जेठ १५ देखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने
काठमाडौं : काठमाडौं उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा यही जेठ १५ गतेदेखि यात्रुको लगेज (झोला) ट्याग प्रणाली लागू गरिने भएको छ।
यात्रुको सामान सुरक्षित बनाउन, झोला हराउने वा साटिने समस्या अन्त्य गर्न र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउन यो प्रणाली लागू गर्न लागिएको हो।
यस सम्बन्धमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासङ्घबीच औपचारिक सम्झौता भएको छ।
सम्झौतापत्रमा ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी र महासङ्घका अध्यक्ष सरोज सिटौलाले हस्ताक्षर गरेका छन्।
कसरी काम गर्छ यो प्रणालीले?
यस प्रणालीअन्तर्गत बस काउन्टरबाट यात्रुको लगेजमा एउटा नम्बरसहितको ट्याग लगाइनेछ र सोही नम्बरको ट्याग यात्रुलाई दिइनेछ। गन्तव्यमा पुगेपछि दुवै ट्याग नम्बर भिडाएर मात्र सामान हस्तान्तरण गरिनेछ।
यसबाट हवाई यात्रामा जस्तै सार्वजनिक बसमा पनि आधुनिक व्यवस्थापन सुरु हुने र आगामी दिनमा यसलाई क्युआर कोड तथा डिजिटल प्रणालीमा लैजाने योजना रहेको छ।
विशेष गरी चाडपर्व, भीडभाड तथा रात्रिकालीन यात्राका क्रममा सामान हराउने र चोरी हुने समस्या रोक्न यो सहकार्य फलदायी हुने विश्वास गरिएको छ।
मनसुनजन्य विपद् न्यूनीकरण अभियान पनि सुरु
यसैबीच, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले वर्षायाममा हुन सक्ने सडक दुर्घटना, पहिरो तथा सवारी अवरोधलाई लक्षित गर्दै “सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान–२०८३” पनि शुभारम्भ गरेको छ।
यस अभियानअन्तर्गत सवारी साधनको प्राविधिक अवस्था परीक्षण, चालकको स्वास्थ्य जाँच र जोखिमयुक्त सडकको निगरानी गरिने जनाइएको छ।
जेठ ९, २०८३ शनिबार ०७:१९:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।