जब रोबोटले विद्रोह गर्नेछन्...

जब रोबोटले विद्रोह गर्नेछन्...

हुन त, आइज्याक एसिमोभको रोबोटहरूमा आधारित उपन्यास सन् १९८० को दशकमा फिल्मको पात्र जोनी ५, हलिउडका फिल्महरू 'एभेन्जर्सः द एज अफ अल्ट्रोन' र बेलायती टेलिभिजन च्यानल ४ को साइन्स फिक्सन फिल्म 'ह्युमन्स'मा रोबोटलाई मान्छेजस्तै देखाइएको छ। यी फिल्मका रोबोटहरू बच्चाजस्तै छन्। तिनले भावना र मानिसजस्ता चेतनालाई बुझ्न सक्छन्।

तर के रोबोटमा भावना र मान्छेजस्तै चेतना नै हुन्छ भन्ने छ र ?

डा. बेन गोएर्टजेलले एउटा यस्तो आर्टिफिसियल इन्टेलिजेन्स सफ्टवेयर बनाएका छन्, जसका आधारमा सोफिया नामक रोबोट तयार भएको त तपाईं-हामीले पनि देखिसकेका छौँ। यो त्यही रोबोट हो, जसले नेपाल भ्रमणसमेत गरेकी थिई र नेपाली भाषामा कुरा गरेर नेपालीजनलाई दंग पनि पारेकी थिइई। यो मान्छेजस्तै देखिने रोबोटलाई हङकङस्थित कम्पनी हेनसन रोबोटिक्सले बनाएको हो।

कम्पनीको भनाइमा रोबोटहरू मान्छेजस्तै देखिनुपर्छ। यसो हुँदा रोबोटहरूका बारेमा मानिसलाई जुन किसिमको सन्देह छ, त्यो हराउँदै जान्छ।

डा. बेन गोएर्टजेल भन्छन्, 'अबका दिनमा मानिसजस्तै देखिने रोबोटहरू बजारमा देखिने छन् किनभने मान्छेले आफूजस्तै देखिने खेलौना नै मन पराउँछन्।'

उनका अनुसार मान्छेजस्तै देखिने रोबोटसँग व्यवहार गर्न मान्छेलाई सहज महसुस हुन्छ। उनीहरूलाई आदेश दिन सक्छन्, आफ्ना सुखदुःखका बारेमा उनीहरूसँग कुराकानी गर्न सक्छन्।

केहीको धारणा के छ भने भविष्यमा घरमा कुकुर पाल्नुभन्दा रोबोट पाल्नु सहज हुन्छ । उसले खाने भनेको बिजुली मात्र हो, उसलाई आची पनि गराइरहनु पर्दैन र सरसफाईको चिन्ताबाट पनि मालिक मुक्त हुन्छ।

रोचक कुरा त के छ भने अहिले कतिपय अर्बपतिहरूले आफ्नो रूचिअनुसारको रोबोट प्रयोग गरिरहेका छन्।

अहिले सफ्टबैंक नामक कम्पनीले पेपर रोबोट प्रयोग गरिरहेको छ। यस्ता रोबोट हेर्दाका आकर्षक हुँदैनन् र मान्छेले ऊसँग पनि रोबोटकै व्यवहार गर्छन्। तर जब सोफिया नामक रोबोटसँग मान्छेहरू कुरा गर्छन्, उनीहरूले रोबोटसँग एउटा मानवीय व्यवहार देखिन्छ।

हुन पनि सोफियाले सिधा मान्छेको अनुहारमा हेर्ने, नाक खुम्च्याउने, आँखा सन्काउनेजस्ता मानवीय 'अदा' पनि देखाउने हुनाले सर्वसाधारणको रूचि सोफियातर्फ अचम्मैसँग बढेको छ।

अहिलेसम्म संसारभर ५० भन्दा बढी सोफिया रोबोट बनाइसकिएको छ र सोफियाले कामसमेत गर्न थालेकी छ । यस्ता रोबोटको काम भाषण दिन र प्रविधिका प्रशिक्षण दिनका लागि प्रयोग गरिन थालेको निकै भइसकेको छ।

ती सबै सफलता देखेपछि कतै आफू पनि पछि परिने हो कि वा पाखे कम्पनी पो भइने हो कि भनेर यसलाई प्रयोग गर्न चासो दिनेहरू बढेका छन् । तर दुःखको कुरा अर्बौंको व्यापार गर्ने कम्पनीहरूलाई पनि महँगो लाग्ने यी खेलौना घरघरमा उपयोग हुने गरी तयार हुन वा सस्तो दामको बनाउन अझै निकै समय लाग्नेछ।

