उकेराको प्रतिबद्धता: तथ्यको खोजी अनि सत्यको गोडमेल

उकेराको प्रतिबद्धता: तथ्यको खोजी अनि सत्यको गोडमेल

व्यक्ति होस् या कुनै संस्था, अहिलेको परिवेशमा उतारचढाव नभई यात्रा अगाडि बढ्न सम्भव छैन। हो, यस्तै उतारचढाव पार गर्दै पाथसिड नेपाल प्रालीबाट प्रकाशित उकेराडटकम आजबाट दाेस्राे वर्ष पूरा गरी तेस्रो वर्ष प्रवेश गरेको छ।

तथ्यको खोजी अनि सत्यको गोडमेलको लक्ष्य लिएर प्रकाशन प्रारम्भ भएको उकेराडटकमको प्रारम्भिक दिनहरू पाठक र शुभेच्छुकहरूलाई यसको नामको अर्थ बुझाउँदैमा बित्यो। नेपाली झर्रो शब्द 'उकेरा' पनि हाम्रो नेपाली समाजका लागि नौलो भइसकेको अनुभव भयो।

तेस्रो वर्ष प्रवेश गर्दै गर्दा 'यो उकेरा भनेको के हो?' भन्ने प्रश्नभन्दा नयाँ पाठकसँग साक्षात्कार हुँदा 'ए उकेराबाट, राम्रो छ सामग्री' भन्ने चरणमा प्रवेश गर्नसक्नु नै हाम्रो उपलब्धि हो।

सामाजिक विषयवस्तुलाई प्रारम्भदेखि नै केन्द्रमा राख्दै आफ्ना सामग्री उत्पादन गर्दै आएको उकेरा टिमले सामाजिक विषयसँगै स्वास्थ्य, सुरक्षा, कला, आर्थिक अनियमितता उजागर गरेर आफ्नो अलग पहिचान बनाउन सकेको हाम्रो अनुभव छ।

हामीले यस क्षेत्रमा जे गर्न सकेका छौँ त्यो नै पर्याप्त पक्कै होइन। तर जति गर्न सकेका छौँ त्यसले उकेराको पहिचान निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हाम्रो ठम्याई छ।

मूल्य बढाउने दिनमा नेपाल आयल निगमका अधिकारीले डिपो सञ्चालकहरूसँगको मिलेमतोमा कसरी इन्धन बिक्री गर्छन् भन्ने खोजमुलक सामाग्री होस् या सरकारी अस्पतालमा कार्यरत माथिल्लो तहका अधिकारीको बदनियमपूर्ण अगाडि बढेको बढुवा खारेजीमा होस् उकेरामा प्रकाशित सामग्रीलाई पाठकले निकै सराहना गरेका छन्।

नेपाली चलचित्र क्षेत्रको विकासका लागि हामीले सधैँ क्रिटिकल सामग्री प्रकाशनमा जोड दिँदै आएका छौँ। र, यस क्षेत्रबाट जुन रूपमा रचनात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ त्यसबाट हामी थप उत्साहित छौँ।

साझा प्रकाशन जस्ता संस्थाको साङ्गोपाङ्गो केलाउने, द्वन्दसँग सरोकारै नभए पनि विद्रोही र सरकारको दोहोरो बन्दुकमा चेपिएका नागरिकको आवाजसँगै साहित्य क्षेत्रमा बढ्दो प्रतिलिपि अधिकार हनन्‌का सवाल हुन्, प्रश्न उठाउन उकेरा सधैँ अग्रपङ्क्तिमै उभिने प्रयासमा छ। इम्बोस्ड नम्बर प्लेटमा भएको खेलदेखि अन्तशुल्क स्टिकर छपाइमा भएको बदमासीसम्म हामीले क्षमताले भ्याएसम्म सार्वजनिक गर्ने प्रयास गर्यौँ र यो प्रयास जारी छ।

योबीचमा समाजको मनस्थिति नै हल्लाउने गरी तीन गम्भीर यौन अपराधका घटना सतहमा आए। नेपाली चलचित्रका नायक पल शाह र नेपाल क्रिकेट टोलीका तत्कालीन कप्तान सन्दीप लामिछाने नाबालिग बलात्कारको मुद्दामा जोडिए। अर्का मनोज पाण्डे एक किशोरीलाई प्रलोभनमा पारेर बलात्कार गर्ने घटनामा जोडिए।

समाजमा प्रशंसकहरू कमाइसकेका र समर्थकहरूको राम्रो समूह बनिसकेका उनीहरूबारे सामग्री पस्कनु निकै जोखिमको काम थियो। तर, उकेरा टिमले विचलित नभई गम्भीर अपराधको पीडितको पक्षमा आफ्ना धारणा पस्किरह्यो। महिला, किशोर-किशोरी र बालबालिकामाथि हुने गम्भीर अपराधको साङ्गोपाङ्गो केलाउन हामीले कहिल्यै हेलचेक्र्याइँ गरेनौँ।

उकेराले पाठकहरूबाट यति छोटो समयमा यति धेरै माया पाउन सफल हुनुको कारण यो पनि हो भन्ने हाम्रो ठम्याई छ।

कर्पोरेट क्षेत्रलाई केवल आर्थिक लाभको 'दुहुनो गाई'को रूपमा मात्र हेरेर आफू अनुकूल भए बोक्ने अनि आफू प्रतिकूल भए ठोक्ने नेपाली मिडियाको क्यान्सर प्रवृत्तिबाट जोगिनसक्नु उकेराको यो यात्राको अर्को सफलता हो भन्ने हाम्रो ठम्याई छ।

हामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मुखैमा छौँ। कुनै वाद, पार्टी र व्यक्तिको प्रभावमा नपरी असल व्यक्ति चुन्न मतदातालाई प्रोत्साहित गर्नु र उम्मेदवारहरूको असल अनि खराब पाटोबारे जानकारी गराउनु सञ्चारमाध्यमको दायित्व हो। यसमा उकेरा प्रतिबद्ध छ।

जुन क्षेत्र र वर्गबारे उकेराले सामग्री पस्केको छ, आफ्नो भरपुर क्षमताको उपयोग गरेर तथ्य केलाउँदै सत्य निकट पुगेर पस्कने प्रयास गरेको छ। कर्पोरेट क्षेत्रबारे हाम्रो धारणा प्रष्ट छ- 'यो केवल आर्थिक भरथेग गराउने क्षेत्र मात्रै होइन। सबै व्यापारी बदमास हुन्नन्। सबैको लक्ष्य राजस्व र कर छल्ने मात्र हुन्न।'

यस्ता प्रवृत्ति भएकाहरू हुँदै नभएका हैनन्। तिनका बदमासी सार्वजनिक गर्नु हाम्रै दायित्व हो। तर त्यसो भन्दैमा सबै निजी क्षेत्रका बदमास हुन् भन्ने भाष्य निर्माण गर्नु गलत हो भन्ने हाम्रो ठम्याई हो।

आर्थिक, सामाजिक, प्रशासनिक, कूटनीतिक क्षेत्रमा विकृति बढ्नुको पहिलो कारण राजनीति हो भन्नेमा हामी प्रष्ट छौँ। असल काम होस् या खराब त्यसको मुहान राजनीति नै हो। सरकार नै हो।

सरकार सञ्चालनमा जस्ता व्यक्ति पुग्छन्, त्यस्तै असर देखिने हो सबै क्षेत्रमा। त्यसैले सत्ता सञ्चालकहरूमाथि थप गहिरो निगरानी राखेर असल कामलाई प्रोत्साहन गर्नु र खराब कामको पर्दाफास गर्नु हाम्रो प्रमुख दायित्व हो।

हामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मुखैमा छौँ। कुनै वाद, पार्टी र व्यक्तिको प्रभावमा नपरी असल व्यक्ति चुन्न मतदातालाई प्रोत्साहित गर्नु र उम्मेदवारहरूको असल अनि खराब पाटोबारे जानकारी गराउनु सञ्चारमाध्यमको दायित्व हो। यसमा उकेरा प्रतिबद्ध छ।

आगामी दिनमा गर्नुपर्ने दायित्व धेरै छ उकेरा समूहको। सीमित स्रोत र सानो समूहका कारण हामी सबै क्षेत्रमा पुग्न सफल भएका छैनौँ। केही निश्चित क्षेत्र केन्द्रित हुँदा अन्य क्षेत्रमाथि राख्नुपर्ने निगरानीमा चुकिरहेका छौँ।

आर्थिक क्षेत्र, खेल क्षेत्र, प्रशासनिक क्षेत्र अनि राजनीतिक क्षेत्रबारे हामीले चाहेजति क्रिटिकल सामग्री उत्पादन गर्न सकेका छैनौँ। हाम्रो तेस्रो वर्षको यात्राको एक लक्ष्य समेट्न नसकेको क्षेत्रमा उकेरालाई केन्द्रित गर्नु पनि हो।

अन्तमा मिडियाको सम्पत्ति भनेको पाठक र शुभेच्छुकहरूको रचनात्मक प्रतिक्रिया नै हो। यसमा उकेरा निकै भाग्यमानी छ। यो हाम्रो सफलता पनि हो। यो माया सधैँ कायम रहोस्।

स्थापनाकालबाटै सुरु भएको 'सात दिन, सात कोलम'लाई दोस्रो वर्षसम्म पनि हामीले निरन्तरता दिन सकेका छौँ। यो ठूलै सफलता हो हाम्रो समूहको भन्ने हाम्रो बुझाइ छ।

पाठकहरूले पनि हाम्रा कोलम रुचाउनु भएको छ। आगामी दिनमा थप नयाँ कोलमसहित यसलाई निरन्तरता दिनेछौँ।

पठनयोग्य र विश्वासिलो सामग्री प्रकाशित गर्ने हो भने सञ्चारमाध्यमले आफ्नो आर्थिक भार थेग्न केवल कर्पोरेट क्षेत्रको मात्र भर पर्नुपर्दैन। सःशुल्क सामग्री पढ्ने पाठकको समूह निर्माण भइसकेको छ भन्ने हाम्रो विश्वास हो। तेस्रो वर्ष प्रवेश अगाडिसम्म यस पक्षमा उकेरा अगाडि बढ्ने नै छ।

अन्तमा मिडियाको सम्पत्ति भनेको पाठक र शुभेच्छुकहरूको रचनात्मक प्रतिक्रिया नै हो। यसमा उकेरा निकै भाग्यमानी छ। यो हाम्रो सफलता पनि हो। यो माया सधैँ कायम रहोस्।

आगामी यात्रामा उकेराले पाठक अनि हाम्रा शुभेच्छुकहरूलाई निरास होइन थप उत्साहित बनाउने बाचा गर्दै अहिलेसम्मको यात्रामा साथ र हौसला दिने सबैलाई हाम्रो समूहको हृदयभरीको धन्यवाद।

-अध्यक्ष
 सुरेश ढकाल

१५ कात्तिक, २०७९, ०७:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।