजारमा इन्धनको मूल्य कायम गर्नुपर्दा पटक–पटक इन्धनको मूल्य घटबढ भइरहने निगमका प्रवक्ता बिनितमणी उपाध्याय बताउँछन्। 

अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा १५/१५ दिनमा भारतीय निगमले मूल्य निर्धारण गर्ने हुँदा सोहीअनुसार नेपाली बजारमा पनि इन्धनको मूल्य फरक पर्ने उनको भनाई छ।

केही समय अगाडी पेट्रोललाई विलासिताको वस्तु मानिए पनि आजभोलि अत्यावश्यक बन्न थालेको छ। टुकी बाल्न मट्टितेल बाल्ने नेपालीको सङ्ख्या पनि ठुलो छ। जसका कारण बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको प्रत्यक्ष असर नेपालको समग्र अर्थतन्त्रमा पर्ने गरेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिले दैनिक उपभोग्य वस्तु, यातायात, सामग्री ढुवानी देखि मानिसको भान्छासमेत महँगिने गरेको छ। 

समस्या समाधानका लागि के गर्दैछ निगम? 

पटक–पटक पेट्रोलियम पदार्थको मूल्य बढाइरहँदा पनि निगमले १५ दिनमा १ अर्ब ३२ करोड रुपैयाँ घाटामा रहेको दाबी गरेको छ।

घाटा बढेपछि यसको विकल्पमा विद्युतीय सवारीसाधन बढाएर पेट्रोलियम पदार्थको खपत घटाउने सरकारी रणनीति देखिन्छ। तर रणनीति प्रभावकारी बन्न भने सकेको छैन।

‘विद्युत् उत्पादन बढिरहेको छ। विद्युत्को खपत बढाउनुपर्छ। भारतलाई ३ रुपैयाँ प्रतियुनिट बिक्री गर्नुभन्दा नेपालमै मिलाएर प्रयोग गर्न सक्यौँ भने मात्रै पेट्रोलियम पदार्थमाथिको परनिर्भरता केही हदसम्म कम हुन्छ,’ निगमका प्रवक्ता उपाध्यायले भने। 

पेट्रोलियम पदार्थको खपत एकैपटकमा कम गर्न सकिने अवस्था नरहेको बताउँदै उनले  बिस्तारै कम गर्दै लैजानुपर्ने बताए।

२६ फागुन, २०७७, ०७:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।