स्क्रिन टाइमका खतरा  मोटोपन, डिप्रेसन, कमजोर शैक्षिक परीणाम

स्क्रिन टाइमका खतरा  मोटोपन, डिप्रेसन, कमजोर शैक्षिक परीणाम

निकै पछि जब तिनै भोजपत्रको पनि नक्कल हुन थाल्यो। यो देखेपछि ज्ञानको नक्कल हुने, मानिसको स्मृति कमजोर हुने केही दार्शनिकको थियो।तीमध्ये महान् दार्शनिक प्लेटो पनि एक थिए। उनले ईशापूर्व ३७० ताका लेखन कलाको आविष्कारले मानिसको स्मरणशक्ति कमजोर बनाउने कुरा आफ्ना सिर्जनामार्फत् व्यक्त गरेका थिए।

जब जब नयाँ मिडियाको विकास भएको छ, तब तब अगुवाहरूले मानिसको बानी बिग्रने भविष्यवाणी गर्दै आइरहेका छन्। चाहे त्यो प्रिन्टिङ मेसिनको आविष्कार होस् या रेडियो–टेलिभिजन, भिडियोदेखि कम्प्युटर गेमसम्म, ती सबै चिजलाई अभिभावकहरुले हियाउन, होच्याउनसम्म होच्याएका छन्।

स्मार्टफोनपछि त स्क्रिनको शक्तिशाली चुम्बकीय क्षमताका कारण अभिभावकहरु डराइरहेका छन्। तिनले मानिसका कयौँ शारीरिक गतिविधिलाई साँध लगाइसकेको छ।

तिनले बालबालिकाको जीवनलाई नयाँ आकारमा ढालिरहेका छन्। बालबालिकाले घोसेमुन्टो लगाएर स्क्रिनमा बढीभन्दा बढी समय दिएकाले नयाँ चिन्तामा अभिभावकहरू गलत छन् भन्न पनि सकिने अवस्था छैन किनभने द ग्रोइङ अप नामक बेलायती संस्थाले गरेको वृहद् अध्ययनबाट अधिकांश आफ्ना विद्यार्थीहरुमा ध्यान केन्द्रित गर्ने समस्या बढेको शिक्षकहरुले गुनासो गरेका छन्।

विद्यार्थीहरु कम संवेदनशील भइरहेको, भावनात्मक रुपमा उनीहरू बढी नै व्यवधानमा परिरहेको शिक्षकहरूको चिन्ता थियो।

बेलायतमा मात्र सामाजिक सञ्जाल तथा स्मार्टफोनका कारणले युवाहरुमा मानसिक स्वास्थ्यको समस्या बढिरहेको पुष्टि भइरहेको छ।

यस्तोमा अभिभावक, शिक्षक तथा सर्वसाधारणको चिन्ता कत्तिको जायज हो त ?

'स्क्रिन टाइम'को मुद्दा

संसारभरि नै पछिल्लो समय बन्दाबन्दी निकै हिट शब्द बन्न पुग्यो। यस अवधिमा समय काट्न के युवा, के बालबालिका, के वयस्क, सबै डिजिटल प्लेटफर्ममा घुइँचो लागे। हेर्दाहेर्दै स्क्रिनमा बढी समय बिताउने दर बढ्न पुग्यो । स्मार्टफोन र ट्याब्लेटको ‘बुम’मा पनि यस्तो अवस्था देखिएको थिएन।

सन् १९९० को दशकदेखि बालबालिकाहरुले स्क्रिन टाइम दोब्बरले वृद्धि भएको छ। अफकम नामक संस्थाले गरेको सर्भेअनुसार बेलायतमा पाँच देखि १५ वर्ष उमेर समूहका बालबालिकाहरुले दैनिक २ घण्टा ११ मिनेट अनलाइन बस्ने गरेका छन्। यस्तै एक घण्टा ५२ मिनेट त उनीहरुले टेलिभिजन मात्रै हेर्छन्।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स (एएपी) दुवै संस्थाले दुई वर्षभन्दा कम उमेर समूहका बालबालिकाहरुलाई मोबाइल वा टेलिभिजन हेर्ने बानी हानिकारक भएको बताउँछन्।

