नेपालमै रासायनिक मल कारखाना खोल्ने तयारी 

नेपालमै रासायनिक मल कारखाना खोल्ने तयारी 

काठमाडौँ : यो वर्षदेखि किसानलाई रासायनिक मल अभाव नहुने कृषि तथा पशुपन्छी मन्त्रालयको दाबी गरेको छ। ‘अब रासायनिक मलको अभावमा उत्पादन घट्ने र किसान मर्कामा पर्ने अवस्थाको अन्त्य गरेका छौँ,’ कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले भनिन्। 

चालु आर्थिक वर्षमा रासायनिक मलका लागि छुट्टाइएको ११ अर्ब बजेटबाट ५ लाख मेट्रिक टन रासायनिक मल (युरिया मल २ लाख ८२ हजार ५ सय, डिपिए २ लाख २ हजार ५ सय र पोटास १५ हजार) आयात गरिने मन्त्रालयले जनाएको छ। 

रासायनिक मलमा बढ्दो परनिर्भरता

नेपालमा रासायनिक मलमाथिको परनिर्भरता बढ्दो छ। कृषि मन्त्रालयको पछिल्ला ६ आर्थिक वर्षको तथ्याङ्क हेर्दा हरेक वर्ष नेपालमा रासायनिक मलको प्रयोगको मात्रा बढ्दै गएको देखिन्छ।

आर्थिक वर्ष २०७२/०७३ मा २ लाख ५८ हजार मेट्रिक टन मल वितरण भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ। यस्तै, आर्थिक वर्ष २०७३/०७४ मा ३ लाख २८ हजार, २०७४/०७५ मा ३ लाख ४८ हजार, २०७५/०७६ मा ३ लाख ४४ हजार, २०७६/०७७ मा ३ लाख ९४ हजार ६ सय मेट्रिक टन मल किसानलाई वितरण गरिएको थियो। 

चालु आव २०७७/०७८ को ७ महिनामा १ लाख ८७ हजार मेट्रिक टन रासायनिक मल बिक्री भइसकेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

१ लाख ६२ हजार मेट्रिक टन स्टक तथा नेपाल भित्रिने क्रममा रहेको मन्त्रालयले जनाएको छ। 

‘यो आर्थिक वर्षमा आयातबाट जम्मा २ लाख मेट्रिक टन मल आगामी धान सिजनका लागि मौज्दात (बफर स्टक) रहने देखिन्छ। पछिल्ला तीन वर्षहरूको बिक्रीको आधारमा साउनदेखि असोजसम्म जम्मा १ लाख ३ हजार मेट्रिक टन मल खपत हुने अनुमान गरिएको छ, जुन यस आर्थिक वर्षकै बाँकी मलबाट पूर्ति हुने देखिन्छ,’ कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले भनिन्। 

आगामी आर्थिक वर्षको बजेटबाट व्यवस्था हुने गरी प्रथम चौमासिक अवधिमा करिब ३ लाख मेट्रिक टन मल आपूर्तिका लागि यही महिनाबाट आयात प्रक्रिया सुरु गरिने मन्त्री अर्यालले जानकारी दिइन्। 

बजेट बढाइँदै 

पछिल्ला ६ आर्थिक वर्षमा रासायनिक मलमा ४५ अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कले देखाउँछ। 

आर्थिक वर्ष २०७२/०७३ देखि २०७७/०७८ सम्म ४५ अर्ब २९ करोड रुपैयाँ बजेट रासायनिक मल खरिदका लागि विनियोजन भएको देखिन्छ। 

आर्थिक वर्ष ०७२/०७३ मा ५ अर्ब ४४ करोड रुपैयाँ रासायनिक मल खरिदमा बाहिरिएको थियो। आर्थिक वर्ष २०७३/०७४ र २०७४/०७५ मा ४ अर्ब ८० करोड रुपैयाँको मल आयात भएको थियो। 

यस्तै, आर्थिक वर्ष २०७५/०७६ मा मल खरिदका लागि ८ अर्ब ५७ करोड रकम विनियोजन भएको देखिन्छ। अघिल्लो आर्थिक वर्ष (२०७६/०७७) मा रासायनिक मल खरिदका लागि ९ अर्ब बजेट छुट्टाएको भए पनि उक्त रकम अभाव भएपछि थप १ अर्ब ६८ करोड थपेर १० अर्ब ६८ करोडको मल खरिद गरेको थियो। 

चालु आर्थिक वर्षमा (२०७७/०७८) मा रासायनिक मल खरिदका लागि ११ अर्ब बजेट विनियोजन भएको छ। 

नेपालमै कारखाना खोल्ने तयारी 

रासायनिक मल अभाव तथा परनिर्भरतालाई दीर्घकालीन समाधानका लागि नेपालमै कारखाना स्थापना गर्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ। आगामी आर्थिक वर्षमा नेपालमै रासायनिक मल कारखाना खोल्ने गरी छलफल अगाडि बढाइएको मन्त्री अर्यालले बताइन्। 

‘हामीले रासायनिक मलको समस्या तत्कालीन समाधानका लागि निरन्तर मल ल्याउन विभिन्न मुलुकहरूसँग सम्झौताको तयारी गरिरहेका छौँ,’ मन्त्री अर्यालले भनिन्, ‘मध्यकालीन समाधानका लागि पनि मलको सहज आपूर्तिलाई जोड दिएका छौँ। दीर्घकालीन समाधानका लागि नेपालमै कारखाना स्थापना गर्न मन्त्रालय अगाडि बढेको छ।’

नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने प्रस्ताव छिट्टै मन्त्रिपरिषद्मा लैजाने मन्त्री अर्यालले उल्लेख गरिन्। 

आगामी आर्थिक वर्षभित्र रासायनिक मल कारखाना खोल्ने गरी जोड दिइएको उनको भनाई छ। 

नेपालमा रासायनिक मलको माग बढ्दै गएको छ। नेपाली किसानलाई वार्षिक ४ देखि ५ लाख मेट्रिक टन मल आवश्यक हुने बताइन्छ। 

२१ फागुन, २०७७, ०७:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।