बुटवलमा एक हप्तामै दुई केबलकारको शिलान्यास

बुटवलमा एक हप्तामै दुई केबलकारको शिलान्यास

बुटवल : रुपन्देहीमा पछिल्लो एक हप्तामा दुई वटा केबलकारको शिलान्यास भयो। फागुन १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलको चिडियाखोलादेखि पूर्वी पाल्पाको वसन्तपुरसम्म जोड्ने लुम्बिनी केबलकारको शिलान्यास गरेका थिए। आइतबार अर्थमन्त्री विष्णु पौडेलले सिद्धार्थ केबलकारको शिलान्यास गरे।

बुटवलमा आधार स्टेसन रहेका यी दुवै केबलकारको अन्तिम स्टेसन भने पाल्पामा रहने छन्। बुटवलदेखि उत्तर पूर्व वसन्तपुर जोड्ने केबलकारको निर्माण लुम्बिनी केबलकार प्रालीले सुरु गरेको हो भने बुटवलदेखि उत्तर पश्चिम नुवाकोट जोड्ने केबलकार सिद्ध बाबा केबलकारप्रालीले बनाउँदै छ।

सिद्धार्थ केबलकारको शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले रुपन्देहीलाई विकासका हिसाबले मुलुककै नमुना जिल्ला बनाइने र त्यसको लागि आर्थिक क्षेत्रबाट कमी हुन नदिने दाबी गरेका थिए।

विकासका काममा तीव्र गतिमा अगाडि बढेको रुपन्देहीका लागि केबलकार परियोजना रोल मोडल हुने उनको भनाइ छ। सरकारी क्षेत्रबाट निर्माण गरिएको परियोजनासँगै निजी क्षेत्रको लगानीमा निर्माण हुने यस्ता आयोजना राष्ट्रका गौरव रहेको उल्लेख गर्दै उनले यी आयोजना समयमा सम्पन्न गर्न सरकारी क्षेत्रबाट पर्याप्त सहयोग रहने बताए। 

‘०४७ साल अगाडि हामी कहाँ थियौ, आज कहाँ छौँ? विश्लेषण गरौँ, क्रमिक रूपले हेरौँ, रुपन्देही जिल्लाले विकासको रोल मोडलको भूमिका खेल्दै छ,’ पौडेलले भने। पौडेलले रुपन्देही विकास सिक्ने पाठशाला बनेको भन्दै आउने दिनमा अझै गतिशील बनाउन आग्रह गरे।

लुम्बिनी प्रदेश सभाका सदस्य तथा बुटवलका पूर्व मेयर भोजप्रसाद श्रेष्ठले शिलान्यास भइरहेका र निर्माण भइरहेका आयोजना प्रदेशको राजधानी बन्न नसकेको बुटवलको लागि क्षतिपूर्ति र बुटवललाई केन्द्र बनाउने आफूहरूको योजना पूरा गर्ने महत्त्वपूर्ण आधार भएको बताए।

उनले सिद्धार्थ केबलकारले ऐतिहासिक नुवाकोट गढीलाई हिल स्टेसनको रूपमा विकास गर्न सघाउने र गत साता शिलान्यास भएको लुम्बिनी केबलकारले उचाइमा रहेको बसन्तपुरलाई पर्यटकीय गन्तव्य बनाउने बताए।  

‘यी दुवै आयोजना बुटवल र रुपन्देहीको लागि मात्र नभएर लुम्बिनी प्रदेशकै लागि ड्रिम प्रोजेक्टको रूपमा रहेका छन्,’ श्रेष्ठले भने।

नुवाकोटमा केबलकार लैजाने योजना २०५५ सालमै आफू बुटवलको मेयर भएका बेला बुटवलको भिजनरी प्रोजेक्टको रूपमा अगाडि सारिएको भए पनि सरकारी संयोजन नमिल्दा त्यतिकै रोकिएकोमा अहिले अगाडि बढाइएको श्रेष्ठले बताए।

सिद्ध बाबा केबलकारप्रालीमा रुपन्देहीका उद्योगी तथा पर्यटन व्यवसायी गरी करिब १ सय जनाको ८० करोड बढी लगानी छ।प्रालीका अध्यक्ष राजेन्द्रसिंह गुरुङले बुटवल तथा यस आसपासका व्यवसायीको लगानी रहेको यो परियोजना १८ महिनाभित्र पूरा गर्ने लक्ष्य रहेको बताए।

सरकारले परियोजना भित्र पर्ने ६.०९८ हेक्टर वन क्षेत्र ३० वर्षको लागि भोगाधिकारको स्वीकृति दिएको छ। १.९४ किलोमिटर लम्बाइको केबुलकारको लागि ८० करोड २५ लाख लागत अनुमान गरिएको गुरुङले जानकारी दिए।

पश्चिम नेपालका विभिन्न जिल्लाका साथै भारतका गोरखपुर, लखनउ, बनारस र विहारका विभिन्न स्थानका समेत गरी करिब ८ करोड जनसङ्ख्या लक्षित क्षेत्र रहेको र त्यसमध्ये १० प्रतिशत मात्रले पनि केबुलकार चढेमा ८० लाख पुग्ने प्राविको दाबी छ।

नुवाकोटगढी पुग्न बुटवल बेलबास शान्ति चोकदेखि ११ किलोमिटर सडक निर्माण गरिएको छ। बेलबासदेखि नुवाकोट हुँदै झुम्सा निस्किने उक्त सडकलाई सिद्ध बाबा झुम्सा सडकको वैकल्पिक मार्गका रूपमासमेत विकास गर्ने योजना रहेको छ। त्यस्तै फूलबारीबाट नुवाकोटसम्म उजिरसिंह सिँढी मार्ग पनि निर्माण गरिएको छ। सिँढी मार्गबाट दुई घण्टा पैदल यात्रामा नुवाकोट पुग्न सकिन्छ।

होटेल व्यवसायी माधव नेपालले नुवाकोटमा बन्दै गरेको संरचनाले यस क्षेत्रको पर्यटकीय विकासमा ठुलो टेवा पुग्ने बताए।  नुवाकोटमा जितगढी युद्धको झल्को दिने गरी कुनै पनि कला देखाउन सके पर्यटकको आकर्षण बढ्न सक्ने नेपालको अपेक्षा छ। 

९ फागुन, २०७७, १६:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।