शंखधरसँग जोडिएको लखुतीर्थलाई धार्मिक पार्कको रूपमा विकास गरिने

शंखधरसँग जोडिएको लखुतीर्थलाई धार्मिक पार्कको रूपमा विकास गरिने

काठमाडौँः काठमाडौं महानगरपालिकाले राष्ट्रिय विभूति शंखधर साख्वाः सँग जोडिएको लखुतीर्थलाई धार्मिक पार्कको रूपमा विकास गर्ने भएको छ। प्रमुख विद्यासुन्दर शंखधर साख्वाः दिवसको अवसरमा यस्तो जानकारी दिएका हुन।

प्रमुख शाक्यले उक्त साख्वाःको थप सम्मान हुने अपेक्षा सहित पार्कलाई विकास गर्न लागिएको जानकारी दिए। मध्यपुर ठिमीस्थित शंखधर चोकमा शंखधर सामुदायिक भवन तथा राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानको भवनको उद्घाटन गर्दे उनले यस्तो बताएका हुन।

कार्यक्रममा शाक्यले नेपाल सम्बत् नेवार समूदायको मात्रै नभई सबै नेपालीको सम्बत् भएको बताए।‘कतिपयलाई नेपाल सम्बत नेवार समूदायको मात्रै हो भन्ने भ्रम हुने गरेको छ,’ शाक्यले भने, ‘नेपाल सम्बत राष्ट्रिय सम्बत हो । यो सबै नेपालीको सम्बत भएकाले यसमा कसैले पनि भ्रम पाल्नु हुदैँन।’ शाक्यले भने। शाक्यले शंखधर राष्ट्रिय विभूति भएको भन्दै उहाँको सम्मान गर्नु भनेको आफ्नै देशको तिथि–मितिको सम्मान गर्नुभएको पनि स्मरण गराए। ‘राज्यलाई योगदान गरेका व्यक्ति, शहीद र राष्ट्रिय विभूतिलाई सबैले चिरकालसम्म चिनुन र सम्झिरहुन भन्ने हेतुले महानगरपालिकाले उहाँहरुको सम्मानमा शालिक निर्माण गर्दै आएको छ।’

कार्यक्रमलाई सम्वोधन गर्दै मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले आजभन्दा ११४१ वर्ष अघि ऋणमा डुबेका कान्तिपुर र भादगाउँका जनतालाई आफ्नो सम्पत्तिबाट ऋण चुक्ता गरी नयाँ युगको थालनी गरेका शंखधर साख्वाः अहिले पनि उपत्यकावासीको मन–मुटुमा रहेको स्मरण गराएका थिए। भवन नगरपालिकाको ९० लाख, सांसद महेश बस्नेतको सांसद कोषबाट ५० लाख र शंखधर प्रतिष्ठानको तर्फबाट जन श्रमदानसहित १० लाख गरी एक करोड ५० लाखमा सो भवन उपभोक्ता समितिमार्फत निर्माण भएको मेयर श्रेष्ठले जानकारी दिए।

भवनमा सूचना केन्द्र, संग्राहलय र हल समेत रहने छन। साख्वाःको इतिहास भक्तपुर र काठमाडौँसँग जोडिएको स्मरण गराउँदै उनले महानगरपालिकाको नगर–नगर साझेदारी कार्यक्रम अन्तरगतको आर्थिक सहयोगमा शंखधर पार्क निर्माण भैरहेको बताएका थिए। कार्यक्रममा राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठले साख्वाःको सम्मानमा नगरपालिकाले गरेको सम्मानको तारिफ गरेका थिए।सरकारले नेपाल संवत् ११२० कछलाथ्व दशमि अर्थात् वि.सं. २०५६ मंसिर २ गते साख्वाःलाई राष्ट्रिय विभूति घोषित गरेको थियो।

९ मंसिर, २०७७, २२:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।