बनेको सडक भन्दा ९ लाख बढीको बिल पास गरेपछि वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बनेको सडक भन्दा ९ लाख बढीको बिल पास गरेपछि वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकामा बनेको भन्दा बढी सडक कागजमा देखाएर ९ लाख ४४ हजार १९५ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध मुद्दा दायर गरेको छ।

विशेष अदालतमा सोमबार दायर भएको मुद्दामा उनीहरूले आर्थिक वर्ष २०७४/0७५ मा सञ्चालित विपी चोक, मिश्रभञ्ज्याङ्ग, जौखोरिया, सिलुङ्ग, चिलाउने र फतानेवारी सडक खण्ड निर्माण कार्यमा निर्माणस्थलमा भएको भन्दा बढी तथा साइटमा नगरेको परिमाणको झुट्टा बिल स्वीकृत गरेको उल्लेख छ।

यो कार्यमा संलग्न भएको आरोपमा चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई ओखलढुङ्गाका तत्कालीन इन्जिनियर नबिन श्रेष्ठ र तत्कालीन सव-इन्जिनियर लोकबहादुर ठकुराठीविरुद्ध मुद्दा दर्ता भएको छ।

उनीहरूसँगै तत्कालीन उपभोक्ता समितिका अध्यक्ष लोकबहादुर थापा, सचिव पदम बहादुर कटुवाल र कोषाध्यक्ष मिठुमाया गुरुङ खत्रीविरुद्ध पनि मुद्दा दायर भएको छ। उनीहरूले वास्तविक रूपमा गरेको कार्यभन्दा ९ लाख ४४ हजार १९५ रुपैयाँ बढीको भुक्तानी मागेर भ्रष्टाचार गरेको आरोपपत्रमा उल्लेख छ।

त्यसैगरी चम्पादेवी गाउँपालिका, वडा नं. ४ का तत्कालीन वडाअध्यक्ष कृष्ण बहादुर खत्रीले सडक खण्ड निर्माण कार्यमा नभए/नगरेको कार्यलाई समेत भए/गरेको भनी सिफारिस पत्र दिएकाले उनीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।ब

२५ बैशाख, २०८१, १०:२०:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।