त्यस्तै दुईदेखि पाँच वर्ष उमेर समूहका बालबालिकाहरुले एक घण्टाभन्दा कम समय हेर्नु उपयुक्त हुने निर्देश दिएका छन्।६ देखि १० वर्ष उमेर समूहका बालबालिकाहरुलाई डेढ घण्टा मात्र हेर्न दिइनुपर्ने, ११ देखि १३ वर्षका बालबालिकालाई हरेक दिन बढीमा दुई घण्टा मात्र हेर्न दिइनुपर्ने धारणा राखेका छन्।

तर यी गाइडलाइनका पछाडि के कस्ता वैज्ञानिक कारण छन् भन्नेबारेमा कुनै स्पष्ट वैज्ञानिक कारण र धारणा छैन ।यस्तै बेलायतको रोयल कलेज अफ पेडियाट्रिक्स एन्ड चाइल्ड हेल्थ (आरसिपिसिएच)ले भने टेलिभिजन वा मोबाइलमा कति समय बिताउने भन्ने खास समय भने तोकेको छैन।

'स्क्रिन टाइम'का कुप्रभाव

बढीभन्दा बढी स्क्रिनमा समय बिताउने बालबालिकालाई के कति कारणले क्षति पुग्यो, उनीहरुलाई त्यसले ‘विषाक्त’ बनाइरहेको छ वा हानि पुगिरहेको छ भन्नेबारे अहिलेसम्म खास प्रमाण फेला परेको छैन। तर स्क्रिन टाइम बढी खपत गर्ने बालबालिकाहरुलाई हानि पुगिरहेकोमा भने सबैको एक मत छ।

डिजिटल कन्टेन्ट र यससम्बन्धी प्रविधि नयाँ भएका कारण सुदूर भविष्यसम्म यसले पार्ने प्रभावका बारेमा कुनै पनि संस्था निष्कर्षमा पुग्न सकेका छैनन्।

यसमा धेरै अनुसन्धान हुन बाँकी नै छ। मोबाइल, ट्याब्लेट, भिडियो गेम कन्सोल, डेस्कटप, ल्यापटपजस्ता सामग्रीमा डिजिटल कन्टेन्ट हेर्ने वा खेल्ने बानीलाई हिजोआज ‘स्क्रिन टाइम’ भन्न थालिएको छ।

यसमा स्कुले होमवर्कदेखि अश्लील फिल्म हेर्नुसम्मका क्रियाकलाप पर्छन्। यसमा यति धेरै विविधता छ कि विश्लेषण गर्न हम्मेहम्मे पर्न थालेको छ।

त्यसो त केही अध्ययन नभएका भने होइनन्। केही अध्ययनले बढी ‘स्क्रिन टाइम’ लिने बालबालिकामा मोटोपन बढाउने, डिप्रेसनको समस्या तथा कमजोर शैक्षिक परीणामजस्ता समस्या देखिएका छन्।

तर गरिब बालबालिकाहरुले बढी स्क्रिन टाइम लिने, उनीहरुले नै स्वास्थ्यवर्द्धक र पोषकतत्त्वयुक्त खानेकुरा कम पाउने, उनीहरुकै शैक्षिक गुणस्तरयुक्त पठनपाठन नहुनेजस्ता समस्यालाई 'स्क्रिन टाइम'कै दोष देखाउन नमिल्ने केही विज्ञको धारणा छ।

कुप्रभाव छैनन् त ?

बढीभन्दा बढी स्क्रिन टाइम खपत गर्ने बालबालिकाहरुलाई गम्भीर किसिमको समस्या आइपर्ने अध्ययन निष्कर्षहरू छन्। खासगरी सामाजिक सञ्जालमा साइबर बुलिङ, अनलाइन राक्षसहरुले बालबालिकाको अश्लील भिडियो बनाउनेदेखि लिएर अनेकन् समस्या अनलाइनका छन्।

यसैगरी स्क्रिनहरुबाट निस्कने नीलो प्रकाशले सुत्ने आनीबानीमा निकै बाधा पुर्याइरहेको छ। बालबालिका मात्र होइन, यसको चपेटामा वयस्कहरु समेत परेका छन्।

आरसिपिसिएचले भने यस्ता कुप्रभावको सिधा कारक तत्त्व सर्वसाधारणले त्याग्दै गएको ‘सकारात्मक गतिविधिहरु’ नै रहेको भनाइ छ।

