प्रधानमन्त्रीज्यू, जन्मदिनको उपहार 'तानाशाही' त होइन नि ? 

प्रधानमन्त्रीज्यू, जन्मदिनको उपहार 'तानाशाही' त होइन नि ? 

सार्वजनिक भएको जन्ममिति २००८ फागुन ११। सो जन्ममिति अनुसार आज प्रधानमन्त्री केपी शर्मा ओली ६९ वर्ष पार गरेर ७० वर्षमा टेके। उनले पारिवारिक जमघटमा जन्मदिन मनाए नेवारी परम्परा अनुसार।

७० औँ जन्मोत्सव मनाउँदै प्रधानमन्त्री ओली। तस्बिर: प्रधानमन्त्रीको निजी सचिवालय

गत वर्षझैँ माहोल छैन प्रधानमन्त्रीको जन्मदिनमा। पार्टीमा ‘भ्वाङ’ परेको छ। जनविश्वास आशंकाले भरिएको छ। त्यसैले त उनको जन्मदिनको दिन प्रधानमन्त्रीबाट आउने गिफ्टको रूपमा ‘तानाशाही’को चर्चा बढी थियो।

संयोगै मानौं, प्रधानमन्त्री ओली ७० वर्षमा टेकेकै दिन उता उनले विघटन गरेको संसद् पुनःस्थापना गर्ने कि निर्वाचनमा जाने भन्ने विषयमा सर्वोच्च अदालतमा लामो समय चलेको बहस सकिएर आजैबाट पेसी चढ्यो।

पेसी चढ्नु अघिल्लो दिन अकस्मात प्रधानसेनापति पूर्णचन्द्र थापा र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबीच सर्वोच्च अदालतमा छलफल भयो।

किन भेटेको ? अदालतबाट कुनै प्रतिक्रिया आएन। सेनाले भने सर्वोच्चको नयाँ भवन सेनाको जग्गामा परेकाले त्यसबारे छलफल गर्न गएको अपत्यारिलो दाबी गर्यो।

जग्गाबारे छलफल गर्न प्रधानसेनापति आफैं प्रधानन्यायाधीशलाई नै भेट्नुपर्ने हो र ? भेटको कारण अपत्यारिलो हुनुको मुख्य पक्ष यही हो। र, पत्याउने आधार पनि देखिएन।

संवैधानिक इजलासमा बहस सकिइसक्यो। बहसमा पक्ष–विपक्षको गरमागरम बहस, सायरी र गजलका हरफ जे जति आए, त्यसले पार्टीको किचलोलाई बहाना बनाएर संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीमा रहेको भनेर उनका पक्षबाट बहस गर्नेहरूले स्थापित गर्न सकेनन्।

सरकारी र निजी दुवैतर्फका कानुन व्यावसायीहरूले केही तर्क नपाएपछि ‘राजा भनेका विष्णु भगवान् हुन्, उनीसँग अदृष्य शक्ति हुन्छ’ भनेझैं गरेर जुन प्रक्रियाबाट संसद् विघटन भयो त्यसबारे संविधानमा उल्लेख नभए पनि प्रधानमन्त्रीलाई संविधानले नदेखिने अधिकार दिएको कुतर्कसमेत गरे।

एमिकस क्युरीमा भएका बहस हेर्ने हो भने पनि संसद् विघटनको पक्ष बलियो देखिएन। 

संविधानको धारामा उल्लेख गरिएको प्रावधानको अपव्याख्या नहुने गरी फैसला आए के हुन्छ ? दृष्य प्रष्टै छ।

भनिन्छ– न्याय र अपराधको भविष्यवाणी हुन सक्दैन। तर, संविधानमा गरिएको संसद् विघटनको प्रक्रियाको अपव्याख्या नहुने हो भने संसद् विघटनबारे आउने फैसलाको भविष्यबाणी गर्दा फेल खाने अवस्था छैन।

