खजुरे ब्रोलाई हलवालाले पत्याएनन्, पहिलो दिन पायो ५० शो, अब फिल्म हेर्ने दर्शक र सकारात्मक समीक्षाको भर

खजुरे ब्रोलाई हलवालाले पत्याएनन्, पहिलो दिन पायो ५० शो, अब फिल्म हेर्ने दर्शक र सकारात्मक समीक्षाको भर

काठमाडौँ : नायिका नीति शाहको डेब्यु फिल्म खजुरे ब्रोले रिलिजको दिन जम्मा ५० शो पाएको छ। सुस्त प्रचारसँगै फिल्मको प्रिमियरमा समेत खासै सकारात्मक प्रतिक्रिया नपाएको फिल्मलाई रिलिजकै दिन प्रदर्शकहरूले पत्याएनन्।

अधिकांश हलहरूमा एक शो पाएको फिल्मले केही हलहरूमा पनि दुई शो पाएको छ। खजुरे ब्रोले कम शो पाउँदा बोक्सीको घर र मनसरालाई फाइदा भएको छ।

फिल्मको निर्देशक सुरज सुनुवार हुन् भने नायिका शाहसँगै रेअर राई, महेश त्रिपाठी, नवीन मानन्धर लगायतका कलाकार छन्। फिल्म धरानको रियल पात्र खजुरेमाथि बने पनि बिचमा सहकारी समस्यालाई क्यास गर्न प्लट थपिएको ट्रेलरमै देखिएको थियो।

हास्य विधामा बनेको फिल्मले पहिलो दिन उत्साहजनक शो नपाए पनि रिलिजको दिन दर्शकहरूले मन पराएमा माउथ पब्लिसिटीको आधारमा शो सङ्ख्या थपिन सक्छ।

बोक्सीको घरले समीक्षकसँगै दर्शकहरूबाट गतिलो प्रतिक्रिया नपाए पनि प्रमोशनल गीतको लोकप्रियताले दर्शकहरू हलमा तानिएका थिए।

भाइरल म्यान खजुरेको चरित्र दर्शकले मन पराए खजुरे ब्रोले दर्शक तान्न सक्छ। तर पहिलो दिनको शो सङ्ख्या बढाउन नसके निर्माता निराश हुने जोखिम देखिन्छ। 

२७ बैशाख, २०८१, २२:३५:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।