कोरोनाकालमा सामाजिक संघसंस्थाले भित्र्याए साढे एक अर्ब

कोरोनाकालमा सामाजिक संघसंस्थाले भित्र्याए साढे एक अर्ब

संकटको समयमा सामाजिक संघसंस्थालाई गुहार्ने प्रचलन नौलो होइन। कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो लहरको अवस्थामा पनि सामाजिक संघसंस्था सक्रिय बनेका छन्। 

सामाजिक संघसंस्थाको परिचालन तथा अनुगमन गर्ने निकाय समाज कल्याण परिषद्का अनुसार कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि गत वैशाख १९ मा कोरोना रोकथाम, नियन्त्रण, राहत तथा प्रतिकार्यको योजनामा काम गर्न सामाजिक संघसंस्थालाई आह्वान गरिएको थियो।  

त्यसयता राष्ट्रिय गैह्रसरकारी संस्था (एनजिओ) र अन्तर्राष्ट्रिय ग्रैह्रसरकारी संस्था (आइएनजिओ)ले करिव साढे एक अर्बको कोभिड लक्षित विभिन्न कार्यक्रम नेपाल भित्र्याएका छन्। 

परिषद्ले उनीहरूको परियोजनालाई निश्चित गरी स्थानीय तहसँगको समन्वयमा कार्यक्रम सञ्चालन गर्न सहजीकरण गरिदिएको छ। 

परिषद्का सूचना अधिकारी दुर्गाप्रसाद भट्टराई कोरोनाको दोस्रो लहर सुरु भएसँगै कोरोना लक्षित कार्यक्रमका लागि आह्वान गरिएको बताउँछन्। 

परिषद्ले यसका लागि परिषद्सँग स्वीकृति लिई सञ्चालनमा रहेका परियोजनाको बजेटबाट निश्चित प्रतिशत रकमान्तर गरेर कोभिड लक्षित कार्यक्रम गर्न भनेको थियो। ‘संघसंस्थाको बजेटको आकार अनुसार ५ देखि २० प्रतिशतसम्म रकम रकमान्तर गर्ने गरी परिषद्ले स्वीकृति दिएको थियो। 

‘पछिल्लो समय नयाँ कार्यक्रमका लागि पनि आह्वान गरिएको थियो,’ परिषद्का सूचना अधिकारी भट्टराई भन्छन्, ‘यी संस्थाले पुराना कार्यक्रम र नयाँ गरी करिव डेढ अर्बभन्दा बढीको कोभिड लक्षित विभिन्न कार्यक्रम नेपाल भित्र्याएका छन्।’

सामाजिक संस्थाका राहत वितरण र कार्यक्रम कार्यान्वयनका सन्दर्भमा यसअघि धेरै गुनासो आउने गरेको थियो। तर, यो समयमा यी संस्थाका कामलाई लिएर परिषद्मा कुनै गुनासो नआएको भट्टराई बताउँछन्। 

‘यसअघि धेरै गुनासा आउँथे। पछिल्लो समय कुनै पनि माध्यमबाट केही गुनासो आएको छैन। खाली प्रशंसा मात्रै आएको छ,’ उनले उकेरासँग भने।

२०९ ग्रैह्रसरकारी संस्था सक्रिय

परिषद्का अनुसार कोरोनाको दोस्रो लहरसँगै कोभिड प्रतिकार्यका २०९ संस्थाले विभिन्न योजनामा काम गरिरहेका छन्। 

तथ्यांक अनुसार एनजिओले १ अर्ब १६ करोड २ लाख ६२ हजार ३ सय १५ रूपैयाँ बराबरको योजना भित्र्याएका छन्। त्यस्तै, आइएनजिओले ८८ करोड ७८ लाख ७ हजार ५ सय १५ रूपैयाँ बराबरको योजनामा काम गरिरहेका छन्।

यी योजनामा सबैभन्दा बढी प्राथमिकता स्वास्थ्य क्षेत्रमा र क्रमशः खाद्य सुरक्षा, विपद व्यवस्थापन, आवास निर्माण तथा सरसफाइ र शिक्षालाई राखिएको छ।

‘राहतको ५० प्रतिशत हिस्सा एनजिओ/आइएनजिओको’

