उकेरा फिचर

छाला चम्काउने पानी

डा. डीबी सुनुवार


तस्बिर : गेट्टी इमेज।

व्यक्ति स्वस्थ तथा सुन्दर रहनका लागि छाला स्वस्थ हुन आवश्यक छ। छाला अस्वस्थ भएको अवस्थामा छालामा विभिन्न किसिमका समस्या हुन्छन्। विशेषगरी जाडो मौसममा छाला खस्रो हुने, फुट्ने, रुखो हुने, एलर्जी आउने जस्ता समस्या निम्तन्छन्, जसले गर्दा शारीरिक मात्रै होइन, मानसिक तनाव पनि निम्तने जोखिम हुन्छ। 

त्यसैले छाला स्वस्थ तथा सुन्दर कायम राख्नका लागि कस्तो पानी प्रयोग हुँदैछ भन्ने कुराले पनि प्रभाव पारेको हुन्छ। विशेषगरी गाउँघरतिर बिहानै चिसो पानीले नुहाउने चलन हुन्छ।  तर, चिसो पानीले नुहाउनु छालाका लागि उचित हुँदैन। चिसो पानीले नुहाउँदा छालामा समस्या उत्पन्न हुन सक्छ। 

विशेषगरी जाडो मौसममा चिसो पानीले नुहाउनु उचित हुँदैन। शारीरिक लाभका लागि मात्रै होइन, मानसिक स्वास्थ्यका हिसाबले पनि चिसो पानीले ननुहाउनु नै उचित हुन्छ। जाडो मौसममा मनतातो पानीले नुहाउनु नै लाभदायक हुन्छ। तातो पानीले नुहाउने भन्दैमा छाला नै पोल्ने किसिमको तातो पानीले नुहाउनु पनि हुँदैन। बढी तातो पानीले नुहाउँदा छाला तात्छ। छाला तात्दा छालामा भएको पानीको मात्रा बाफ बनेर उड्छ, जसले गर्दा छाला सुख्खा हुन सक्छ। यसरी हेर्दा मनतातो पानीले नुहाउनु नै लाभदायक देखिन्छ। त्यसो त लामो समय लगाएर नुहाउनु पनि हुँदैन। 

छाला चम्काउन तातो पानी 

त्यसै पनि जाडो मौसममा शारीरिक तापक्रम कम हुन्छ। शरीरको तापक्रम नै कम भएको अवस्थामा शरीरका नसा तथा मांशपेशी खुम्चन्छन्, जसले गर्दा रक्तसञ्चारमा असहजता उत्पन्न हुन्छ। श्वासप्रश्वासमा समेत समस्या उत्पन्न हुन सक्छ। 

शरीर चिसो भएको अवस्थामा रगत बाक्लिन्छ। यसरी रगत बाक्लो हुने तथा रक्तप्रवाहमा असहजता हुँदा शरीरमा पोषणको अभाव हुन्छ, जसले गर्दा व्यक्ति शारीरिक तथा मानसिक रूपमा कमजोर हुन्छ। त्यति मात्रै होइन, शरीरका मांशपेशी तथा छालामा आवश्यक पोषण नपुग्दा छालामा विभिन्न किसिमका एलर्जी तथा घाउ खटिराको समस्या हुन्छ। यसले सुन्दरतामा त असर गर्ने नै भयो। त्यसैले ज्यान तात्न आवश्यक हुन्छ। 

चिसो मौसममा छाला खुम्चन्छ। यस्तो अवस्थामा रक्तसञ्चार असहज बन्न सक्छ, जसले छालामा अक्सिजनको मात्रा समेत कम हुन्छ। छालामा रक्तसञ्चार तथा अक्सिजनको मात्रा कम हुँदा छालामा पोषण तत्व कम हुन्छ। छालामा पोषणको अभाव हुँदा छालाका कोषिकाको मृत्यु हुन्छ। कोषिकाकै मृत्यु भएको अवस्थामा छाला सुख्खा हुने, रुखो हुने, फुस्रो हुने जस्ता समस्या निम्तन्छन्। विशेषगरी अनुहारमा यस्तो समस्या बढि हुन्छ। 

