शितल निवासको राजनीतिक एडभेन्चर

शितल निवासको राजनीतिक एडभेन्चर

किसानहरु धान भित्र्याउने हतारोमा छन्। शरद ऋतुको शितलता हेमन्तमा प्रवेश गर्देछ, अर्थात जाडोयामका दिनहरु सुरु हुँदैछन्। 

कोरोना कहरबीच तिहार, दिपावली र छठकालागि किनमेल गर्नेहरुलाई फूर्सद छैन। यता राजनीतिक वृतमा भने सत्ताको सौदाबाजी चलिरहेको छ। 

सत्ताधारी नेकपाका शीर्ष नेताहरुबीचको कलह सतहमा आएको छ। बालुवाटर र धुमबाराहीका सम्बन्धहरु चिसिदै, सामान्य हुँदै जाने परम्पराहरु यसपटक अलिक पेचिलो देखिएको छ। 

सत्ताका जिम्मेवारहरुबीचको आपसी द्वन्द्वको व्यवस्थापन कसरी हुने हो ? यो बिषय पार्टीमा आवद्धहरुकोमात्र चिन्ताको विषय होइन्।

स्पष्ट बहुमतप्राप्त सरकारले जनताले अनुभव गर्ने काम गर्न नसकेको चिन्ताकासाथ पार्टीनै विभाजन त हुने होइन भन्ने आंशकाहरुले आकार लिएका छन्। 

मुलुकको कार्यकारीहरुका अन्र्तद्वन्द्व सतहमा आएर छरस्पट हुनु सामान्य कुरा होइन। यसले पार्ने असरहरु गहिरा हुन्छन्। जनताले बनाएको संविधानको कार्यान्वयन गर्ने र नेपाली जनको विकास र सम्बृद्धिको आकाक्षाहरुको सम्बोधन गर्ने प्रमुख जिम्मेवारीसाथ सत्तामा आएको सरकार आफैभित्र लड्नु भिड्नले राम्रो परिणाम दिदैन। 

हामीकहाँ एउटाले अर्कोको कामको लेखाजोखा गर्ने, निगरानी गर्ने, हस्तक्षेप गर्ने र सकेसम्म माथि उक्लन नदिने प्रवृती व्याप्त छ।

समाजमा आफुले गर्ने भन्दा अर्काले गरेका कामहरुको कमिकमजोरी र खोटहरु औल्याउने प्रवृती झाँगिएको छ। 

नेपालको राजनीतिक अभ्यासहरुले जनतामा आश्वस्त पार्न नसकेको विभिन्न कारण हुनसक्छन्। 

नेपालको भूराजनीतिक अवस्थिति र छिमेकीहरुको भूमिकाकै कारण यहाँ राजनीतिक स्थायीत्व भइरहेको छैन भन्ने आंकलन भैरहन्छन्। तर, हाम्रा राजनीतिका पक्ष र पात्रहरुको योग्यता क्षमताबारे बहस हुँदैन, गरिदैन। 

अहिलेका कार्यकारीहरु तीन दशकदेखी राजनीतिमा हाबि छन्। प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र तीनवटै राजनीतिक व्यवस्थाका निम्ति योगदान गरेकाहरु सफल आन्दोलनकारी हुन्। 

आन्दोलनका मसिहाहरु सफल कार्यकारी हुन्छन् भन्ने होइन रहेछ। अहिले त्यसकै प्रर्दशन हो। 

पार्टीका नेताहरु गुटका नेतामा सिमित भएको र सबैलाई सिंहदरबारनै चाहिएको अहिलेको राजनीतिले ठोस परिणाम दिन सक्तैन, जनअपेक्षा पुरा हुँदैनन्। 

नेताहरुको क्षमता जनताले अवगत गरेकै विषय हो। राजनीतिक व्यवस्था परिवर्तन हुनेवित्तिकै उनीहरुमा असिम क्षमता आर्जन हुने होइन। 

नेपालीले धेरै अपेक्षा गरेको तर प्रतिफल न्यूनतम पनि प्राप्त गर्न नपाएको अहिलेको अवस्था निम्ति नेताहरुको कार्यक्षमता, योग्यता र आपसमा समन्वय गर्ने क्षमताको अभाव हो। 

