एमाले सचिवालयमा नेताहरूले धारणा राख्ने क्रम जारी, दबाबमा अध्यक्ष ओली

एमाले सचिवालयमा नेताहरूले धारणा राख्ने क्रम जारी, दबाबमा अध्यक्ष ओली

काठमाडौं : निर्वाचनमा व्यहोरेको अप्रत्याशित पराजयपछि एमालेभित्रबाटै अध्यक्ष केपी शर्मा ओलीमाथि नैतिक जिम्मेवारी लिँदै राजीनामा गर्न दबाब बढेको छ। चुनावी पराजयको समीक्षा गर्न शुक्रबारदेखि जारी सचिवालय बैठकमा अध्यक्ष ओलीको राजीनामा र पार्टी पुनर्गठनको विषय सशक्त ढंगले उठेको छ।

सचिवालयमा धारणा राखेका केही सदस्यले पार्टीको साख जोगाउन उनको राजीनामा अपरिहार्य रहेको भनेका छन् भने केहीले पार्टी पुनर्गठनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका छन्। ओलीका विश्वासपात्रहरू नै अब उनको निरन्तरताको पक्षमा देखिएका छैनन्। बैठकमा महासचिव, उपमहासचिव र उपाध्यक्षले धारणा राखेका छन्।

बैठकमा बाँकी पदाधिकारीले धारणा राखेपछि ओलीले आइतबारको बैठकमा जवाफ दिनेछन्। एमाले उपमहासचिव लेखराज भट्टका अनुसार आइतबार पुनः बस्ने बैठकमा बाँकी चार सचिवले आफ्नो धारणा राख्नेछन्। सबै नेताहरूको धारणा आएपछि प्रस्तावित एजेन्डामाथि निर्णय प्रक्रिया अघि बढाइने उनले जानकारी दिए।

उनले भने, "पाँच जना नै सचिवहरू बोल्नुभयो र आ-आफ्ना लागेका विषयवस्तुहरू राख्नुभयो र गहिरोसँग सबैले हिजोदेखि आजसम्ममा आफूलाई लागेका अनुभूतिहरू, अनुभवहरू सबै त्यहाँ राख्नुभएको छ। र भोलि फेरि बाँकी ४ जना सचिवहरूले कुरा राख्न बाँकी छ। उहाँहरूले राखिसकेपछि अनि हामी प्रस्तावित ११ वटा एजेन्डा जो प्रस्तुत छ, त्यसमा छलफलमा जान्छौं र साढे ११ बजेबाट भोलि बैठक सुरु हुन्छ र बीचबीचमा अध्यक्षले यसो बैठकलाई दिशा निर्देशन पनि गर्नुभएको थियो।"

बैठकमा उठेका विषयहरूलाई लिएर बाहिर आएका समाचारहरूप्रति उनले असन्तुष्टि व्यक्त गर्दै भनेका छन्, "बैठकमा भएका चिजहरू अलि अतिरञ्जित पाराले बाहिर आएका छन्।" पार्टीभित्र विभिन्न प्रवृत्ति र विचार हुनु स्वाभाविक भए पनि त्यसलाई पार्टीको नीति र अनुशासनभित्रै राखेर सम्बोधन गर्नुपर्नेमा उनले जोड दिएका छन्।

भट्टले थपे, "म जुन स्कुलिङबाट आएको छु, त्यसमा हरेक कुरा पार्टीको मुख्य लाइनभन्दा बाहिर बोल्नुहुन्न भन्ने लाग्छ। पार्टीको अनुशासन, विधि र पद्धतिमा बसेर आफ्ना कुरा कमिटीभित्रै राख्नुपर्छ।" भोलि बैठकको अन्त्यपछि मात्रै पार्टीले गरेका निर्णयहरू सार्वजनिक गरिने उनले स्पष्ट पारेका छन्।

जेठ ९, २०८३ शनिबार २१:४५:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।