बालबालिका होऊन् या वयस्क ‘सकारात्मक गतिविधि’ कम प्राथमिकतामा पर्ने गरेको छ। सकारात्मक गतिविधि भनेको सुत्नु, कसरतजन्य क्रियाकलाप गर्नु, खेल्नु, पढ्नु तथा सामाजिक अतरक्रियामा सक्रिय सहभागिता जनाउनु हो।

यस्ता कुराले मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यमा निकै सकारात्मक भूमिका खेल्छन्। जब यस्ता शारीरिक गतिविधिलाई स्क्रिनमा आधारित गतिविधिले विस्थापित गर्छन्, त्यो बेला एउटा ‘अवसरको मूल्य’ अवश्य चुकाउनु पर्छ ।

मस्तिष्कलाई पार्ने स्क्रिनको कुप्रभाव

हुर्कंदै गरेको मस्तिष्कले निरन्तर रुपमा नशाहरुसँग सम्बन्ध विस्तार गरिरहेको हुन्छ। कम प्रयोग गरिएका नशा वा कोशिकाहरुलाई यसले छाड्दै जान्छ।

अनलाइन गेमिङ प्रणाली र सामाजिक सञ्जालहरुको डिजाइन नै यस्तो किसिमले गरिएको हुन्छ कि त्यसले पुरस्कार प्रणालीलाई बढी प्रोत्साहित गर्छ।

जे कुरामा पुरस्कार पाइन्छ, त्यसैमा मात्र ध्यान केन्द्रित गर्ने प्रवृत्ति मात्र यसले विकास गर्छ। कम पुरस्कार वा हामीले कम ध्यान दिएका वस्तुतर्फ ध्यानै नदिने वा त्यसलाई नजरअन्दाज गर्ने प्रवृत्ति यसले बढाइदिन्छ। यसले हाम्रो मस्तिष्कको काम गर्ने क्षमता र तिनको आधारभूत शैली नै परिवर्तन गरिदिन सक्छ।

बालबालिकाहरुको मस्तिष्कलाई अति सक्रिय गरिदिएर यस्ता सामाजिक सञ्जालले धान्नै नसक्ने गरी तृष्णा बढाइदिन सक्छन्। यसले एउटा बालबालिकाको पूरै पुस्ता नै सम्हाल्न नसक्ने मनोदशा बोकेर हुर्कन थाल्छ। त्यस्ता पुस्ता आउँदो समाजका लागि कत्तिको खतरनाक बन्न सक्छन् भन्ने कुरा अझै अध्ययन हुनै बाँकी छ।

यस किसिमको समस्यालाई हाल ‘गेमिङ डिसअर्डर’ नामकरण गरिएको छ। अनलाइन गेमिङ वा स्क्रिन गेमिङका कारण आएका यस्ता परिवर्तन अन्य किसिमका कुलतझैँ देखिनु निश्चय नै खतरनाक कुरा हो।

अत्यधिक स्क्रिन प्रयोगले बालबालिकाको सामाजिक र शैक्षिक विकासमा नराम्रो प्रभाव परेको त अध्ययनहरुले नै देखाइसकेको कुरा हो। तर पनि यस्ता अध्ययनहरुले मिश्रित परिणाम पनि देखाएका छन्।

खेलकुदहरुले मोटोर फङसन बढाउँछ भने एकअर्कासँग सहकार्यमा पनि सकारात्मक भूमिका खेल्छ। 

अनलाइन गेमिङको समस्या प्रयोगकर्ताहरुको ध्यान केन्द्रित नहुनसक्ने पनि देखिएको छ तर यस्तो समस्या खराबै हुन्छ भन्ने पनि छैन । केही समयको प्रयासपछि उनीहरुले दीर्घकालीन रूपमा ध्यान केन्द्रित गर्ने खुबी हासिल गर्न सक्छन्।

अभिभावकले कति चिन्ता लिने ?

आरसिपिसिएच भन्छ, ‘स्क्रिनमा बढीभन्दा बढी समय बिताउँदा आइपर्ने समस्याका बारेमा जे जति कुरा उठिरहेका छन्, तिनलाई अतिरञ्जित ठानिनु हुँदैन।

यो वास्तविक समस्या हो र बालबालिकाहरुको स्क्रिन टाइमलाई घटाउनका लागि अभिभावकहरुले सक्रिय रुपमा भूमिका खेल्नुपर्छ। बालबालिकासँग संवाद गर्ने, उनीहरुको सामाजिक गतिविधि र सुताईलाई ध्यान दिने, उनीहरुको स्क्रिन टाइम घटाउने जस्ता कुरामा ध्यान दिन ढिला भइसक्यो।’

