‘चिसो मौसममा रुघाखोकी गराउने कोरोना भाइरसले बालबालिकालाई बढी सताउँछ’

‘चिसो मौसममा रुघाखोकी गराउने कोरोना भाइरसले बालबालिकालाई बढी सताउँछ’

जाडो महिनामा बालबालिकाहरू कोरोना भाइरसका प्रजातिहरूबाट प्रभावित हुन्छन्। बालबालिकामा ह्युमन कोरोना भाइरस देखिनु नौलो हैन। विशेष गरी प्रत्येक वर्ष जाडो मौसममा बालबालिकामा ह्युमन कोरोना भाइरसले बढी सताउँछ। 
 

सन् २०१८ को एक अध्ययन अनुसार नेपालमा श्वासप्रश्वासको समस्या भई अस्पताल भर्ना भएका ६ महिनाभन्दा कम उमेरका बालबालिकामध्ये ८ प्रतिशतमा ह्युमन कोरोना भाइरस देखिएको थियो। 

अध्ययन अनुसार ४६ प्रतिशत बालबालिकामा ह्युमन कोरोना भाइरससँगै अन्य श्वासप्रश्वासको समस्या गराउने भाइरस पनि देखिएका थिए। 

ह्युमन कोरोना भाइरसको समस्याले विशेष गरी जाडो मौसममा बालबालिकालाई सताउने गरेको छ। पुस˗माघमा यो समस्या बढी देखिन्छ।

ह्युमन कोरोना भाइरसको संक्रमण भएपछि शरीरमा रोगप्रतिरोधात्मक क्षमताको विकास हुन्छ, जसले गर्दा बालबालिकामा अहिले महामारीको रूपमा फैलिएको कोरोनाविरुद्ध लड्ने क्षमताको विकास भएकाले जटिल अवस्था नआएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। ह्युमन कोरोना भाइरसका कारण रोगप्रतिरोधात्मक क्षमताको विकास भएकैले बालबालिकालाई अहिले कोरोना भाइरसले कम प्रभावित बनाएको हो की भन्ने अनुमान गरिएको छ। 

चार भाइरस

कोरोना भाइरसलाई अल्फा, बेटा, गामा र डेल्टा गरी चार समूहमा वर्गीकरण गरिएको छ। मानिसमा अल्फा र बेटा कोरोना भाइरस देखिने गरेको छ। अल्फा कोरोना भाइरसअन्तर्गत २२९˗ई र एन एल˗६३ प्रजाति पर्छन्। 

त्यसैगरी बेटा कोरोना भाइरसअन्तर्गत ओसी˗४३, एचकेयु˗१, मर्स कोरोना भाइरस, सार्स कोरोना भाइरस, नोभेल कोरोना भाइरस (२०१९) पर्छन्। यी भाइरसहरू मानिसमा देखिसकेका छन्। यसले बालबालिकालाई सताउने गरेको छ। 

यी कोरोना भाइरसमध्ये चिसो मौसममा रुघाखोकी (कमन कोल्ड) गराउने कोरोना भाइरस २२९˗ई, एन एल˗६३, ओसी˗४३ र एचकेयु˗१ प्रजाति हुन्। यस्ता भाइरसले बालबालिकालाई नै बढी सताउँछ। 

चर्चा गरौं, यिनै चार कोरोना भाइरसका बारेमा, जसले बालबालिकालाई बढी सताउँछन्। 

२२९˗ई कोरोना 

२२९˗ई कोरोना भाइरसले विशेषगरी ६ देखि १२ महिना उमेर समूहका बालबालिकामा संक्रमण हुन्छ। अध्ययन अनुसार करिव ५० प्रतिशत यो उमेर समूहका बालबालिकालाई २२९˗ई कोरोना भाइरस संक्रमित भएको पाइन्छ। यस किसिमको भाइरसको प्रजातिले रुघाखोकी  लाग्नुका साथै निमोनियाको पनि जोखिम हुन्छ। अन्य कुनै रोगको संक्रमण भएको अवस्थामा यो भाइरसले आक्रमण गर्यो भने थप कडा भई जटिलता निम्तने जोखिम बढ्छ। 