विशेषगरी जाडो मौसममा शरीर सुख्खा हुँदा छालामा यस्तो समस्या बढी देखिन्छ। त्यसमाथि पनि चिसै पानीले नुहाउँदा त झन् छालामा विभिन्न किसिमका समस्या बढ्छन्। जाडो मौसममा चिसै पानीले नुहाउँदा छाला मात्रै होइन, शरीर नै झन् कुपोषित हुन्छ। शरीर नै कुपोषित भएको अवस्थामा छाला अस्वस्थ बन्छ। छालाको चमकता हराउँछ। 

छालामा समस्या हुँदा शारीरिक तथा मानसिक समस्या पनि निम्तन्छ। तातो पानीले नुहाएको अवस्थामा शारीरिक तापक्रम बढ्छ, सन्तुलनमा आउँछ। छाला न्यानो हुन्छ। रक्तप्रवाहमा सहजता हुन्छ। मनमा आनन्द हुन्छ। यसले शारीरिक मात्रै होइन, मानसिकरूपमा पनि आनन्द मिल्छ। न्यानो महसुस हुन्छ। मनमा आनन्द हुँदा ‘सेरोटोनी’, ‘डोपामिन’ जस्ता हार्मोनको सक्रियता हुन्छ। यी हार्मोन सक्रिय हुँदा मनमा खुसी छाउनुका साथै आनन्द मिल्छ। मनमा आनन्द हुँदा व्यक्तिको सुन्दरतामा थप सहज हुन्छ। त्यसैले विशेषगरी जाडो मौसममा मनतातो पानीले नुहाउनु नै उचित हुन्छ। नेपाल सिन्धुपाल्चोकको तातोपानीमा नुहाउन जाने चलन प्रसिद्ध छ। 

विकार पखाल्न बेलुका नुहाऔं

सामान्यतः बिहानको समयभन्दा बेलुका नुहाउनु नै लाभदायक हुन्छ। दिनभरी व्यक्ति शारीरिक तथा मानसिकरूपमा सक्रिय भएको हुन्छ, जसले शरीरमा विभिन्न किसिमका धुलो–धुवाँ तथा विकार तत्त्व टाँसिन्छन्। पसिना निस्कन्छ। पसिनाका माध्यमबाट पनि शरीर बाहिर विकार तत्त्व निस्किएर टाँसिएका हुन्छन्। त्यसैले बेलुका नुहाउँदा दिनभरी छालामा टाँसिएका विकार तत्त्व पखालिन्छ। त्यसैले बेलुकाको समयमा नुहाउनु नै उचित हुन्छ। शारीरिक तथा मानसिकरूपमा स्वस्थ रहनका लागि बेलुका सुत्नुअघि नुहाउनु नै उचित हुन्छ। व्यक्ति स्वस्थ भएको अवस्थामा राम्रोसँग निदाउन सकिन्छ। यसले दैनिक काममा सकारात्मक ऊर्जा मिल्छ। कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारीको संक्रमणको यो अवस्थामा पनि नुहाएर घरभित्र छिर्नु नै उचित हुन्छ। 

त्यसो त बिहान नुहाउन हुँदैन भन्न खोजिएको पनि हैन। बिहानको समयमा नुहाएको खण्डमा केही कुरामा भने ध्यान दिन आवश्यक छ। बिहान नुहाउने भन्दैमा उठ्नेबित्तिकै भने नुहाउनु हुँदैन। उठ्नेबित्तिकै नुहाउन हुँदैन भन्नुको पनि कारण छ। बिहान उठ्ने समयमा शरीरका अंग तथा प्रणालीहरू सुषुप्त अवस्थामा हुन्छ। एक हिसाबले भन्नुपर्दा बिहानै शरीरको व्यायाम नै भएको हुँदैन। त्यसैले शारीरिक तथा मानसिकरूपमा असहजता महसुस हुन्छ। यसरी शरीर सुषुप्त भएको अवस्थामा नुहाउँदा प्रभावकारी हुँदैन। नुहाउँदा हुने लाभ पनि कम हुन्छ। त्यसैले उठेर करिव एक घण्टा शरीर तन्काएर वामअप गरेपछि नुहाउनु लाभदायक हुन्छ। 

