प्रतिनिधि सभा बैठक आज : आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु हुने

प्रतिनिधि सभा बैठक आज : आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु हुने

काठमाडौं : सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज सोमबार बस्दैछ।

सङ्घीय संसद् भवन सिंहदरबारमा बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेटको पूर्वतयारी र प्रतिनिधि सभा नियमावलीसम्बन्धी दुईवटा मुख्य सम्भावित कार्यसूची तय गरिएका छन्।

सङ्घीय संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल प्रारम्भ हुनेछ।

प्रि-बजेट छलफलका रूपमा लिइने यस प्रक्रियामा कर प्रस्तावबाहेकका विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा मात्र सांसदहरूले आफ्नो धारणा राख्नेछन्।

गत वैशाख ३१ गते अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रतिनिधि सभाको बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए।

त्यसैगरी, बैठकको सुरुमै प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ।

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथि विचार गरियोस्’ भनी सदनमा प्रस्ताव प्रस्तुत गर्नेछन्।

सभापति पराजुलीको प्रस्तावसँगै उक्त प्रतिवेदनमाथि सदनमा छलफल अघि बढ्नेछ।

जेठ ४, २०८३ सोमबार ०७:३२:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।