चरम विवादकाबीच अनुमोदित ६० अर्बको एमसिसी परियोजना रोकियो

चरम विवादकाबीच अनुमोदित ६० अर्बको एमसिसी परियोजना रोकियो

काठमाडौं : निकै विवाद र माथापच्चीबाट बल्लबल्ल नेपालमा अनुमोदन भएको  ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसिसी) अन्तर्गतका परियोजना स्थगित भएको छ। अति राजनीतिकरणका कारण दलदेखि समाजसम्म विभाजित भएको करिब ६० अर्ब रुपैंयाको एमसिसी परियोजना तत्कालका लागि स्थगित भएको अर्थ मन्त्रालयले मंगलबार जानकारी दिएको हो।

मन्त्रालयका अनुसार एमसिसी स्थगित भएकोबारे नेपाल सरकारलाई २०८१ फागुन २ मा इमेल आएको थियो। इमेलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको  २०२५ जनवरी २० को कार्यकारी आदेश अनुसार एमसिसीको भुक्तानी ९० दिनका लागि स्थगित भएको उल्लेख थियो।

 

नेपालको विद्युत् ट्रान्समिसन लाइन र सडक निर्माण लगायतमा सहयोगका लागि अति विवादकाबीच नेपाल सरकार र एमसिसी कार्यालयबीच २०७४ भदौ २९ मा सम्झौता भएको थियो। प्रमुख दलहरुबीचै यो सम्झौताबारे विवाद भएपछि २०७८ फागुन १६ मा प्रतिनिधी सभाले व्याख्यासहित यो सम्झौता अनुमोदन गरेको थियो।

मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा ‘अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले इमेल पत्रमार्फत नेपाल सरकार र उक्त निकायबिच संवत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यान्वयन भइरहेका आयोजनाहरूसँग सम्बन्धित एमसिसी फण्डबाट भुक्तानी हुने क्रियाकलापहरू अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशअनुसार रोकिएको ब्यहोरा सरोकारवालाहरूलाई जानकारी गराइन्छ’ उल्लेख छ।

एमसिसी अन्तर्गत नुवाकोटको रातमाटेदेखि बुटवल हुँदै गोरखपुरसम्म चार सय केभीए क्षमताको प्रसारण लाइन निर्माण  गरिने, विभिन्न पाँचवटा सडकको स्तरोन्नति गर्ने लगायतका विषयमा सम्झौता भएको थियो।

फागुन ६, २०८१ मंगलबार २०:१२:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।