कोठाभित्रै फुल्ने अफ्रिकन भाइलेट

कोठाभित्रै फुल्ने अफ्रिकन भाइलेट
अनु सेत्लिङ्ग।

काठमाडौं : अनु सेत्लिङ्ग अफ्रिकन भाइलेट फूलको पारखी हुन्। ललितपुरको भैंसेपाटी (नख्खु) बस्ने ६५ वर्षीय सेत्लिङ्गले ३० वर्ष अघिदेखि घरमा रोपेर अफ्रिकन भाइलेट सजाउन थालेकी हुन्।

उनका घरमा अहिले पनि यो फूलका विभिन्न भेराइटी सजिएका छन्। सेत्लिङ्ग भन्छिन्, ‘यो फूल मलाई असाध्यै मन पर्छ।’ 

उनले घरमा यो फूल रोप्दै गर्दा पातबाट सारेर धेरै बोट बनाउन थालिन्। सुरुसुरुमा त छिमेकी तथा आफन्तलाई बाँडिन्। तर, सेत्लिङ्गले बिरुवा निकै धेरै बनाउन थालिन्। त्यसपछि फूलका शौखिनहरूले किन्न पनि माग्न थाले। उनले बिरुवा बनाउँदै घरैबाट बिक्री गर्न पनि थालिन्। 

सेत्लिङ्गलाई अब दुई किसिमले लाभ मिल्न थाल्यो। एकातर्फ घरमा फुलेका अफ्रिकन भाइलेट हेर्दा उनको मन आनन्द त हुने नै भयो। बिक्री पनि हुन थालेपछि केही आर्थिक लाभ पनि भयो। अहिले पनि अनु घरमा बिरुवा बनाउँदै बेच्छिन्। अनुले भनिन्, ‘दैनिकजसो अफ्रिकन भाइलेट खोज्नेको फोन आउँछ।’

नेपालमा अफ्रिकन भाइलेट फूलका पारखी बढिरहेको हर्टिकल्चर विशेषज्ञ बताउँछन्। राम्रो फूलेको एउटा गमलाको फूलको औसत मूल्य करिव ३५० रूपैयाँ पर्छ। तर, यसको भेराइटीको गुणस्तरियता अनुसार त्योभन्दा बढी मूल्य पर्न सक्छ। 

जाडोको तुलनामा गर्मी मौसममा यसको व्यापार बढी हुने काठमाडौंको स्वयम्भूस्थित मुस्कान नर्सरीका महेन्द्र सुवेदी बताउँछन्। तर, यो फूलका शौखिनहरू भने बढिरहेको उनको भनाइ छ। सुवेदीले भने, ‘फुलेको समयमा त असाध्यै सुन्दर देखिन्छ। ग्राहक लोभिहाल्छन्।’
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)का कार्यक्रम संयोजक जेबी तामाङ पनि यो फूल सुन्दर हुने भए पनि नेपालमा व्यावसायिक रूपमा ठूलो मात्रामा उत्पादन कमै भएको बताउँछन्। तर, लामो समयदेखि नेपालमा यो फूलको व्यापार व्यवसाय भइरहेको उनको भनाइ छ। 

फूल फुलाउनका लागि भने स्याहार–सुसारमा ध्यान दिनुपर्ने हर्टिकल्चर विशेषज्ञ बताउँछन्। मुस्कानका सुवेदीले भने, ‘जाडोमा फूल मर्ने सम्भावना हुन्छ। गर्मीमा भने अलि कम हुन्छ। त्यो बेला राम्रो फुल्छ।’ यो फूलका शौखिनहरू भएपनि स्याहार गर्ने झन्झटले कमैले रोप्ने गरेको तामाङ बताउँछन्। तामाङले भने, ‘यो फूललाई हावापानी र मल राम्रोसँग मिलाउनुपर्छ।’