२०१९ मा ३५ हजारभन्दा बढी बालबालिकाहरुसँग गरिएको एउटा सर्भेमा कमभन्दा कम स्क्रिन टाइम बिताउने बालबालिकाहरु हरेक तरहले स्वस्थ रहेको देखिएका थिए।

अक्सफोर्ड इन्टरनेट इन्स्टिच्युटका अनुसार स्क्रिनमा जे चलेको भए पनि त्यो अन भइरहनुभन्दा बरु थोरै समय त्यो चलाउने र काम सकिएपछि निभाउने बानी बसाल्न जरुरी छ।

मध्यम किसिमले स्क्रिन टाइम उपयोग गर्दा ‘मनोवैज्ञानिक’ रुपमा पनि राम्रै प्रभाव परेको देखिएको छ। तर अमेरिकाको एएपीले गरेको एउटा अध्ययनले भने बालबालिकाहरुले सबै किसिमका डिजिटल प्लेटफर्मलाई बढीभन्दा बढी प्रयोग गर्दा त्यसले धेरै किसिमका हुर्काइसम्बन्धी र स्वास्थ्यसम्बन्धी चिन्ता बढेको देखिएको छ।

नयाँ अध्ययनले के भन्छ ?

अबका केही वर्षभित्रमा स्क्रिन टाइमको कुप्रभावका बारेमा सम्पूर्ण जानकारी पाइने सम्भावना न्यून छ। स्क्रिन टाइमका खराबी र समस्याबारे ठूला शोधहरु भर्खरै शुरु भएका छन्।

यसको परिणाम आउन अझै कयौँ वर्ष लाग्न सक्छ। ग्रोइङ अप डिजिटल नामक अध्ययन हालै शुरु भएको छ र यसले संसारभरिका शिक्षक, अभिभावक र बालबालिकाहरुसँग प्रश्न सोधिरहेको छ। तर हाललाई पहिल्यै केही कच्चा अध्ययनले निकालेका निष्कर्ष भने छँदैछन्। जसले भन्छ, अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई कमभन्दा कम समय स्क्रिनका लागि छुट्याउन भूमिका खेल्नु पर्छ। बढीभन्दा बढी बाहिरी गतिविधिमा प्रेरित गर्नुपर्छ।

खाना खाँदा र सुत्दाका बेला स्क्रिन चलाइरहनुपर्ने अवस्थाबाट बालबालिकालाई मुक्त राख्नुपर्छ। ओछ्यानबाट डिजिटल डिभाइसहरुलाई टाढै राख्नुपर्छ।

बालबालिकाहरुले स्क्रिनमा के हेरिरहेका छन्, के गतिविधि गरिरहेका छन् तिनको चियोचर्चो अभिभावकहरुले गरिरहनुपर्छ। उनीहरु त्यहाँ कति लामो समयसम्म छन् भन्दा पनि के गर्दैछन् भन्नेमा ध्यान दिनु आवश्यक छ।

अभिभावकले सन्तानलाई एउटा स्वरुपमा ढाल्नुपर्छ। कुनै पनि आकार वा स्वरुपमा ढालेर गरिएका गतिविधिले बालबालिकालाई फाइदा पुर्याउँछ किनभने उनीहरुको मस्तिष्क त्यस्ता कुरा चाँडै टिप्ने किसिमको हुन्छ।

बालबालिकालाई स्क्रिन छुनै नदिने शैलीले सम्भवतः काम गर्दैन। हिजोआजका अधिकांश क्रियाकलापहरु डिजिटल र स्क्रिनमा आधारित भइसकेका छन्।

अभिभावकले ध्यान दिनै पर्ने कुरा चाहिँ स्क्रिन नभएको अवस्थामा उनीहरुको हालत खराब हुनु भएन। उनीहरुले त्यो अवस्था सम्हाल्न सक्ने हुनुपर्छ।

‘स्क्रिन आधुनिक जीवनको एक भाग बनिसक्यो,’ आरसिपिसिएचका अध्यक्ष प्राध्यापक रसेल भाइनर भन्छन्, ‘बोतलबाट जिनी निस्किसक्यो। हामीले त्यसलाई पुनः बोतलभित्र छिराउन सक्तैनौँ।’

१७ मंसिर, २०७७, १६:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।