१४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँको सामान आयातहुँदा १ खर्ब ४३ अर्ब ५८ करोडका वस्तु मात्र निर्यात

१४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँको सामान आयातहुँदा १ खर्ब ४३ अर्ब ५८ करोडका वस्तु मात्र निर्यात

काठमाडौँ : चालु आर्थिक वर्षको ११ महिनामा १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ बराबरको विभिन्न सामाग्री आयातहुँदा १ खर्ब ४३ अर्ब ५८ करोड रुपैयाँको वस्तु निर्यात भएको छ। गत आर्थिक वर्षको तुलनामा आयातमा १.८४ प्रतिशत कम देखिन्छ। उता निर्यात पनि तीन प्रतिशतले घटेको छ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म १ खर्ब ३९ अर्ब २६ करोड रुपैयाँको वस्तु निर्यात भयो। गत आर्थिक वर्ष सोही अवधिमा १ खर्ब ४३ अर्ब ५८ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो।

आयात र निर्यात घटेसँगै व्यापार घाटा १.७२ प्रतिशतले घटेको देखिन्छ। गत आर्थिक वर्ष १३ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ व्यापार घाटा थियो। चालु आर्थिक वर्षको सोही अवधिमा १३ खर्ब १४ अर्ब ४४ करोड रुपैयाँ व्यापार घाटा देखिन्छ।

आयातका वस्तुहरूमा डिजेल, पेट्रोल, एलपीजी ग्यास छन्। विभागका अनुसार चालु आर्थिक वर्षमा १ खर्ब २९ अर्ब २० करोड रुपैयाँ बराबरको डिजेल आयात भयो। ६२ अर्ब ८७ करोड रुपैयाँ बराबरको त पेट्रोल आयात भएको छ।

यसैगरि नेपालबाट निर्यात हुने वस्तुहरूमा गलैँचा, अलैँची, फलाम र स्टिलका सामानहरू छन्।  चालु आर्थिक वर्षको ११ महिनामा ९ अर्ब ७३ करोड बराबरको गलैँचा निर्यात भएको छ। ७ अर्ब ४७ करोड रुपैयाँ बराबरको अलैँची निर्यात भएको देखिन्छ।

भारत र चीनसँग सबैभन्दा धेरै व्यापार घाटा

नेपालको १ सय ३४ मुलुकसँग व्यापार घाटा देखिन्छ। यसमध्ये नेपालको सबैभन्दा बढी व्यापार घाटा भारत र चीनसँग रहेको छ। विभागका अनुसार भारतसँग नेपालको ८ अर्ब १३ करोड ७८ लाख रुपैयाँले व्यापार घाटा छ।

नेपालले भारतबाट ९ खर्ब ८ अर्ब २९ करोड रुपैयाँ बराबरको वस्तु आयात गर्दा जम्मा ९४ अर्ब ५१ करोड ६२ लाख रुपैयाँ बराबरको वस्तु नेपालले निर्यात गरेको देखिन्छ। चीनसँगको समेत २ खर्ब ७० अर्ब ४० करोड रुपैयाँ व्यापार घाटा देखिन्छ।

चालु आर्थिक वर्षमा नेपालले चीनबाट २ खर्ब ७२ अर्ब ८१ करोड रुपैयाँ वस्तु आयात गर्दा  नेपालबाट जम्मा २ अर्ब ४० करोड ९८ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको देखिन्छ।

युएईसँग समेत नेपालको २६ अर्ब ५ करोड व्यापार घाटा छ। युएईबाट नेपालमा २८ अर्ब ४८ करोड रुपैयाँ बराबरको वस्तु आयातहुँदा नेपालले जम्मा २ अर्ब ४२ करोडको वस्तु निर्यात गरेको छ।

युक्रेन, मलेसिया, अस्ट्रेलिया, अर्जेन्टिना, फ्रान्स, इन्डोनेसिया, साउदी अरब, कोरिया, थाइल्यान्ड, क्यानडा, सिंगापुर, ताइवान, ओमान, भियतनामसँग समेत नेपालको व्यापार घाटामै देखिन्छ।

असार ६, २०८१ शुक्रबार १७:०९:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।