अर्थमन्त्रीले आफ्नो निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशलाई बजेटमा दिए प्राथमिकता

अर्थमन्त्रीले आफ्नो निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशलाई बजेटमा दिए प्राथमिकता

बुटवल : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/०८९ का लागि प्रस्तुत गरेको बजेटमा आफ्नो निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छन्। 

उनले आगामी वर्षको बजेटमा आफ्नो निर्वाचन क्षेत्र रहेको जिल्ला रूपन्देहीलाई पनि प्राथमिकता दिएका छन्। बजेटमा रूपन्देहीमा नयाँ योजना खासै नपारे पनि पुराना योजनालाई निरन्तरता दिइएकोब छ। 

अर्थमन्त्री पौडेलले रूपन्देहीमा राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि ३ अर्ब ५३ करोड बजेट बिनियोजन गरेको बताए। 

दोस्रो टर्मिनल भवनसँगै विमानस्थलको निर्माण सम्पन्न गर्न उक्त बजेट विनियोजन गरिएको अर्थमन्त्री पौडेलको भनाइ छ। 

विमानस्थल दोस्रो टर्मिनल भवन बनाउने प्रक्रिया सुरु भइसकेको छ। 

यस्तै, बहुप्रतिक्षित तीन दशक पुरानो लुम्बिनी गुरुयोजनाको बाँकी काम पूरा गर्नका लागि १ अर्ब ५० करोेड रकम विनियोजन गरेको उनले बताए। 

अर्थमन्त्री पौडेलका अनुसार बजेटमा लामो समयदेखि पूरा हुन नसकेको लुम्बिनी गुरुयोजना आगामी दुई वर्षभित्र पूरा गर्ने प्रतिबद्धतासहित बजेट विनियोजन भएको छ। त्यसैगरी, बजेटमा बुटवल–भैरहवा मेघा सिटी र सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि बजेट विनियोजन गरिएको भएको अर्थमन्त्री पोडेलले बताए। 

अर्थमन्त्रीले यो क्षेत्रका हरेक कार्यक्रममा आउँदा लुम्बिनी विकास गुरुयोजनाको क्षेत्रलाई प्राथमिकताका साथ उठाउँदै आएका छन्। 
आगामी आर्थिक वर्षको बजेटमा लुम्बिनीसँग जोडिएका पुरातात्त्विक क्षेत्र कपिलवस्तुको तिलौराकोट, रूपन्देहीको देवदह र नवलपरासीको रामग्रामलाई समेटेर बृहत्तर लुम्बिनी गुरुयोजना बनाउन १ अर्ब ५० करोड विनियोजन गरिएको छ। 

अर्थमन्त्री पौडेलले भौतिक पूर्वाधार विकास, पर्यटन, उद्योग, स्वास्थ्य, पूर्वाधार, खानेपानी, खेलकुद लगायतका क्षेत्रका केही पुराना योजनामा बजेट छुट्याएका छन् भने केही नयाँ योजना थपिएका छन्। 

केही महिनाअघि शिलान्यास भएको रूपन्देहीको मोतिपुर औद्योगिक क्षेत्र दुई वर्षमा पूरा गरिने बजेटमा उल्लेख छ। रूपन्देहीको तिलोत्तमामा बन्ने बुटवल मेडिकल कलेजको डिपिआर पूरा गरी निर्माण सुरु गर्ने, रूपन्देहीको बेलहियामा मालवाहक गाडी पार्किङ गर्न ‘पार्किङ ग्राम’ बनाउने योजना बजेटमा उल्लेख गरिएको छ। 

केही दिनअघि मात्रै ग्लोबल टेण्डर आह्वान भएको सिद्धबाबा क्षेत्रको सुरुङमार्ग निर्माण गर्न, सिद्धार्थ राजमार्गलाई डेलिकेटेड राजमार्ग बनाउन, बुटवल–कोहलपुर सडकलाई चार लेनको बनाउन बजेट विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताएका छन्। 

यस्तै, बजेटमा भैरहवामा क्रिकेट मैदान, नवलपरासीको त्रिवेणीदेखि देवघाटसम्म जलमार्ग, सिद्धार्थनगरमा सडक, ढल, खानेपानीका लागि पूर्वाधार बनाउन बजेट विनियोजन भएको छ। बुटवल–भैरहवा–लुम्बिनीमा विद्युतीय बस चलाउन अनुदान दिने र बुटवलमा विद्युत् तार भूमिगत गर्ने योजना पनि बजेटमा छ। 

बुटवल र सैनामैनाको सीमानामा रहेको कर्साघाट कृषि योजनालाई राष्ट्रिय योजनामा समावेश गरी बजेट विनियोजन गरिएको छ भने दक्षिणी सीमानामा रहेको लुम्बिनी सांस्कृतिक नगरपालिकामा सहरको विकास गर्ने योजना बजेटमा समावेश छ।

यसैगरी, कालीगण्डकी–तिनाउ डाइभर्सनको डिपिआर आउँदो वर्ष पूरा गरेर काम सुरु गर्ने विषयले पनि बजेटमा महत्त्व पाएको मन्त्री पौडेलले बताए। 

रूपन्देहीसहित लुम्बिनी प्रदेशमा अन्य महत्त्वपूर्ण आयोजनालाई विशेष प्राथमिकतामा राखेर बजेट छुट्याएको छ। सिँचाई र जलविद्युतका लागि महत्त्वपूर्ण मानिने नौमुरे जलविद्युत आयोजना, तिनाउ नदी नियन्त्रणका लागि पनि बजेट छुट्याइएको अर्थमन्त्री पौडेलले बताए। 

साथै लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा पूर्वाधार बनाउन पनि आवश्यक बजेट विनियोजन गरिएको छ।

अर्थमन्त्री पौडेलले पाल्पामा मौसम मापन गर्न राडर स्थापना गर्ने, प्रदेशमा भूमि बैंक स्थापना गरेर एक वर्षभित्र सञ्चालनमा ल्याउने, अंग्रेज फौजलाई हराएको बुटवलको जीतगढीलाई संरक्षण गरी विस्तृत अध्ययन गर्ने, लुम्बिनीमा सांस्कृतिक स्मार्ट सिटी, पश्चिम नवलपरासीको बर्दघाटमा ट्रमा सेन्टर स्थापना गर्ने जस्ता योजना बजेटमा समेटिएका छन्।

अर्थमन्त्री विष्णु पौडेलले हिजाे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सभाहलबाट बजेट सार्वजनिक गरेका थिए। 

प्रतिनिधिसभा विघटन भएकाले सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो। 

१६ जेठ, २०७८, १३:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।