०००

६९ औँ जन्मोत्सवको तस्बिर

यो बीचमा जे जस्ता दृष्यहरू देखिए त्यसले कतै संविधानको व्याख्या र रक्षाको जिम्मेवारी पाएको निकायको नेतृत्वले कतै बाटो बिराउने त हैन भन्ने चिन्ता बढ्दो छ।

राजनीतिक परिर्वतनमा जनमतभन्दा अर्को ठूलो निर्णयकर्ता छैनन् भन्ने स्वीकार गर्दै जनमतविरुद्ध गएका आफ्ना परमाधिपति नारायाणहिटीबाट लुरुलुरु निस्केको दृष्यलाई समेत सहज लिएको नेतृत्व जनप्रतिनिधिको तानाशाह बन्ने महत्त्वाकांक्षाको पछि लाग्ने त हैन ? शंका छ।

प्रधानन्यायाधीश र प्रधानसेनापतिबीच भेट हुँदा पनि ‘लौ केही गडबड हुने भने कि क्या हो ?’ भनेर शंका बढ्नुमा पछिल्ला केही घटनाक्रमको योगदान छ। यो त्यसैको प्रभाव हो।

सुरक्षा परिषद्को बैठक अनि मन्त्रिपरिषद्को बैठक नियमित प्रक्रिया हुन्। सरकारले आवश्यकता अनुसार बैठक राख्न सक्छ। आवश्यक निर्णय गर्न सक्छ।

तर, सरकारको यही नियमित कामले पनि एक प्रकारको आतंकको वातावरण बन्छ। त्यही माहाैल बन्यो मंगलबार।

संसद् विघटन सदर होला कि बदर होला भन्ने बहसमा धमिलिएको संवैधानिक बहस सङलिँदै गइरहेको बेला एकाएक नियमित बैठक बस्दा शंका बढ्ने नै भयो।

किनकि सत्तामा जो छन् सनकमा जे पनि निर्णय गर्नसक्छन् भन्ने त दुई तिहाइको मत बोकेर बालुवाटारमा सुरक्षित बस्दासमेत हठात् संसद् विघटन गर्ने निर्णयले पुष्टि भइसक्यो।

कार्यकारी अधिकार पाएका व्यक्ति सन्किए पनि कमसेकम राष्ट्र प्रमुख छिन् नि नियन्त्रण गर्न भन्ने हो भने सनकमा जे आउँछ त्यही पारित गरिदिएर उनले त्यो जनविश्वास गुमाइसकेकी छन्। उनका लागि राष्ट्रहित, जनहित हैन, केपी ओली हित नै सर्वोपरी हो भन्ने आफैंले पुष्टि गरिसकेको विषय भएकाले थप पुष्ट्याइँका लागि नयाँ तथ्य र प्रमाण आवश्यकै छैन।

राज्यको शक्ति सन्तुलनको आधारमा बाँकी रह्यो कानुनको शक्ति अनि सैन्य शक्ति।

यदि यी पनि सनकको पछि लाग्ने हो भने सनक रोक्ने संयन्त्र के बाँकी रह्यो र ?

यी निकायको नेतृत्वले के गर्लान् शंका त बढाएको छ। 

तर, हिजो राष्ट्र संकटमा परेको बेलामा यी दुई निकायको नेतृत्वमा रहेकाहरूले जसरी सुझबुझपूर्ण निर्णय गरेर लिकबाहिर पुगेको पद्धतिलाई लिकमा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले त्यो साखले ‘यतिसम्म त नमान्लान्’ भन्ने आशा अझै जीवितै छ।

हिजो मति बिग्रँदा मैले जे भन्छु त्यही सत्य हो भन्ने ‘विष्णु भगवान्’ को आजको गतिले अब बाँकी रहेको आशा पनि मर्यो भने समयले कुन बाटो समात्छ त्यो त सङ्लै छ नि।

०००

अन्त्यमा ७० वर्षमा प्रवेशको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुस्वास्थ्य र दीर्घायुको शुभकामना ! आग्रह यत्ति ‘जन्मदिनको उपहार तानाशाही नमाग्नुहोला।’

११ फागुन, २०७७, १५:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।