राष्ट्रिय गैह्रसरकारी संस्थाहरूको छाता संगठन एनजिओ फेडेरेसन अफ नेपालका अध्यक्ष जिवराम लामा संकटको समयमा सामाजिक संघसंस्था सक्रियरूपमा लागिरहेको बताउँछन्। आफूहरू अन्तर्राष्ट्रिय स्तरबाट दाता जुटाउनेदेखि समुदायस्तरसम्म सहयोग पुर्याउन लागिपरेको उनको भनाइ छ। 

अध्यक्ष लामा नेपालमा वितरण भइरहेको राहतको करिव ५० प्रतिशत हिस्सा सामाजिक संघसंस्थाले ओगटेको तथ्यांक रहेको बताउँछन्। 

‘हामी संकटको समयमा पनि सक्रियरूपमा काम गरिरहेकै छौं। हामीले धेरै नै काम गरिरहेका छौं,’ उनी भन्छन्, ‘राहत वितरणको करिव करिव ५० प्रतिशत हिस्सा सामाजिक संघसंस्थाहरूकै तर्फबाट भएको तथ्यांक आएको छ।’

उनी अक्सिजन सिलिण्डर अक्सिजन कन्सन्ट्रेटरको व्यवस्थापन, अक्सिजन प्लान्ट निर्माणमा सामाजिक संघसंस्था लागिपरेको बताउँछन्। 

यसका  साथै माक्स, सेनिटाइजर, विभिन्न मेडिकल सामग्री सहयोगका लागि गाउँघर र समुदाय स्तरसम्म जाने गरी व्यापकरूपमा सामाजिक संघसंस्था परिचालन भइरहेको उनकाे भनाइ छ।

‘सरकारले पनि भन्सारमा सजिलो बनाइदिएको छ। कार्यक्रम स्वीकृति, बजेटका विषयमा सहज बनाइदिएको छ,’ उनी भन्छन्। 

परिषद्ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेको प्राथमिकताका क्षेत्रमा केन्द्रित हुने गरी ती संस्थाका कार्यक्रमलाई सहजीकरण गरिएको छ। यसका लागि सातै प्रदेशमा कोभिड प्रतिकार्य समूह गठन गरी राहत वितरणलाई प्रभावकारी बनाइएको परिषद्को भनाई छ।

स्वास्थ्य सामग्री सहयोग

परिषद्को तथ्यांक अनुसार यी संस्थाले अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएका छन्। 

तथ्यांक अनुसार १ लाख ४ हजार ८ सय ६७ पिपिई, ८२ हजार ४ सय ५० आइसोलेसन किट, २ हजार ४ सय ५ अक्सिमिटर, १ लाख ७ हजार २ सय ६३ एन्टिजेन टेस्ट किट, ७  हजार ७ सय ५० आरडिटी टेस्ट किट, ३ हजार २ सय ५८ अक्सिजन सिलिण्डर, ८ अक्सिजन प्लाण्ट र ८ सय १३ अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएका थिए।

त्यस्तै, १० लाख ३६ हजार १ सय ३८ स्वास्थ्य सामग्री प्याकेट, ८ लाख ३८ हजार ९ सय ९ फेस सिल्ड, २५ हजार ९ सय ७३ खाद्यान्न प्याकेज, ५ लाख २० हजार ५ सय १८ ह्याण्ड स्यानिटाइजर, ८ लाख २२ हजार ६ सय ५५ ग्लोब्सलगायत स्वास्थ्य सामग्री उपलब्ध गराएको परिषद्को तथ्यांकले देखाउँछ। 

कस्ता योजनामा काम भइरहेका छन्?

परिषद्का अनुसार सामाजिक संघसंस्थाले तत्कालीन र दीर्घकालीन योजना सञ्चालन गरिरहेका छन्। 

तत्कालीनरूपमा अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् भने दीर्घकालीनरूपमा कोरोनापछिको कृषि, रोजगार, शिक्षा, स्वास्थ्य, सचेतना अभियान, आवास निर्माण लगायतका योजना स्वीकृत गरी काम गरिरहेका छन्।

परिषद्का अनुसार तत्काल डिसइन्फेक्सन, अक्सिजन प्लान्ट निर्माण, उपचारमा सहयोग, आइसोलेसन निर्माण, राहत वितरण लगायतका कार्यक्रम स्वीकृत भई कार्यान्वयनको चरणमा छन्। 

दीर्घकालीन प्रकृतिका कार्यक्रममा भने कोरोना संक्रमणको असर देखिएको छ। 
 

२ असार, २०७८, ००:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।