छालामा जडीबुटीको सुगन्ध

नुहाउँदा साबुन तथा स्याम्पुको प्रयोग गर्ने सवालमा पनि विचार पुर्याउनुपर्छ। रसायनिक तत्त्व भएका साबुन तथा स्याम्पुको प्रयोग नगर्नु नै उचित हुन्छ। हुन त बजारमा धेरैजसो रसायनयुक्त साबुन तथा स्याम्पु नै पाइन्छन्। नुहाउँदा रसायनयुक्त साबुन तथा स्याम्पुको प्रयोग गर्नाले छालामा नकारात्मक असर गर्न सक्छ, जसले छालाको सुन्दरतामा समेत असर नगर्ला भन्न सकिन्न। त्यसैले छालाको चमकता कायम राख्न प्राकृतिक वनस्पति तथा जडीबुटीबाट बनाइएका साबुन तथा स्याम्पुको प्रयोग गर्नु नै उचित हुन्छ।

त्यसो त तातोपानीमा विभिन्न किसिमका सुगन्धित वनस्पति तथा जडीबुटीको तेल हालेर पनि नुहाउन सकिन्छ। यस्तो तेलको प्रयोग गर्र्दा एकातर्फ छाला स्वस्थ हुनुका साथै छालामा चमकता हुन्छ। र, सुगन्धित तेलले गर्दा मनमा पनि आनन्द मिल्छ। 

नुहाएपछि मोस्चराइजर

छाला सुख्खा हुन नदिन नुहाएपछि मोस्चराइजर प्रयोग गर्नु उचित हुन्छ। नुहाउने क्रममा छालामा भएको पानीको मात्रा उडेर जान सक्छ। पानीको मात्रा उडेर जान नदिनका लागि मोस्चराइजर प्रयोग गर्नु उचित हुन्छ, जसले छाला सुख्खा हुनबाट बच्न सकिन्छ। त्यति मात्र होइन, छाला सुख्खा हुन नदिनका लागि बदाम, ओलिभ ओयल, नरिवल लगायतको तेलको प्रयोग गर्न सकिन्छ। 

(डा. सुनुवारसँग उकेराकर्मी उपेन्द्र खड्काले गरेको कुराकानीमा आधारित)
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

७० वर्षमा डिग्री, अब पिएचडीको सुरसार

छोरीलाई विद्यालय टेक्नै नदिने समाजमा हुर्किएकी नानीमैयालाई सानैदेखि पढाइको भोक थियो। दाइ–भाइ स्कुल गएको देख्दा उनलाई आफूले पढ्न नपाएकोमा चिन्ता लाग्थ्यो। दाइहरुले पढेको देख्दा नानीमैया....

ड्रेस सेन्स फैलाउने धाख्वा

पुस्ताले केवल व्यापारको रूपमा मात्र लिएको कपडामा उनी सृजना खोज्न थाले। कपडामा कला थप्ने मोहमा घोत्लिँदा घोत्लिँदै उनमा फेसन डिजाइनिङ भन्ने पढ्न नि पाइन्छ भन्ने....

भुटानी शरणार्थीका दुख : ‘अमेरिका पुगेका छोराछोरीले सोधखोज नै गरेनन्’

४ छोरा अमेरिका पुगेको ५ वर्ष भयो। उनीसँगै बसेका एक भाइको उच्च रक्तचापका कारण यहीँ माघ १ गते निधन भयो। प्रेमभाव दर्साउने दिल छियाछिया भएका....

तरकारी खेतीमा सुब्बासा’ब

त्यसपछि उनी बिहानको ९ नबजुन्जेल करेसाबारीमा तरकारी गोडमेल र स्याहारमा खटिन्छन्। अहिले भने उनलाई तरकारी बेच्न भ्याइनभ्याइ छ। कारण हो– तरकारीको सिजन सुरु हुनु। 

कार्नेसन खेतीमा सोख

उनको कार्नेसन खेतीबाट हुने आम्दानी पनि राम्रै छ। उनी भन्छन्, ‘महिनामा त्यस्तै एक लाख जति कमाइ हुन्छ।’  परिवारसँग बसेर राम्रै आम्दानी हुने देखेपछि उनले फूल....