खासमा यसको निर्माणमा नै अहिले यति धेरै खर्च भइसकेको छ कि महँगो हुनु यसको विशेषता नै बन्न पुगेको छ । तर डा. गोएर्टजेल के भन्छन् भने, पहिला पहिला ६० वर्षअघि कम्प्युटर पनि यस्तै महँगो हुन्थे । समयक्रमसँगै ती सस्तिदै जान थाले । ठीक यही कुरा रोबोटका मामिलामा पनि लागू हुन्छ।

महँगोका सन्दर्भमा भने अन्य कतिपय रोबोट निर्माता वा रोबोटिस्टहरू भने अहसमति जनाउँछन् । भनाइको अर्थ, रोबोट भनेको घरघरै सबै जनाले कुकुर वा बिरालो पालेजस्तै हुनुपर्छ, सबैको पहुँचमा हुनुपर्छ भन्ने छैन।

त्यसैले यसलाई महँगो नै राखिनुपर्ने उनीहरूको भनाइ छ । भोलिका दिनमा घरघरै रोबोट हुँदा यसले विकृतिसमेत जन्माउन सक्ने उनीहरूको तर्क छ।

रोबोटले विद्रोह गरे के होला ?

इन्ट्युसन रोबोटिक्सका सह-संस्थापक र मुख्य कार्यकारी अधिकृत डा. स्क्युलर रोबोट मान्छेजस्तै देखिने र मान्छेजस्तै बोल्नुपर्छ भन्ने मान्यताको विरोध गर्छन्।

 

उनको कम्पनी एलिक्युले साना आकारका सामाजिक रोबोट बनाउने गरेको छ। यसको उद्देश्य नै वृद्धवृद्धाहरूको एक्लोपना हटाउनु हो। यो कम्पनीका रोबोटले कुराकानी गर्छ, प्रश्नको जवाफ दिन्छ। जोक सुनाउने, रमाइला कुरा गर्ने र आवश्यकताअनुसार दुःखमा मल्हम लगाउने काम गर्छ।

डा. स्क्युलर भन्छन्, 'एलिक्युको प्रयोग गर्दा वा कुराकानी गर्दा वृद्धवृद्धाहरूलाई यी कुराकानी गर्ने, दुःखको पीडामा कुरैबाट मल्हम लगाउने मान्छे होइनन्, मेसिन हुन् भन्ने सम्झाउनु जरूरी हुन्छ । वृद्धवृद्धाहरूले तिनलाई मान्छे नै ठान्न थाले भने गाह्रो हुन्छ । उनीहरूलाई यी मान्छे होइनन् र मेसिन हुन् भनेर बुझाउँदा पछि गाह्रो हुन्छ।'

खासमा मेसिन र मानिसबीचको भावनात्मक सम्बन्ध भविष्यको नसोचिएको एउटा बेग्लै पाटो भएको विशेषज्ञहरूको धारणा छ । कहिल्यै यसबारे नसोचिएको तर निकट भविष्यमा त्यो समस्या आउँदै गरेको हुनाले विशेषज्ञहरू चिन्तित हुनु स्वाभाविक पनि हो।

जापानी रोबोट विशेषज्ञ मसाहिरो मोरी त केसम्म दाबी गर्छन् भने, जति बढी मानिससँग रोबोटहरू नजिक हुँदै जान्छन्, उनीहरूसँग मान्छेले उति नै डराउनु पर्छ।

किनभने मान्छेसँग नजिक हुँदै जाँदा उनीहरू विद्रोही पनि उत्तिकै हुँदै जाने सम्भावना प्रवल भएर जान्छ । कुनै समयमा रोबोटहरूले आफूलाई मानिसभन्दा राम्रो भएको नैतिक रूपमा घोषणा गरे भने त्यस बेला मानिस जातिलाई नै अप्ठेरो पर्ने उनको बुझाइ छ । त्यसैले मानिसले न त टाढाको सम्बन्ध राख्ने न त ज्यादै नजिक बनाउने किसिमको अवस्था हुनुपर्ने उनको भनाइ छ।

रोबोटले पाउने कानुनी अधिकार

मानिसले जति बढी रोबोटलाई महत्त्व दिँदै जान्छन्, उति यसप्रति आशक्ति बढाउँदै लैजान्छन् । तर एउटा बिन्दुमा पुगेपछि उनीहरूलाई महसुस हुन्छ- यी त रोबोट हुन्, वास्तविकतामा यी कोही होइनन् । यस्तो अवस्था आएपछि मानिसहरूले आफू ठगिएको महसुस गर्नेछन् ।