सेत्लिङ्ग पनि जाडोको तुलनामा गर्मी मौसममा नै यो फूलको राम्रो व्यापार हुने बताउँछिन्। 

सहज उत्पादन, सुन्दर फूल

त्यसो त यसको बिरुवा उत्पादन गर्न पनि त्यति धेरै कठिन भने छैन। अफ्रिकन भाइलेटको पातबाट पनि नयाँ बिरुवा उत्पादन गर्न सकिन्छ। 

हर्टिकल्चर विशेषज्ञका अनुसार डाँठ सहितको पात काटेर पानीमा डुबाएको करिव तीन हप्तामा जरा आउँछ। डाँठ भने छिप्पिएको हुनुपर्छ। बालुवामा सार्दा राम्रोसँग जरा आउन सक्छ। बालुवा भने धोएर मात्रै कटिङ हाल्न सेत्लिङ्गको सुझाव छ। त्यसपछि गमलामा रोप्न सकिन्छ। 

जरा आइसकेपछि गमला तयार गर्नुपर्छ। सानो गमला (करिव ६ इन्चको)मा रोप्दा सुन्दर देखिने हर्टिकल्चर विशेषज्ञ बताउँछन्। यो फूल रोप्दा मल माटो मिलाउने सवालमा पनि निकै ध्यान दिनुपर्छ। 

अफ्रिकन भाइलेट पत्कर मल तथा मधुमास (धुलो पारिएको नरिवलको जट्टा)मा रोप्नु उचित हुन्छ। मधुमासमा रोप्दा भने एक पटक पानीले मधुमास पखाल्नुपर्छ। मधुमास, पत्कर र वालुवा मिक्स गरेर रोप्नु उचित हुने हर्टिकल्चर विशेषज्ञको सुझाव छ। 

सुवेदीका अनुसार यो फूल कमलो हुने भएकाले जरा आएपछि पातमा हल्कागरी समातेर सिन्काले माटो खोनेर रोप्नुपर्छ। रोपिसकेपछि राम्रोसँग पानी हाल्नुपर्छ। प्रत्यक्ष घाममा राख्नु हुँदैन। 

सारिएको बिरुवा न्यानो र उज्यालो ठाउँमा राख्न फ्यानका कार्यक्रम संयोजक तामाङ सुझाउँछन्। झ्यालको छेउमा तथा कौशीमा राख्दा यो फूल कम मनमोहक देखिँदैन। घरभित्र राखेर फुलाउन सकिने भए पनि उज्यालो ठाउँमा राख्दा राम्रो फुल्छ।

सेत्लिङ्गका अनुसार हावापानी अनुकूलित नभए यो फुल फुलाउन कठिन हुन्छ। सेत्लिङ्ग भन्छिन्,‘यो फूल फुलाउनका लागि ६० देखि ८० फरेनहाइट सम्मको तापक्रम चाहिन्छ। धेरै चिसोमा फुल्न सक्दैन। प्रकाशको उज्यालो भएको ठाउँ आवश्यक हुन्छ।’ 

यो फूल २५ डिग्रीको तापक्रममा राम्रो फुल्छ।

प्रकाशको उज्यालो नपुगेको अवस्थामा पातहरू झ्याम्म मात्रै हुने, बोट अग्लो हुने तर, नफुल्ने हर्टिकल्चर विशेषज्ञ बताउँछन्। सप्रिएका बिरुवाका पात भने होचा र फैलिएका हुन्छन्।

यो घरभित्रै पनि फूल्न सक्ने बिरुवा भएकाले पानी भने धेरै हाल्न नहुने हर्टिकल्चर विशेषज्ञ बताउँछन्। हर्टिकल्चर विशेषज्ञका अनुसार गर्मीमा तीन दिन र जाडोमा एक हप्तामा पानी दिनु उचित हुन्छ। 

