वैदेशिक रोजगारीका नाममा साढे ५ करोडभन्दा बढी ठगी गर्ने ५ जना पक्राउ

वैदेशिक रोजगारीका नाममा साढे ५ करोडभन्दा बढी ठगी गर्ने ५ जना पक्राउ

काठमाडौं : आकर्षक तलबको प्रलोभन देखाएर वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले बिहीबार ५ जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो। पीडितहरूले दिएको उजुरीका आधारमा उनीहरू पक्राउ परेका हुन्।

धादिङका शरण थापाले सिङ्गापुर पठाइदिन्छु भन्दै ४३ जना पीडितहरूबाट ५ करोड १ लाख १२ हजार रुपैयाँ ठगी गरेका थिए। उनलाई काठमाडौं महानगरपालिका-१० बाट पक्राउ गरिएको हो।

झापामा उत्तम गुरूङले स्पेन पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४२ लाख रुपैयाँ ठगी गरेका थिए। उनलाई काठमाडौं महानगरपालिका-६ बाट पक्राउ गरिएको हो।

सुनसरीका अर्जुन कुमार चौधरीले पोर्चुगल पठाइदिन्छु भन्दै ७ जना पीडितहरूबाट २५ लाख रुपैयाँ ठगी गरेका थिए। उनलाई काठमाडौं महानगरपालिका-१० बाट पक्राउ गरिएको हो।

मोरङका विष्णु सिलवालले मकाउ पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ११ लाख रुपैयाँ ठगी गरेका थिए। उनलाई गोकर्णेश्वर नगरपालिका-८ बाट पक्राउ गरिएको हो।

काठमाडौंका प्रियंका कुमारी चौधरीले पोल्याण्ड पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७ लाख रुपैयाँ ठगी गरेकी थिइन्। उनलाई काठमाडौं महानगरपालिका-११ बाट पक्राउ गरिएको हो।

पक्राउ परेकाहरूले पीडितहरूबाट मोटो रकम असुल गरी सम्पर्कविहीन भएका थिए। पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

जेठ ९, २०८३ शनिबार ०८:०९:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।