‘फर्की फर्की’को निर्माण टिम भन्छ- 'हलहरू हाउसफूल छन्, बक्सअफिस रिपोर्ट चाँडै सार्वजनिक गर्छौँ'

‘फर्की फर्की’को निर्माण टिम भन्छ- 'हलहरू हाउसफूल छन्, बक्सअफिस रिपोर्ट चाँडै सार्वजनिक गर्छौँ'

काठमाडौं : गत जेठ १० गतेबाट रिलिज भएको फिल्म ‘फर्की फर्की’ले बिहीबार र शुक्रबारझैं शनिबार पनि काठमाडौ उपत्यकासहित देशभरका हलमा राम्रो व्यापार गरेको छ। उपत्यकासहित देशभरका हलमा अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म हेर्न दर्शकको संख्या अधिक रहेको बताइएको छ। 

निर्माता रोहित अधिकारीका अनुसार काठमाडौं उपत्यकाका एफक्युब सिनेमाज, अष्टनारायण हल, बिग मुभिज, वान सिनेमाजसहित क्युएफएक्स चेन अन्तर्गतका देशभरका हल हाउसफूल छन् भने उपत्यका बाहिरका प्रमुख सहरहरुमा पनि फिल्मप्रति दर्शकको उल्लेख्य उपस्थिति छ।

उनले पछिल्लो समयमा कथात्मक फिल्मको लहर चलिरहेको बेला त्यसलाई चिर्दै प्रेमकथाको ‘फर्की फर्की’ हेर्न दर्शकको भीड बढेको बताए।

‘बिहीबारदेखि नै हामीलाई दर्शकले राम्रो साथ दिनुभएको छ। आज शनिबार पनि काठमाडौं उपत्यकासहित देशभरका हलमा दर्शक संख्या उच्च छ। हामीलाई दर्शकको उपस्थितिले नयाँ हौसला दिएको छ’, उनले भने। 

निर्माता गोविन्द शाहीले फिल्मको बक्सअफिस रिपोर्ट चाँडै सार्वजनिक गरिने बताए।

दर्शकमाझ फिल्म आएपछि फिल्मका प्रमुख कलाकार अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, निर्देशक सुयोग गुरुङ, वितरक गोविन्द शाही बिहानदेखि नै दर्शक प्रतिक्रिया बुझ्न हल–हल पुगेका छन्।

रोहित अधिकारीको निर्माण र सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको फिल्म ‘फर्की फर्की’मा अनमोल र जसिताका अलावा निर्मल शर्मा, लोकेन्द्र लेखक, सलोन बस्नेत, रवि काफ्ले र समृद्धि अर्याललगायतको अभिनय छ।

जेठ १२, २०८१ शनिबार २१:१२:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।