लज्जा शरणम् : निर्माता र निर्देशककै ठेगान छैन, प्रदर्शन मिति भने महाशिवरात्री

लज्जा शरणम् : निर्माता र निर्देशककै ठेगान छैन, प्रदर्शन मिति भने महाशिवरात्री

काठमाडौं : नेपाली फिल्म क्षेत्रमा छायांकनमै नगई प्रदर्शन मिति घोषणा गर्नु अब नौलो रहेन। फिल्मको नाम र प्रदर्शन मिति लेखेर एउटा फोटो सामाजिक सञ्जालमा राख्न थालको लामो समय भइसक्यो।

त्यसरी घोषणा गर्दा पनि निर्माता, निर्देशक र मुख्य कलाकार भने तय भएकै हुन्छन्। तर, शुक्रबार हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ टिमले बनाउने भनिएको फिल्म ‘लाज शरणम्’को पोस्टरमा भने यी केही पनि देखिएन।

त्यहाँ ‘सक्किगोनि’का कलाकारले बनाउने र ‘जिग्री पाँडे टिमको फिल्म’ भनेर मात्र लेखिएको छ। अब निर्माता र निर्देशक नै टुंगो नलागेपछि कलाकार तय हुने कुरै भएन। फिल्मको प्रदर्शन मिति फागुन १४ गते तोकिएको छ।

उकेराकर्मीसँगको कुराकानीमा सक्किगोनिका कलाकार एवं फिल्मका लेखक कुमार कट्टेल जिग्रीले अहिले प्रदर्शन मिति मात्र तोकिएको र बाँकी कुरा तय गर्दै जाने बताए।

‘अहिलेलाई रिलिज डेट तोकिएको हो। अब सुटिङको डेटहरू, बाँकी कुराहरु सार्वजनिक गर्नेछौँ,’ उनले भने, ‘जेठबाटै छायांकनमा जाने भन्ने थिये तर तयारी पुगेन।’

नेपाली फिल्महरूसँग प्रदर्शन मिति नजुधोस् भनेर हतारमा प्रदर्शन मिति तय गर्नुपरेको उनको तर्क छ।

उनले थपे, ‘सबै नेपाली फिल्म चल्नुपर्छ, सबैको राम्रो पनि हुनुपर्छ। जुध्ने, भिड्ने भन्दा पनि अहिलेबाट नै एउटा डेट लिएर राखौं भनेर घोषणा गरेको हो।’

फिल्मको रिलिज मिति तोकिए पनि निर्देशक भने तय भएको छैन। उकेरासँगको कुराकानीमा उनले ‘आफैँले निर्देशन गर्ने या अरुले गर्ने भन्ने कुरामा छलफल भइरहेको’ बताए। फागुनमा रिलिज मिति तोकिएको यस फिल्मका कलाकार तथा प्राविधिकहरूको अहिलेसम्म टुङ्गा लागेको छैन।

कुमार कट्टेल लगायतको टिमले यो फिल्मलाई लामो समयदेखि लेखिरहेको छ। फिल्मका लागि यस टिमले कहिले धादिङ त कहिले मुस्ताङ पुगेको थियो।

कमेडी जनरामा निर्माण हुने फिल्मको कथा र परिकल्पना कुमार कट्टेलको हो भने पटकथामा उनलाई दीपक आचार्य, हरिश निरौला र गजित विष्टले सघाएका छन्।

करिब २ करोड लगानीमा फिल्म बन्दैछ। फिल्ममा को को कलाकारहरु रहने निर्माण टिमले नखुलाए पनि सक्किगोनीका टिम र अन्य कलाकार रहने अनुमान लगाउन सकिन्छ।

यसअघि यहि टिमले फिल्म ‘फनफनी’ बनाउने घोषणा गरेका थिए। तर, त्यसको फिल्मको कथाका अधिकांश सिन अरुले नै चोरिदिएपछि उनीहरू तनावमा परेका थिए।

२८ बैशाख, २०८१, १३:४५:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।