रोबोट विशेषज्ञ मोरी भन्छन्, 'तपाईंलाई बेकुप बनाउनु र तपाईंलाई चाहिएको चिज दिनुबीचको फरक बुझ्न जरूरी हुन्छ । केही रोबोटले सकारात्मक आत्मीयता दिन सक्छन्, एक्लोपन हटाउन सकछन् ।

मानिस नै भएको नाटक नगरीकनै यस्तो गर्न सक्छन् भने हामीले रोबोटलाई मान्छेजस्तै किन बनाउनु त ? मान्छेजस्तै नदेखिइकन रोबोटले त्यस्तो सेवा दिऊन्, मान्छेमा भ्रम नरहोस्, रोबोटलाई रोबोट नै ठानून् भन्ने हाम्रो आशय हो । ताकि भविष्यमा मान्छेलाई पर्ने भावनात्मक तोड वा पीडाबाट अहिल्यै जोगाउन सकियोस्।'

कार्नेगी मेलन विश्वविद्यालयमा रोबोटिक्स इन्स्टिट्युटमाथि शोध प्रोफेसर डा. रिड सिमन्स पनि यस कुरामा सहमत छन् । सिमन्स भन्छन्, 'हामीमध्ये धेरैजसोले हामीजस्तै साथी चाहन्छौँ।

आँखा झिम्क्याउने हुनु र अन्य केही विशेषता हुनु एउटा रोबोटका लागि पर्याप्त छ । मान्छेजस्तै व्यवहार उसले गरिरहनु पर्दैन ।'सिमन्सको सिंगुल्यारिटीनेट कम्पनी छ।

यसले आर्टिफिसियल इन्टेलिजेन्स एप बनाउन अरूहरूलाई सहयोग गर्ने गर्छ । सिमन्सको यो अभियानले नयाँ किसिमको अपेक्षा र प्रविधि जन्माउने र नयाँ बाटाहरू खुलाउने बताइन्छ । त्यसको एउटा उदाहरण चाहिँ सोफियाजस्ता रोबोट चलाउन उपयोग गरिएको छ ।

यो कम्पनी स्थापना गर्ने डा. गोएर्टजेल भने उति डराएका छैनन् । अप्ठेरो स्थिति आएका खण्डमा पनि सम्हाल्न सकिने बताउँछन् । समयसँगै रोबोटहरू स्मार्ट, चुस्त हुँदै जाने र पछि मानिसलाई पनि जित्ने किसिमको बन्नेछन्।

यसपछि समय क्रमसँगै उनीहरू मानिसजस्तै देखिने भएका कारण मान्छेले पनि उनीहरूलाई स्वीकार गर्ने र उनीहरूसँग अभ्यस्त हुने जमाना चाँडै आउने धारणा राख्छन् ।

यसपछि त मानिसहरू पछि मान्छेसँग संगत गर्नुभन्दा रोबोटसँग संगत गर्न बढी रूचाउने छन् तर जुन स्तरको चेतना रोबोटसँग हुन्छ, ठीक त्यही स्तरको चेतना मानिसमा बढ्छ कि बढ्दैन भन्ने पनि उत्तिकै चासो बढाउनु पर्ने हुन्छ ।

तर केही वैज्ञानिकहरू भने समयसँगै रोबोटहरू स्मार्ट बनेसँगै तिनले आफ्नो अधिकार पो खोज्ने हुन् कि ? कानुनी अधिकार खोजेसँगै उनीहरूले आफ्नो आधिपत्य जमाउने पो हुन् कि ? यस्ता अनेकन् नैतिक प्रश्नहरू पनि उठेका छन्।

डा. गोएर्टजेल भन्छन्, 'जब मेसिनको चेतना मान्छेकै चेतनासम्म पुग्छ, मानिसजस्तै समझदार बन्न पुग्दा उनीहरूसँग चेतना पनि हुन्छ । सोही चेतनाले उनीहरूलाई मानिसभन्दा उम्दा ठानेर कतै मानिसलाई नै दास त बनाउने होइन भन्ने चिन्ता लिनुपर्ने ठाउँ त छ ।

दयावान् रोबोटको आवश्यकता

आर्टिफिसियल इन्टेलिजेन्सका क्षेत्रमा दयावान् रोबोट चाहिने हो कि स्मार्ट रोबोट चाहिने हो आदिबारे छलफल भइरहेको छ । तर जुन रूपमा मिहिन छलफल अघि बढेर यसलाई व्यापक बनाइनुपर्ने हो, त्यसतर्फ सरोकारवालाहरूको सोच पुग्न नसकेको केही वैज्ञानिकहरूको असुन्तष्टि छ।

