‘नेपहपको श्रीपेच २’ विजेतालाई १० लाख र विश्व भ्रमण

‘नेपहपको श्रीपेच २’ विजेतालाई १० लाख र विश्व भ्रमण

काठमाडौं : र्याप रियालिटी शो ‘नेपहपको श्रीपेच’को दोस्रो संस्करण ‘नेपहपको श्रीपेच २’को घोषणा गरिएको छ। शोको घोषणा गरिएसँगै डिजिटल अडिसनसमेत खोलिएको आयोजकले जनाएको छ।

डिजिटल तथा फिजिकल दुवै माध्यमबाट अडिसन लिइने शोमा सहभागी हुन दामी म्युजिक एप र डब्लुडब्लुडब्लुडट नेपालीर्यापडटकममार्फत प्रतियोगीले आफ्नो प्रस्तुतिको भिडियो अपलोड गर्न सक्नेछन्। प्रतियोगीले नेपहपको श्रीपेचको अफिसियल फेसबुक पेज, अफिसियल ह्वाट्सएप र इमेलमा आफ्नो प्रस्तुतिको भिडियो पठाउन सक्नेछन्।

प्राप्त अडिसनमध्ये जज राउन्डबाट उत्कृष्ट प्रतियोगी चयन गरिनेछ। डिजिटल अडिसनका लागि बिट श्रीपेच स्टुडियो युट्युब च्यानलबाट डाउनलोड र कपिराइट फ्री बिटमा पनि भिडियो बनाएर पठाउन सकिने बताइएको छ। 

शोको शीर्ष विजेताले १० लाख नगद, विश्व भ्रमणको अवसर एवं विभिन्न ब्रान्ड इन्ड्रोसमेन्टहरू प्राप्त गर्नेछन्। उपविजेताले ५ लाख रुपैयाँ विदेशमा प्रस्तुतिको अवसर प्राप्त गर्नेछन्।

शोको पहिलो सिजनमा भाइबर सामइन विजेता भएका थिए। दामी मिडियाको प्रस्तुति रहेको शोको कन्सेप्ट तथा डिजाइन सुदिप पोखरेलले गरेका हुन्। शो निर्देशकमा निकेश खड्का रहनेछन्। अघिल्लो संस्करणमा मानस घले, गिरिश खतिवडा र बालेन शाह निर्णायक रहेकोमा यस सिजनमा भने मानस घले, गिरिश खतिवडाको साथमा महेश तामाङ ‘दोङ’ रहनेछन्।

निर्माता सुदीपका अनुसार शोको प्रसारण कान्तिपुर टेलिभिजन तथा डिजिटल पार्टनर ओएसआर डिजिटलबाट असार अन्तिम साता प्रसारण हुनेछ।

जेठ १२, २०८१ शनिबार १८:००:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।