वेस्ट इन्डिजमा हुने विश्वकपमा सन्दीप सहभागी हुने

वेस्ट इन्डिजमा हुने विश्वकपमा सन्दीप सहभागी हुने

काठमाडौं : बलात्कार मुद्दामा उच्च अदालतबाट सफाइ पाएका नेपाली क्रिकेटर सन्दीप लामिछाने वेस्ट इन्डिजमा हुने विश्वकपमा सहभागी हुने भएका छन्।

नेपाल क्रिकेट संघ क्यानले सोमबार एक विज्ञप्ति निकालेर लामिछाने जारी विश्वकपमा वेस्ट इन्डिजमा हुने साउथ अफ्रिका र बंगलादेशविरुद्धको दुई खेलमा सहभागी हुने जानकारी गराएको हो।

क्यानले पूर्व घोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीप लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी समक्ष पेश गरेको सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सन्दीप लामिछाने गत मे १६ तारिखदेखि नै नेपालको अफिसियल स्क्वाडमा रहेको समेत खड्काले दोहोर्याएका छन्। साथै, सन्दीप लामिछानेको भिसासँग सम्बन्धित क्यानप्रति लक्षित नकारात्मक वक्तव्यबाजी सत्य नरहेको समेत उनले स्पष्ट पारेका छन्।

यस्ता अनावश्यक र आधारहीन वक्तव्यबाजीतर्फ नलागी, नेपाली क्रिकेटका शुभचिन्तक सबैले देखेको हाम्रो नेपाली क्रिकेटको उज्ज्वल भविष्य साकार पार्न यहाँको आफ्नो क्षमताले भ्याएसम्म स-साना भएपनि सकारात्मक टिप्पणीसहित प्रयास र पहल गर्न समेत खड्काको आव्हान छ।

समर्थकहरूलाई व्यक्तिगत तथा राजनीतिक लाभका लागि गरिएका फलहीन मिडियाबाजीबाट विचलित नभई नेपाली राष्ट्रिय क्रिकेट टिमलाई यस विश्वकपमा सक्दो हौसला प्रदान गर्नसमेत क्यानले आग्रह गरेको छ।

विश्वकपअघि अमेरिकाका लागि दुई पटक भिसा आवेदन दिँदा पनि सन्दीपलाई अमेरिकाले भिसा दिएको थिएन। त्यसपछि उनले आश मारेर नेपाली टोलीलाई राम्रो प्रदर्शन गर्न शुभकामना दिएका थिए।

जेठ २८, २०८१ सोमबार ०७:४६:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।