जनआस्थाका प्रधान सम्पादक श्रेष्ठलाई चीनबाट फोन “सुदन गुरुङ हाम्रो लागि खतरनाक मान्छे हो”, गेटमा रक्सी र पैसा राखेर हिँडिन अज्ञात युवती
काठमाडौं : पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा निवर्तमान गृहमन्त्री सुधन गुरुङका शंकास्पद गतिविधिबारे समाचार प्रकाशित गरिरहेको जनआस्था साप्ताहिकका र प्रधानसम्पादक किशोर श्रेष्ठलाई चीनको नम्बरबाट सुधन गुरुङ खतरनाक मान्छे भन्दै कल आएको खुलेको छ।
जेठ ८ गते शुक्रबार बिहानबाट श्रेष्ठलाई 'सौरभ यादव' को नाममा दर्ता रहेको चिनियाँ (+8618825241624) नम्बरबाट आएको फोनमा आफूलाई 'मिस्टर यिङ' बताउने र बेइजिङबाट बोलेको दाबी गर्ने व्यक्तिले सांसद सुधन गुरुङविरुद्ध नकारात्मक माहोल बनाउन नेपालका मिडिया परिचालन गर्ने प्रस्ताव गर्दै उनले भने ‘उ(सुधन) हाम्री लागि ठिक छैन।
श्रेष्ठका अनुसार फोनकर्ताले उनलाई आर्थिक प्रलोभन दिएका थिए। उनले आइन्दा फोन नगर्नु भनेर सचेत गराएको तर सानेपामा रहेको जनआस्था कार्यालयको गेटमा एक अज्ञात युवतीले ५० हजार नगद र एक बोतल रक्सी छाडेर गएको उनले उकेरालाई जानकारी दिए।
सम्पत्ति शुद्धीकरण लगायतका शंकास्पद कारोबारमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका दीपक भट्ट समूहको लगानी रहेको कम्पनीको संस्थापक शेयर लगानी र उनको सम्पत्तिको स्रोतबारे विवाद भएपछि सुधन मन्त्रीबाट राजीनामा दिन बाध्य भएका थिए।
पछिल्लो समय निर्वाचन आयोगमा सुधनले बुझाएको सम्पत्ति विवरण र मन्त्रीको रूपमा सरकारले सार्वजनिक गरेको सम्पत्ति विवरण समेत फरक फरक देखिएको छ। जेनजी आन्दोलनदेखि नै आन्दोलनको हाइज्याकरको रूपमा आलोचित गुरुङको हामी नेपाल संस्थाको गतिविधि र फ्री तिब्बतसँगको सम्बन्ध समेत शंकास्पद देखिन्छ।
सुधनको सम्पत्ति र सम्बन्धबारे विवाद भएपछि सरकारले नै उनको सम्पत्तिको स्रोतबारे अनुसन्धान गर्न आयोग गठन गरेको छ। सो आयोगलाई उनले मन्त्रीको रूपमा सार्वजनिक गरेको सम्पत्तिको स्रोतमात्र अनुसन्धान गर्ने कार्यक्षेत्र तोकिएको हो वा हामी नेपालसहितको उनको सबै सम्पत्तिको स्रोतको छानबिन गर्न जिम्मेवारी तोकिएको हो सो भने खुलेको छैन।
‘सुधनको नाममा बदनाम गराउने षड्यन्त्र’
आफूलाई कल गरेर रविले सुधनलाई गृहमन्त्री बन्न दिन्न, नराम्रो कुरा फैलाएर जसरी पनि रोक्नुपर्छ भन्ने र पछि कार्यालयको गेटमा अपरिचित व्यक्ति पठाएर रक्सीको बोतल र पैसा छाडेर जाने गतिविधि बदनाम गराउने षड्यन्त्र अनुसार भएको श्रेष्ठले बताए।
उनका अनुसार शुक्रबार अपराह्न ५:१२ बजे मास्क र कालो चस्मा लगाएकी, साइड ब्याग बोकेकी एक युवती जनआस्था कार्यालयको गेटमा आएर पैसा र रक्सी छाडेकी थिइन्। सेक्युरिटी क्यामराको फुटेजमा देखिए अनुसार, ती युवतीले आफ्नो हातमा रहेको नीलो प्लास्टिकको झोला गेटमा दिएको देखिन्छ। कार्यालयका कर्मचारीले उक्त झोला खोलेर हेर्दा त्यसभित्र एक बोतल रक्सी र ५० हजार रुपैयाँ नगद फेला परेको श्रेष्ठले बताए।
श्रेष्ठका अनुसार डिजिटल संवादमा 'ह्वाइट क्रेन' (सेतो सारस) नाम प्रयोग गर्ने ती युवतीले सामान छाडेर गए लगत्तै चिनियाँ नम्बरबाट पुनः फोन आएको र सामान फिर्ता लैजान र आइन्दा यस्तो वाहियात कुरा नगर्न कडा जवाफ दिएको उनले बताए।
सामाजिक सञ्जालमा फैलियो स्क्रिनसट र अडियो
आइतबार सामाजिक सञ्जालमा मेकानिकल इन्जिनियर शैलेश साहको फेसबुक आइडीबाट भिडियो सार्वजनिक गरियो, जसमा श्रेष्ठ र ती अज्ञात व्यक्तिबीचको फोन संवाद र च्याटका स्क्रिनसटहरू राखिएका थिए।
उक्त च्याटको स्क्रिनसटमा श्रेष्ठले नै "मैले ५० हजार र एउटा बोतल मात्रै पाएँ, समाचार भाइरल बनाइसकेँ" भनी लेखेको देखाइएको छ। श्रेष्ठले जनआस्था र आफूलाई बदनाम गराउन यी सबै प्रपञ्च भएको भन्दै भने “त्यो च्याटको स्क्रिनसट पूरै फेक र एडिटेड हो। फोनमा आवाज मेरै भए पनि गलत अर्थ लाग्ने गरी काँटछाँट गरिएको छ। तथ्यको खण्डन गर्न नसकेपछि मिडिया हाउसलाई बदनाम गर्न रचिएको घिनलाग्दो षड्यन्त्र हो।"
मास्क लगाएको युवती खोज्दै प्रहरी
श्रेष्ठका अनुसार शंकास्पद गतिविधिबारे शुक्रबार नै नेपाल प्रहरीका सम्बद्ध उच्च अधिकारीहरूलाई जानकारी दिइएको छ। यसबारे जिल्ला प्रहरी कार्यालय ललितपुरमा मौखिक उजुरी दिएको खुल्यो। ललितपुरका एक प्रहरीले गेटमा सामान छाडेर जाने युवतीबारे अनुसन्धान भइरहेको बताए। 'फेक' स्क्रिनसट र अडियो सामाजिक सञ्जालमा राख्ने विरुद्ध साइबर व्युरोमा जानकारी गराएको उनले बताए।
जेठ १०, २०८३ आइतबार २१:००:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।