त्यस्तै  हामीकहाँ राजनीतिक पात्र र प्रवृतीबाहेक सबैधानिक संस्थाहरुको भूमिका पनि उत्तिकै महत्वपुर्ण हुन्छ । त्यहाँ पनि हाम्रो कमजोरी छ, त्यहाँ पनि राजनीतिक मोह र लालसा छन्। 

हाम्रा सबैजसो संवैधानिक संस्था राजनीतिकरणबाट मुक्त छैन। यहाँ अहिले एउटामात्र संवैधानिक संस्थाको चर्चा गरौं। त्यो भनेको शितल निवास अर्थात राष्ट्रपति कार्यालय।  

नेपालको संविधानले नेपालका राष्ट्रपतिलाई सबैधानिक महत्वमात्र दिएको छ कार्यकारी अधिकार दिएको छैन। तर, शितल निवास बेलाबेलामा राजनीतिक मामलामा मुछिएको समाचारहरु आउँछन्। 

राष्ट्रपतिले सरकारका काम कारवाहीबारे प्रधानमन्त्रीबाटमात्र जानकारी लिनसक्ने व्यवस्था छ। त्यो पनि औपचारिक रुपमा। 

राजनीतिक पार्टीको सक्रिय नेतानै राष्ट्रपतिको जिम्मेवारीमा पुग्ने गरेका छन्। राष्ट्रको अभिभावकीय जिम्मेवारीमा रहेको व्यक्तिले त्यस्तो पदमा पुगेपछि आफूलाई संवैधानिक दायरामा राख्नसक्नुपर्दछ। 

पदको मर्यादा जिम्मेवारी पाएको व्यक्तिलेनै राख्नसकेको अवस्थामात्र त्यसको महत्व बढ्ने हो। पदीय जिम्मेवारीलार्ई पार्टी विशेषको पक्षमा उपयोग गर्न मिल्दैन। 

अहिलेका राष्ट्रपति सत्तारुढ नेकपाको भोटबाट बनेका हुन्। यसको अर्थ उनी नेकपाकामात्र होइनन, मुलुकका राष्ट्रपति हुन्। 

नेकपाका नेताहरुको अहिले चलिरहेको सत्ता संघर्षमा राष्ट्रपतिले सुलहको भूमिका खेलेको चर्चा भइरहेको बेला शितल निवास कार्यकारी भूमिकामा उत्रिएको देखिदैंछ। 

हालैमात्र राष्ट्रपतिले स्वास्थ मन्त्रालयका पदाधिकारीहरुसँग कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि भइरहेका कामकाबारे जानकारी लिंदै दिक्षा दिने काम भयो। 

शितल निवासमा भएको दर्शन भेटमा राष्ट्रपतिबाट हरेक नागरिकको जीवन जोगाउनु राष्ट्रको पहिलो कर्तव्य भएको उद्गार व्यक्त भएको थियो। 

कोरोनाको निशुल्क उपचार गर्नुपर्दछ भन्ने सर्वोच्च अदालतका फैसलाहरु कार्यान्वयन नभएको सन्दर्भमा परेका रिटहरुमा अदालतले स्वास्थमन्त्रीलाई कारवाही गर्ने चेतावनी दिएको थियो। 

यही पृष्ठभूमिमा राष्ट्रपतिले मन्त्रालयका कर्मचारीलाई भेटेको देखिन्छ। अदालतको पछिल्लो आदेश पछि सरकार कोरोनाको निःशुल्क उपचार गर्ने निर्णय गरेर प्रचारमा उत्रिएको छ।

सरकारकै लोलीमा बोली मिलाउँदै शितल निवास प्रचारमा उत्रनु राम्रो संकेत होइन। 

शितल निवास राजनीतिक गर्ने थलो होइन। शितल निवासको राजनीतिक एडभेन्चर सवैधानिक विकासका निम्ति प्रत्युपादक बन्ने निश्चित छ। 

२७ कात्तिक, २०७७, १४:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।