संयुक्त आन्दोलनमा काँग्रेसको सर्त : दाहाल–नेपाल समूहले कित्ता क्लियर गर्नुपर्छ

संयुक्त आन्दोलनमा काँग्रेसको सर्त : दाहाल–नेपाल समूहले कित्ता क्लियर गर्नुपर्छ

काठमाडौँ : नेपाली काँग्रेसले संयुक्त आन्दोलनको सर्त नेकपा दाहाल–नेपाल समूहले कित्ता क्लियरलाई अगाडि सारेको छ। नेकपा दाहाल–नेपाल समूहका प्रमुख नेता पुष्पकमल दाहालले बुधवार सार्वजनिक मञ्चबाटै काँग्रेसलाई आन्दोलनमा सहकार्यको प्रस्ताव गरेका थिए।

यसप्रति काँग्रेसको धारणा के ? उकेरासँग नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता विश्वप्रकाश शर्माले तत्काल संयुक्त आन्दोलन सम्भव नभएको बताए।

पौडेलले न्यायालयप्रति विश्वास रहेको बताउँदै तत्काल नेकपा दाहाल–नेपालसँग संयुक्त आन्दोलन आवश्यक नभएको बताए। प्रवक्ता शर्माले सत्तामा पनि उही दलको समूह अनि सडकमा पनि उही समूह भएसम्म आन्दोलनमा सहकार्य हुन नसक्ने बताए।

‘अदालतले संविधानअनुसार फैसला गर्छ भन्ने विश्वास छ,’पौडेलले उकेरासँग भने‘ मुख्य कुरा दु:ख गरेर ल्याएको संविधान कुल्चन दिनु भएन।’ त्यसैले अहिले संयुक्त आन्दोलनको आतुरी परिसकेको देखिँदैन। ’

‘साझा आन्दोलन सही छ तर, सत्तारुढ दलको एउटा हिस्सा सरकारमा छ, यसको अर्को टुक्रा सडकमा,’ शर्माले भने‘ प्रस्टसँग उहाँहरूको कुरो क्लियर भइसकेपछि संयुक्त आन्दोलनको कुरो हुन्छ।’

ओलीको कदम असंवैधानिक

पौडेलले संविधानमा कहिकतै विघटन गर्ने अधिकार नभएकाले प्रधानमन्त्री ओलीले संविधानलाई कुल्चेको बताए।

‘यो देशमा प्रधानमन्त्री, राष्ट्रपतिले संविधान मान्न नपर्ने ? सर्वोच्च अदालतका न्यायाधीशहरुले पनि नमान्ने हो भने संविधान कसले मान्ने ? उनले भने 'सर्वोच्च अदालतका न्यायमुर्तिहरु त्यति धेरै गैर जिम्मेवार बन्छन् भन्ने विश्वास छैन।’

उनले अझै सर्वोच्च अदालतले अन्यथा निर्णय नगर्नेमा काँग्रेसलाई विश्वास रहेको बताए।

काँग्रेसले सुरुदेखि नै विघटन असंवैधानिक, अलोकतान्त्रिक भनेर आन्दोलन गरिरहेको पौडेलले उल्लेख गरे। यदि संयुक्त आन्दोलन आवश्यक परेमा पार्टीमा छलफल गरेर टुङ्गोमा पुग्न कुनै समय नलाग्ने उनको तर्क छ।

नेकपा दाहाल–नेपालले कित्ता क्लियर गर्नुपर्छ : प्रवक्ता शर्मा 

नेपाली काँग्रेसले प्रतिनिधि सभा विघटन असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्ताबाट उन्मुख हो भन्नेहरूबिच साझा धारणा बनाउन पहल गरेको शर्मा बताउँछन्।

पुस ६ गते ओलीले विघटनको निर्णय विरुद्ध साझा धारणा बनाउन दाहाल–नेपाल समूहलाई पार्टी कार्यालय सानेपामा छलफल गरेको थियो। 

‘विघटन असंवैधानिक,अलोकतान्त्रिक र सर्वसत्ताबाट उन्मुख कदमविरुद्ध साझा धारणा बनाउन काँग्रेसले नै पहल गरेको हो,’ प्रवक्ता शर्माले उकेरासँग भने‘आन्दोलन संयुक्त गर्न दाहाल–नेपाल समूह क्लियर भएर आउनुपर्छ।’

नेपाल कम्युनिस्ट पार्टीको एउटा गुट सत्तामा र अर्को सडकमा रहेको भन्दै उनले भने, ‘उनले नेकपा नै प्रस्ट नभएकाले काँग्रेस अहिले संयुक्त आन्दोलन गर्ने-नगर्ने टुङ्गोमा नपुगेको बताए।

‘संयुक्त, नसंयुक्त जे भने पनि प्रधान कुरा आन्दोलन हो,’ उनले भने‘विघटनको निर्णय विरुद्ध काँग्रेस सुरुदेखि आन्दोलनमा छ, फागुन ३ गते ७७ जिल्लामा विरोध प्रदर्शन गर्दै छ।’

२८ माघ, २०७७, २२:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।