नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीले जवाफ दिने

नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं : सङ्घीय संसद्मा प्रस्तुत सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन शाहले नदिने भएका छन्।

संसद् सचिवालयले यसअघि जारी गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शाहले जवाफ दिने उल्लेख भए तापनि अन्तिम समयमा उनको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई अगाडि सारिएको छ।

अहिले केहीबेरमा बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री वाग्लेले सरकारको तर्फबाट सांसदका जिज्ञासाको सम्बोधन गर्ने तय भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू र अर्थमन्त्रीको सचिवालयले प्रधानमन्त्रीको तर्फबाट वाग्लेले जवाफ दिने पुष्टि गरेका छन्।

सामान्यतया सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री आफैँले दिने संसदीय परम्परा रहे तापनि बालेनले भने सो जिम्मेवारी अर्थमन्त्रीलाई सुम्पिएका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बालेन शाह बीचमै बैठक छाडेर हिँडेका थिए।

संसदीय मर्यादा विपरीतको उक्त कार्यलाई लिएर प्रतिपक्षी दलहरूले संसद्मा सरकारको कडा आलोचना गर्दै जवाफ मागिरहेका छन्।

संसद्को पहिलो अधिवेशनदेखि नै हालसम्म एक शब्द पनि नबोलेका प्रधानमन्त्रीले आजको महत्त्वपूर्ण छलफलमा पनि नबोल्ने निर्णय गरेपछि उनको कार्यशैलीप्रति थप प्रश्न उठेको छ।

आजको प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत हुनेछ।

छलफलपछि सांसदहरूबाट प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने र आजै नीति तथा कार्यक्रम पारित गर्ने संसद् सचिवालयको तयारी छ।

वैशाख ३०, २०८३ बुधबार ११:०४:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।