घाँस काट्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु

घाँस काट्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु

हेटौंडा : मकवानपुरको भिमफेदीमा घाँस काट्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भिमफेदी गाउँपालिका वडा नं. १ किसेडी बलटोल बस्ने ४५ वर्षीया कमला स्याङतान रहेकी छन्।

प्रहरीका अनुसार जेठ ३ गते बिहीबार बिहान करिब ८ बजे आफ्नै घरबाट करिब १ किलोमिटर उत्तरतर्फ रहेको जंगलमा घाँस काट्न गएको अवस्थामा उनी रुखबाट लडेकी थिइन्।

रुखमा चढेर घाँस झार्ने क्रममा लडेर गम्भीर घाइते भएकी स्याङतानलाई जंगलमा घाँस काट्न गएका अन्य स्थानीयले देखेपछि आफन्तलाई खबर गरेका थिए।

गम्भीर घाइते उनलाई उपचारका लागि छोराले तत्काल हेटौंडा अस्पताल पुर्याएका थिए। अस्पतालमा चिकित्सकले चेकजाँच गर्ने क्रममा बिहान ९ बजे उनलाई मृत घोषणा गरेका हुन्।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी भैंसेबाट प्रहरी नायब निरीक्षक (सई) भरत कुमार खड्काको टोली र थप अनुसन्धान तथा मुचुल्काका लागि इलाका प्रहरी कार्यालय भिमफेदीबाट प्रहरी निरीक्षक सन्त कुमार श्रेष्ठको टोली खटिएको थियो।

हेटौंडा अस्पतालमा शवको पोस्टमार्टम पश्चात् बिहीबार दिउँसो १:२० बजे मृतकका भाइ मोहन बलले शव बुझिलगेको प्रहरीले जनाएको छ।

जेठ ४, २०८३ सोमबार ०९:४१:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।