विप्लव काठमाडौँमा, तस्बिर नवलपुरको

विप्लव काठमाडौँमा, तस्बिर नवलपुरको
तस्बिर : प्रकाश डुम्रेको फेसबुकबाट

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव नवलपुरको तस्बिर सार्वजनिक गरेर काठमाडौँ आएका छन्।

सरकारसँग भएको ३ बुँदे सहमतिको विस्तृत विवरण सार्वजनिक हुने कार्यक्रमका लागि विप्लव लु १ च २६६३ नम्बरको गाडीमा काठमाडौँ आएका छन्। उनी नवलपुरबाट सिधै नागढुङ्गा, बलम्वु हुँदै बालुवाटार पुग्दै छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न विप्लव बालुवाटार पुग्न लागेका हुन्। उनी नवलपरासीमा सार्वजनिक भएका थिए। प्रहरीले उनलाई स्कर्टिङ गरिरहेको छ।  

सहमतिको विस्तृत विवरण सार्वजनिक हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने भनिएको छ। 

उनी काठमाडौँ आउनु अघि प्रकाश डुम्रेले फेसबुकमा नवलपुरका सहिद परिवारसँग भेटघाट गरी भरखरै काठमाडौँ प्रस्थान गर्दै भनेर तस्बिर सार्वजनिक गरेका छन्। 

विप्लव दिउँसो २ बजे राष्ट्रिय सभा गृहमा पुग्नेछन्। ‘उनी कुन ठाउँमा बसेका छन्, चासोको विषय हो र?,’ नेपाल प्रहरीका प्रवक्ता वसन्त बहादुर कुँवरले भने, २ बजे राष्ट्रिय सभामा आउनेमा ढुक्क छौ।’

‘महासचिव विप्लवले नवलपुरमा सहिद परिवार भेटघाट गरी भर्खरै काठमाडौँ प्रस्थान गर्दै हुनुहुन्छ,’ बिहान ९ बजेतिर प्रकाश डुम्रेले फेसबुकमा लेखे, ‘सहिद–सप्ताहको अन्तिम दिन नवलपुरस्थित सहिद फूलमाया सारू ’रमा’ को परिवारलाई भेटघाट गर्दै महासचिव क.विप्लव।’

डुम्रे जन पत्रकार सङ्गठन नेपालका पूर्व अध्यक्ष हुन्।

२१ फागुन, २०७७, ११:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।