विशेषगरी जाडोमा मर्न सक्ने भएकाले यो समयमा फूलको स्याहार–सुसारमा विशेष ध्यान दिनुपर्ने सुवेदी सुझाउँछन्। त्यसो त यो फूललाई धारोको वा पाइपले सिधै चिसो पानी दिन पनि नहुने सेत्लिङ्गको अनुभव छ। सिधै धाराबाट आएको पानीमा क्लोरिनको मात्रा बढी हुने भएकाले सकेसम्म कुनै भाँडामा थापेर एक रातसम्म राखेर पानी हाल्नु उचित हुन्छ। धाराबाट थापेको पानी एक रात राख्दा क्लोरिनको बाफ उडेर जानसक्ने विशेषज्ञ बताउँछन्। 

हर्टिकल्चर विशेषज्ञका अनुसार थापिएको पानी घाममा राखेर केही न्यानो तातो भएपछि बिरुवामा दिँदा बिरुवा बिग्रने समस्या कम हुन्छ। धुलो–धुवाँमा राख्नु हुँदैन। 

स्याहारमा ध्यान

पानी हाल्दा झारी (हजारी)बाट वा सिधै माथिबाट नराख्न हर्टिकल्चर विशेषज्ञको सुझाव छ। प्लेटमा गमला राखिन्छ। त्यही प्लेटमा पानी राखेपछि बिरुवाले सोस्दै लिन्छ। सेत्लिङ्ग भन्छिन्, ‘गमलाको पिँधमा एउटा सानो प्लेटमा पानी राखिदिनुपर्छ, जसबाट बिरुवाले पानी सोस्छ।’

तर, गमलाको माथिल्लो भागमा सुख्खा देखिएको अवस्थामा विस्तारै बिरुवाको छेउबाट पानी हाल्न सकिने हर्टिकल्चर विशेषज्ञको सुझाव छ। 

यसरी पानी हाल्दा भने पातमा हाल्नु हुँदैन। पातमा पानी परेको अवस्थामा पात कुहिएर बिरुवा फोहोर देखिन्छ। धेरै पानी हुँदा कुहिने जोखिम पनि त्यतिकै हुने सुवेदी बताउँछन्। पातमा फोहोर देखिएको अवस्थमा भने बेलाबेलामा स्पे्रमा पानी हालेर पात पखाल्न सकिन्छ। कतिपय व्यक्तिले त पातमा स्प्रेमार्फत झोल मल पनि हाल्ने गरेको पाइन्छ। स्वस्थ बिरुवाका लागि हावापानी भने सफा हुन आवश्यक हुन्छ।

विशेषज्ञका अनुसार यो फूलमा कडा किसिमको मल भने हाल्नु हुँदैन। कडा किसिमको मल हाल्दा मर्ने जोखिम हुन्छ। थोरै भर्मी कम्पोस्टण् हाल्न सकिन्छ। 

त्यसैगरी यो फूलमा मलको रूपमा कुहिएको पत्कर हाल्नु उचित हुने हर्टिकल्चर विशेषज्ञ बताउँछन्। 

त्यसो त यो फूलको पातमा फंगज तथा ढुसीको समस्या हुनसक्छ। तर, ढुसी देखियो भने टिस्यु पेपरले पनि पुछ्न सकिन्छ। जाडोमा बढी ढुसी पर्न सक्छ। त्यसैले राम्रोसँग हावा खेल्ने ठाउँमा राख्न सेत्लिङ्गको सुझाव छ। मल, माटो तथा हापापानी मिलेको अवस्थामा ९० दिनभित्रमा सुन्दर अफ्रिकन भाइलेट फूलाउन सकिने उनी बताउँछिन्। 

अफ्रिकन भाइलेट फूल सन् १८९२ ताका पूर्वीअफ्रिकाको भोन सेन्ट पल–इलेयरले अध्ययन गरी परिचित गराएको पाइन्छ। त्यसैले यो फूल सेन्ट पाउल’का नामले समेत चिनिन्छ। 

१२ मंसिर, २०७७, १६:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।