कोरलानाकामा सञ्चार सुविधा सुधार, थप ‘बिटिएस’ उपकरण जडान
मुस्ताङ : नेपाल-चीन उत्तरी सीमावर्ती कोरलानाकाको दशगजा क्षेत्रमा सञ्चार पहुँचलाई थप भरपर्दो बनाउन माइक्रोवेब बिटिएस टावरको क्षमता विस्तार गरिएको छ।
लोमान्थाङ गाउँपालिकाको समन्वयमा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखरा र जोमसोम कार्यालयको प्राविधिक टोलीले नाकामा थप सञ्चार उपकरण जडान गरेको हो।
कोरलानाकामा तीन वर्षअघि नै नेपाल टेलिकमले सञ्चार पहुँच स्थापित गर्न माइक्रोवेब रेडियो लिङ्कको बिटिएस टावर जडान गरेको थियो।
तर, उपकरणको क्षमता कम हुँदा त्यहाँ पुग्ने पर्यटक र व्यापार गरी बस्ने व्यवसायीले भरपर्दो सञ्चार सुविधा पाउन सकेका थिएनन्।
नेपाल विद्युत् प्राधिकरणले नाकासम्म विद्युत् पोल विस्तार गरे पनि प्रसारण लाइन सञ्चालनमा नआएका कारण यहाँको टावर सौर्य ऊर्जाको भरमा चल्दै आएको छ।
नाकामा देखिएको टेलिफोन र इन्टरनेटको समस्या समाधान गर्न सौर्य ऊर्जा प्रणालीको क्षमता दोब्बर पारिएको टेलिकम जोमसोम कार्यालयका प्रमुख हुमबहादुर भुजेलले जानकारी दिए।
‘माइक्रोवेब रेडियो लिङ्क टावरलाई नियमित र सहज रूपमा सञ्चालन गर्न टुजी र फोरजी बिटिएसको ब्याट्री ब्याकअप र सोलार प्यानल थप गरेका हौँ,’ प्रमुख भुजेलले भने, ‘यसका लागि २० वटा सोलार प्यानल र १५० एम्पियरका तीनवटा ब्याट्री जडान गरिएको छ।’
यसअघि ऊर्जा अभावमा टावर बेलाबेला बन्द हुने समस्या थियो। बिटिएस टावरको क्षमता बढाएपछि अब कोरलानाकामा २४सै घण्टा मोबाइल नेटवर्क र इन्टरनेट सुविधा उपलब्ध हुने लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बताए।
सञ्चार सेवामा सुधार भएसँगै कोरलानाका पुग्ने पर्यटक, सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी र स्थानीय व्यापारीहरू लाभान्वित भएका छन् । नाकामा टुजी र फोरजी दुवै सेवा सुचारु भएपछि सूचना आदानप्रदानमा सहजता थपिएको छ।
जेठ ४, २०८३ सोमबार ०९:२९:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।