पाँच वर्ष अघिसम्म आर्टिफिसियल इन्टेलिजेन्सका क्षेत्रमा निकै कम शोध र अनुसन्धान भएका थिए । त्यसबेला यसबारे मिहिन छलफल नहुनु स्वाभाविक थियो तर अब अवस्था त्यो रहेन।

गुगलजस्ता ठूला कम्पनीले यसमा गम्भीर भएर अनुसन्धान थालेका छन्। यतिबेला स्वयं सोफियाजस्ता स्मार्ट रोबोट जन्मिसकेका छन्। तिनको व्यावसायिक कारोबार हुन थालिसक्यो। यस्तोमा अब एकीकृत अनुसन्धानका कार्यहरू तिव्र गतिमा अघि बढाइनुपर्ने आवश्यकता छ। र,त्यो अनुसन्धान हामीलाई भविष्यमा चाहिने दयालु रोबोटहरू हुन् कि अन्य किसिमका भन्नेमा केन्द्रित हुन जरूरी छ ।

तर रोबोटिक्स र कम्प्युटर साइन्टिस्टहरू यस किसिमका सोचमा असहमति राख्छन् । खासगरी डा. स्क्युलर त दयालु मात्र रोबोट हामीले खोज्न नहुने तर्क राख्छन्।

उनी भन्छन्,'भावना एउटा विशिष्ट मानवीय गुण हो र यो जीवित मानिसको लक्षण हो। नैतिकता र मूल्यजस्ता कुराहरू रोबोटमा हामीले अपेक्षा गर्न सक्दैनौँ । मान्छेमा ती कुराको अपेक्षा हामी गर्छौं, हुनु पनि पर्छ तर रोबोटमा हामीले ती कुराको अपेक्षा गर्दैनौँ।समय क्रमसँगै आर्टिफिसियल इन्टेलिजेन्सका कारण यिनले मानव व्यवहार सिक्छन् र उनीहरूले कसरी प्रतिक्रिया दिनुपर्छ भन्ने आफैँ बुझ्नेछन्।'

इन्ट्युसन रोबोटिक्स, टोयोटा रिसर्च इन्स्टिच्युटसँग मिलेर एउटा यस्तो प्रोजेक्टमा काम गरिरहेका छन्, त्यो यदि पूरा भयो भने एउटा कारलाई मान्छेले डिजिटल साथी बनाउन सक्छन् । कारभित्र छिरिसकेपछि मानिस सुरक्षित होस् भन्ने यसको उद्देश्य हो।

मानिसको दिमाग नक्कल गर्न गाह्रो

हालै नेटफ्लिक्समा आएको ब्ल्याक मिरर शृंखलामा माइली सायरस गायिकाको भूमिकामा छिन्। उनले आफ्नो छवि, पहिचान सबै चिज एउटा आर्टिफिसियल इन्टेलिजेन्स सिस्टममा डाउनलोड गरेकी छन् ताकि एस्ले टु नामक सानो रोबोट गुडिया बनाउन सकियोस्। विशेषज्ञ भन्छन्, यस किसिमका सोच सधैँ मान्छेले कल्पिरहन्छन्, चाहे त्यो ठ्याक्कै वास्तविकतामा उतार्न सकियोस् या नसकियोस्।

डा. सिमन्स भन्छन्, 'मानिसको मस्तिष्क र व्यक्तित्व रोबोटमा डाउनलोड गर्न असम्भव छ । हामी कुनै मानिसको दिमागलाई कपी गर्नु अहिलेको प्रविधिले सम्भव छैन । त्यो दिन अझै निकै टाढा देख्छु म त।'

हुन त डा. गोएर्टजेल जोड दिँदै भन्छन्, सन् १९२० को दशकमा निकोला टेस्लाले रोबोटको विचार प्रतिपादन गर्न उनका कुरामा कसैले पनि विश्वास गरेका थिएनन् । जब कि अहिले त्यो कुरा साकार भइसक्यो । सबैले आफ्नै आँखाले देखिसक।

कयौँ पटक हामी मानवीय सोचको कमजोरीका कारण कतिपय कुराहरू सीमित रूपमा मात्र देख्छौँ। त्यसैले अहिले उठेका आशंका र आशा दुवै भविष्यमा निश्चित रूपमै प्रत्यक्षदर्शी भइने कुरा हुन् । त्यसका लागि हामी अहिले मानसिक रूपमा तयार हुनुपर्छ।'

(बिबिसी फ्युचरमा मेरी एन रसनको फिचर)

२० कात्तिक, २०७७, २१:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।