विपीदेखि देउवासम्मको तस्बिर राखेर कांग्रेस इतर समूहले खोल्यो कार्यालय

विपीदेखि देउवासम्मको तस्बिर राखेर कांग्रेस इतर समूहले खोल्यो कार्यालय

काठमाडौं : नयाँ पार्टी गठनका लागि सक्रिय देखिएको नेपाली कांग्रेसको संस्थापन इतर समूहले काठमाडौंको अनामनगरमा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ। कार्यालयमा पार्टीका संस्थापक नेता विपी कोइरालादेखि निवर्तमान सभापति शेरबहादुर देउवासम्मको तस्बिर राखिएको छ।

तत्काल सम्पर्क कार्यालय भनिए पनि नयाँ पार्टी दर्ता गर्ने उद्देश्यसहित उक्त कार्यालय खोलिएको बताइएको छ। आगामी प्रदेश र स्थानीय तहको निर्वाचनअगाडि नै नयाँ पार्टी दर्ता गर्नेगरि सक्रिय बनेको संस्थापन इतर समूह नयाँ पार्टीको नाम र चुनाव चिन्हको खोजी रहेको छ।

पार्टीको नाममा ‘कांग्रेस' शब्द नछाड्ने र चुनाव चिन्हमा ‘हिन्दु धर्म’ झल्कने कुनै संकेत राख्ने विषयमा नेताहरूबीच प्रारम्भिक छलफल चलिरहेको स्रोतको भनाई छ। नयाँ पार्टी निर्माणको प्रक्रियामा नेताहरू कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि र प्रकाशमान सिंह मुख्य रूपमा सक्रिय छन्। 

विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको कार्यशैली र १५औँ महाधिवेशनको तयारीमा भएको एकलौटी निर्णयप्रति उनीहरू असन्तुष्ट छन्। वर्तमान नेतृत्वले क्रियाशील सदस्यता अद्यावधिक गर्ने बहानामा आफू अनुकूलका व्यक्तिहरूलाई मात्र समेटेको उनीहरूको बुझाइ छ। 

नयाँ पार्टीको नेतृत्वका लागि पूर्णबहादुर खड्का, विमलेन्द्र निधि वा प्रकाशमान सिंहमध्ये एक जना अघि सर्ने सम्भावना छ। सिटौला पक्षले निवर्तमान सभापति शेरबहादुर देउवाको समेत यस प्रक्रियामा मौन समर्थन रहेको दाबी गरेको छ। यद्यपि, शेखर कोइराला र शशांक कोइरालाले नयाँ पार्टी गठन गर्ने विषयमा अहिलेसम्म खुलेका छैनन्। यद्यपि सिटौला र निधिले उनीहरूको साथ खोजिरहेका छन्।

नयाँ पार्टी खोल्न सक्रिय बनेका नेताहरू राप्रपाको विकल्पका रूपमा हिन्दु धर्मको एजेन्डालाई मुख्य राजनीतिक मुद्दा बनाउने रणनीतिमा छन्। स्रोतका अनुसार राप्रपाले धर्मसँगै राजसंस्थाको मुद्दा पनि उठाएका कारण प्रभाव विस्तार हुन नसकेको विश्लेषणका आधारमा उनीहरू केवल धर्मको जगमा राजनीति गर्ने योजनामा देखिन्छन्।

उता सभापति गगन थापा लगायत संस्थापन पक्ष भने पार्टीभित्रको विवरणलाई व्यवस्थित बनाउन मात्र सदस्यता अद्यावधिक गरिएको दाबी गरिरहेको छ। नयाँ पार्टी खोल्न सक्रिय बनेको समूह महाधिवेशनमा सहभागी नहुने अवस्था आए पनि उनीहरूको कोशी, कर्णाली तथा काठमाडौंका भेलाहरू निकै कमजोर देखिएको गगन पक्षको मूल्याङ्कन छ। जसले पार्टीको ठूलो समूह मूल कांग्रेसमै रहनेमा विश्वस्त देखिएको छ। 

जेठ ५, २०८३ मंगलबार १६:१६:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।