एन एल˗६३ कोरोना 

एन एल˗६३ कोरोना भाइरस सन् २००४ को अन्त्यतिर नेदरल्याण्डमा पहिलो पटक सात महिनाको बच्चामा देखा परेको थियो। सो बच्चाको आँखा रातो हुने, ज्वरो आउने र छातीमा समस्या देखिएपछि अनुसन्धानका क्रममा बच्चामा यो भाइरस पत्ता लागेको हो। 

अध्ययन अनुसार यो भाइरसको संक्रमण भएको अवस्थामा ज्वरो आउने, खोकी लाग्ने, नाकबाट पानी बग्ने जस्ता लक्षण तथा समस्या बढी हुने गरेको पाइन्छ। अध्ययन अनुसार एन एल˗६३ कोरोना भाइरस विशेष गरी चिसो मौसममा देखिन्छ। तर, चीन, हङकङ जस्ता मुलुकमा गर्मी मौसममा पनि यो भाइरसले सताउने गरेको छ। 

ओसी˗४३ 

ओसी˗४३ कोरोना भाइरस सन् १९६० को दशकमा पहिलो पटक पत्ता लागेको थियो। यो भाइरसको संक्रमण भएको अवस्थामा रुघा, खोकी लाग्ने जस्ता लक्षण देखिन्छन्। सन् २००१ मा फ्रान्समा यो भाइरसको संक्रमण हुँदा पेट दुख्ने, झाडापखाला लाग्ने जस्ता पेटसँग सम्बन्धित समस्या पनि देखिएको थियो। फ्रान्समा भएको सो संक्रमणमा करिव ५७ प्रतिशत बालबालिकामा बान्ता हुने, वाकवाकी लाग्ने जस्ता लक्षण देखिएका थिए। ओसी˗४३ कोरोना भाइरसको संक्रमण भएको अवस्थामा निमोनिया भई छातीमा जटिलता समेत निम्तने जोखिम हुन्छ।

एचकेयु˗१ 

एचकेयु˗१ कोरोना भाइरस सन् २००४ मा पहिलोपटक हङकङमा देखिएको थियो। यस किसिमको कोरोना भाइससको संक्रमण भएको अवस्थामा सामान्य रुघाखोकीदेखि निमोनियासम्मको जोखिम हुन्छ। अन्य कोरोना भाइरसको तुलनामा यसले बालबालिकामा अझ बढी सताउँछ। ज्वरो बढी आए अचेत हुने जोखिम हुन्छ। चीनबाट हङकङ फर्किएका एक ७१ वर्षीय वृद्धमा श्वासप्रश्वासको समस्या आएपछि उनी अस्पताल भर्ना भएका थिए। अस्पताल भर्ना भएका ती वृद्धको उपचारका क्रममा उनमा एचकेयु˗१ कोरोना भाइरसको संक्रमण भएको पत्ता लागेको थियो। तर, हङकङ, अस्ट्रेलिया, अमेरिकाजस्ता मुलुकमा गरिएको अनुसन्धानमा भने यो भाइरस सामान्यतः बालबालिकामा बढी देखिएको पाइन्छ। 

बच्ने उपाय

यस्त ह्युमन कोरोना भाइरसबाट बच्न बालबालिकालाई चिसोबाट बचाउनुुपर्छ। बालबालिकालाई न्यानो ठाउँमा राख्नुपर्छ। न्यानो लुगा लगाउनुपर्छ। तातो खानपान गराउनुपर्छ। चिसो तथा बासी खानपान गराउनु हुँदैन। स्तनपानको सट्टा बट्टामा हाले दुध खुवाउनु उचित हुँदैन। प्रशस्त झोलिलो पदार्थ सेवन गराउनुपर्छ। यो समस्याको विशेष औषधि हुँदैन। लक्षणको आधारमा उपचार गरिन्छ। विशेष औषधि छैन। 

(उकेराकर्मी उपेन्द्र खड्काले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. पुनसँग गरेको कुराकानीमा आधारित)
 

२२ पुस, २०७७, ०९:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।