उपत्यकामा विद्यालय संञ्चालन गर्ने छलफल  

उपत्यकामा विद्यालय संञ्चालन गर्ने छलफल  

काठमाडौंः उपत्यकाका स्थानीय तहहरुले शैक्षिक गतिविधि सञ्चालनको तयारी गरेका छन्। कोराना भाईरस संक्रमणको उच्च जोखिममा रहेको उपत्यकामा कहिले र कसरी सञ्चालनमा ल्याउँने भन्नेमा भने स्थानीय तहका आ-आफ्नै नीति छन्। 

सरकारले‘कोभिड–१९ को सन्दर्भमा विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ पारित गरेर विधालय सञ्चालनमा स्थानीय तहलाई विशेष अधिकार दिएको छ।

कार्यढाँचामा विधालय सञ्चालन, स्थगन र पुनःसञ्चालनबारे जोखिम मूल्यांकन गरेर निर्णय लिने अधिकार स्थानीय सरकारलाई दिएको छ। 

ठूला कक्षाबाट पढाई सञ्चालनको तयारी 

काठमाडौं महानगरपालिकाले पुष पछि विधालय सञ्चालनमा ल्याउने तयारी थालेको छ।संक्रमणको अवस्थाका कारण विधालय सञ्चालनबारे भने अन्यौलता देखिएको महानगरको भनाई छ।

महानगरको शिक्षा विभाग विभाग प्रमुख नमराज ढकाल सञ्चालन कसरी गर्ने भन्नेबारे छलफल जारी रहेको बताँउछन।

‘जाडो र कोरोनाका कारण अन्यौलता छ। पुषबाट सञ्चालन गर्नेबारे छलफल भईरहको छ ’ढकाल भन्छन,‘वैकल्पिक माध्ययमबाट पढाई सुरु भएकाको परीक्षा लिने र ठूला कक्षाबाट कक्षा सञ्चालन गर्नेबारे छलफल भईरहेको छ।’

महानगरले वैकल्पिक सिकाई सहजिकरण निर्देशिका’अनुसार एफएम माध्ययममार्फत पठनपाठन गरिरहेका छ।

चालु शैक्षिक सत्रलाई उपयोग गर्ने गरी शैक्षिक गतिविधि सञ्चालनको योजनामा काम भईरहेको महानगरको भनाई छ।

महानगरले चरणवद्ध रुपमा शिक्षक अभिभावक र सरोकारवालासँग छलफल जारी रहेको बताएको छ। महानगरभित्र ९२ सामूदायिक र ६ सय ४० संस्थागत विद्यालयमा पठनपाठन हुने जानकारी दिएको छ।

विधालयलाई अधिकार 

ललितपुर महानगरपालिकाले वडासँग समन्वय गरेर सञ्चालनमा ल्याउन सक्ने निर्णय गरेको छ।

मंगलबार महानगर प्रमुख तथा शिक्षा समिती संयोजक चिरिबाबु महर्जनको अध्यक्षतामा बसेको बैठकले विधालय सञ्चालन गर्नेबारे निर्णय गरेको हो।

बैठकमा सहभागि वडा नम्वर २४ का वडाध्यक्ष दिनेश कार्कीका अनुसार व्यवस्थापन समिति र वडाको समन्वयमा विधालय सञ्चालनमा ल्याउने निर्णय गरिएको छ। 

‘व्यवस्थापनले निर्णय गरेर वडासँग अनुमति लिएर सञ्चालन गर्न पाउने छन’उनले भने,‘विधालयले आवश्यकता अनुसार सिफ्ट,कक्षा छुट्याएर वा अन्य आवश्यक विधि अपनाएर पठनपाठन सञ्चालन गर्न सक्नछने छन।

’ललितपुर महानगर क्षेत्रमा ४० सामुदायिक र २ सयको हाराहारीमा सँस्थागत(निजी) विधालय रहेका छन्।ललितपुरका विधालयले वैकल्पिक माध्ययमबाट पठनपाठनलाई निरन्तरता दिईरहेका छन। 

छलफलमै भक्तपुर

भक्तपुर नगरपालिकामा भने कसरी सञ्चालनमा ल्याउने भन्ने छलफलमै छ।

नगरपालिका प्रमुख सुनिल प्रजापति पुषबाट सञ्चालनमा ल्याउनेबारे छलफल भईरहेको बताँउछन्।

‘ठूलो कक्षाबाटसञ्चालनको तयारीबारे छलफल भईरहेको छ।’उनी भन्छन,‘राय संकलनको काम भईरहेको छ। साना कक्षा जाडोपछि मात्र सञ्चालनमा ल्याउनेबारे छलफल केन्द्रित छ।’ 

नगरपालिकाले वैकल्पिक माध्ययमको सिकाईलाई भने निरन्तरता दिने जनाएको छ। भक्तपुरमा ३५ सामुदायिक५२ सस्थागत विधालय सञ्चालमा रहेका छन्। 
 

२४ मंसिर, २०७७, १५:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।