आन्दोलनरत चापागाईंलाई भेट्न सडकमै पुगिन् मन्त्री सुमना, के भयो दुईबीचको कुराकानी ?

आन्दोलनरत चापागाईंलाई भेट्न सडकमै पुगिन् मन्त्री सुमना, के भयो दुईबीचको कुराकानी ?

काठमाडौं : नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष नेत्र चापागाईले विगत पाँच दिनदेखि वालबिकास शिक्षा सुधारको लागि दबाबमूलक कार्यक्रम गरिरहेका छन्। उनी माइतीघरमण्डलामा ‘शैक्षिक अवसर सबैलाई बराबर, गुणस्तरीय शिक्षाको आधार इसीडी शिक्षामा सुधार’ लगायतका नारासहितको प्लेकार्ड लिएर विद्यार्थी र शिक्षकहरूको हकहितका निम्ति उभिएर विरोध गरिरहेका छन्।

उनले आगामी बजेटमा शिक्षकहरूको तलब बढाउने कुराको ग्यारेन्टी नभएसम्म शान्त नबस्ने बताएका छन्। आइतबार आन्दोलन स्थलमै पुगेकी शिक्षामन्त्री सुमना श्रेष्ठसँग उनले प्रधानमन्त्री र अर्थमन्त्रीको प्रतिवद्धता लिएर आउन आग्रह समेत गरेका छन्। 

उनले भने, ‘शिक्षकहरूको तलब बजेटमार्फत बढाउने कुराको ग्यारेन्टी नभएसम्म म बस्दिनँ। तपाईँको आग्रहप्रति मेरो सम्मान छ। अर्को भनेको बच्चाहरूको खाजा १५ रुपैयाँ तोकेको छ। त्यो मान्य हुँदैन। खाजा खर्च ५० रुपैयाँ बनाउनुपर्छ।’ 

निबन्ध जस्तो नीति कार्यक्रमप्रति आफू सन्तुष्ट नभएको पनि उनको भनाई छ। 

उनले भने, ‘अर्थमन्त्री र प्रधानमन्त्रीसँग बसेर यो कुराको समाधान गर्न सक्नुहुन्छ भने समझदारी गरेर आन्दोलन छोड्न तयार छु। सक्नुहुन्न भने अर्थमन्त्रीसँग बस्ने वातावरण शिक्षा मन्त्रालयले बनाइदियोस् म उहाँसँग बसेर कुरा गर्न तयार छु।’

उनले अटिजम भएका बालबालिकाहरूलाई विद्यालय खोल्ने वातावरण पनि बनाउनुपर्ने माग गरेका छन्।

उनले भने, ‘अटिजमको बालबालिकाहरूको जे समस्या छ र यो सातै प्रदेशमा बजेट मार्फत अटिजम भएको बालबालिकाहरूलाई एउटा स्कुल खोल्ने वातावरण पनि बनाउनुपर्छ।’

जवाफमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले नेपालमा काउन्सिलर र अटिजममा थेरापी गर्ने कसैको पनि लाइसन्स नभएको भन्दै अटिजम काउन्सिलरहरूको लागि इजाजतपत्रको व्यवस्था गर्न लागिरहेको बताइन्। जति नै भौतिक पूर्वाधार भएपनि त्यहाँ पढाउने शिक्षक नभएपछि त्यसको काम नहुने भन्दै यसमा आफू एकदमै गम्भीर भएर लागिसकेको उनको दाबी छ। 

उनले भनिन्, ‘सुधार गर्नुपर्छ भन्ने पक्षमा छु। नेपालमा न काउन्सिलरहरूको लागि लाइसेन्सिङ् छ, न अटिजमका लागि थेरापी गर्नेहरूको लाइसेन्सिङ् छ। जबसम्म लाइसेन्सको व्यवस्था आउँदैन, त्यतिबेलासम्म समस्या समाधान हुँदैन। सबैभन्दा पहिला यसलाई समाधान गर्नुपर्यो, सबै विषयमा हामी छलफलमा छौं। विज्ञहरू राखिसकेका छौं र स्वास्थ्यमन्त्रीसँग पनि म बसिसकेको छु।’ 

जेठ ६, २०८१ आइतबार १३:१९:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।