आईपीएलमा विराट कोहली र ट्राभिस हेडको विवादपछि बोलिन् हेडकी पत्नी
एजेन्सी : इन्डियन प्रिमियर लिग (आईपीएल)का दौरान भारतीय ब्याटर विराट कोहली र अस्ट्रेलियाली क्रिकेटर ट्राभिस हेडबीच भएको विवादलाई लिएर हेड र उनकी पत्नी जेसिका सामाजिक सञ्जालमा ट्रोलिङको सिकार भएका छन्।
शुक्रबार राति हैदरावादको राजीव गान्धी अन्तर्राष्ट्रिय रङ्गशालामा सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बेंगलुरुबीच खेल भएको थियो।
खेलका क्रममा कोहली र हेडबीच केही असमझदारी र इसाराहरू भएका थिए। खेल सकिएपछि हेडले हात मिलाउनका लागि हात बढाए पनि कोहलीले उनलाई बेवास्ता गर्दै अघि बढेका थिए।

यस घटनापछि कोहलीका प्रशंसकहरूले सामाजिक सञ्जालमा ट्राभिस हेडमाथि गालीगलौज र विभिन्न टिकाटिप्पणी गर्न थालेका हुन्।
यो दुर्व्यवहारबारे हेडकी पत्नी जेसिकाले अस्ट्रेलियाली सञ्चारमाध्यम ‘द एडभरटाइजर’ सँग कुरा गर्दै दुखेसो पोखेकी छन्।
उनले भनिन्, ‘यो दुर्व्यवहार विगतमा विश्वकप सकिएपछि भोग्नुपरेको जस्तै लाग्दैछ। बिहान उठ्नेबित्तिकै सामाजिक सञ्जालमा गालीगलौज देखियो। हामी त ठीकै छौँ, तर उनीहरूले मेरा साथीहरू र परिवारलाई समेत निसाना बनाइरहेका छन्। खेलमा जोस र आवेग हुनु स्वाभाविक हो, तर खेलाडी र उनीहरूका परिवारसँग कुरा गर्ने तरिका पनि सभ्य हुनुपर्छ।’
उक्त खेलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बेंगलुरुलाई ५५ रनले पराजित गरेको थियो। खेलमा कोहलीले ११ बलमा १५ रन मात्र बनाएका थिए।
खेल चल्दै गर्दा हेड र कोहलीबीच चर्को भनाभन भएको भए तापनि उनीहरूबीच कुन विषयलाई लिएर विवाद सुरु भएको हो भन्ने कुरा स्पष्ट भइसकेको छैन।
जेठ ११, २०८३ सोमबार १०:३३:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।